मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए। दैवी विपत्तिबाट विश्वमा कुनै पनि देश अछूतो छैन। अविकसित देशदेखि अति विकसित देशमा पनि दैवी विपत्ति आइ नै रहन्छ। आफूलाई अति शक्तिशाली ठान्ने मुलुक अमेरिका पनि दैवी विपत्तिको अगाडि नतमस्तक हुन्छ। अमेरिकाले दैवी विपत्ति रोक्न सक्ने प्रविधिको विकास गर्न सकेको छैन। र यसलाई रोक्नु सक्ने क्षमता कुनै पनि देशको बुताभन्दा बाहिरको कुरा हो। दैवी विपत्तिलाई त रोक्न सकिंदैन तर त्यसबाट हुने क्षतिलाई भने अति न्यूनीकरण भने गर्न सकिन्छ। दैवी विपत्ति त प्रकृतिको कहर भइगयो। मानिसद्वारा सृजित दुर्घटनाको रोकथाम सम्भव नभए पनि दुर्घटना न्यूनीकरण र त्यसबाट हुने क्षतिलाई एकदमै सामान्य बनाउन सकिन्छ।

हाम्रो प्रधानमन्त्रीले दैवी विपत्तिलाई देशको भौगोलिक अवस्थालाई जिम्मेवारी ठह–याएर त्यसबाट हुने जनधनको क्षतिप्रति लाचारी प्रकट गरे। हाम्रो देशमा मानव सृजित दुर्घटनामा त लाचारी प्रकट गरिन्छ भने दैवी विपत्तिमा हुने क्षति न्यूनीकरण त कल्पनाभन्दा बाहिरको कुरा भइगयो। बाढीपहिरो, भूकम्प जस्ता दैवी विपत्ति रोक्न नसके पनि जनताप्रति जिम्मेवार सरकारले क्षति न्यूनीकरणमा तदारूकता देखाएको हुन्छ। भूकम्प कहिले आउँछ पूर्वानुमान गर्न नसकिए पनि आइसकेपछि पूर्वतयारीको आधारमा दु्रतगतिमा उद्धार गर्दा मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ। बाढीपहिरो त हाम्रो देशमा प्रत्येक वर्षायाम आउँछ नै। देशका कुन कुन सडकखण्ड, ठाउँ आदिमा बाढीपहिरो आउँछ भनी पहिले नै आकलन गर्न सकिन्छ। सरकारको सरोकारवाला निकायले पूूर्वतयारी नगर्दा जनधनको क्षति हुन पुग्छ। तराईमा हरेक वर्ष बाढी आउँछ, पूर्वतयारीमा नदीमा तटबन्ध निर्माण गरी बाढीलाई मानवबस्तीमा पस्न रोक्न सकिन्छ। बाढी पसे पनि मानवलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ। नारायणघाट–मुग्लिन सडकखण्डमा हरेक वर्ष पहिरो खस्छ भन्ने सरोकारवालालाई थाहा भएकै कुरा हो। सो सडकखण्डको अनुगमन गरी सम्भावित पहिरो जाने ठाउँको पहिचान गरेर सावधानी अपनाइ क्षति न्यूनीकरण गर्न सकिन्छ। लाख सावधानी अपनाएर पनि दुर्घटना हुन्छ भने त्यसपछिको उद्धार कार्यमा तदारूकता देखाइ मानवीय क्षति कम गर्न सकिन्छ र गर्न नसके पनि परिवारलाई समयमैं आफन्तको शव जिम्मा लगाउन सकिन्छ। असार २९ गतेको पहिरोमा परी दुईवटा बससहित बेपत्ता भएका ६५ जनाको शव पूर्वतयारीको अभावमा चार दिन बित्दासम्म १९ जनाको शव मात्र फेला परेको छ।

हाम्रो देशमा सडकको खराब अवस्थाका कारण बर्सेनि हजारौं मानिसको अकालमा मृत्यु हुन्छ। नदीमा पुल नबन्दा मानिसको मृत्यु हुन्छ। समयमा उपचार नपाउँदा मानिसको मृत्यु हुन्छ। सामान्य औषधिको अभावमा मानिसको मृत्यु हुन्छ। दुर्घटनास्थलमा समयमा उद्धार कार्यको अभावमा मानिसको मृत्यु हुन्छ। यी मृत्युलाई त हाम्रा प्रधानमन्त्रीले रोक्न सक्छन्। जब उनले यी मृत्युलाई नै रोक्न सक्दैनन् भने दैवी प्रकोपबाट हुने जनधनको क्षतिमा त उनले देशको भौगोलिक अवस्थालाई सजिलै दोष लगाएर उम्कन सकिहाल्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here