प्रस, पर्सागढी, ३० असार/
पर्साको पर्सागढी नगरपालिकाको आर्थिक सहयोग र सहयोगी नेपाल वीरगंज आयोजनामा पर्सागढी नगरपालिकाको वडा नं ३ को खेलमैदानमा सार्वजनिक सुनवाइ सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी स्थानीयहरूले नगरपालिकामा भइरहेका गतिविधिबारेमा सोधखोज गरेका थिए । स्थानीयहरूले नगरपालिकाबाट कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै लगानी हुनुपर्ने माग गरेका थिए ।
नगरपालिकामा किसानहरूको बढी बसोबास रहेकाले कृषि क्षेत्रमा नगरपालिकाले गरेको कार्य अहिले पनि कम नै रहेको गुनासो गरेका थिए ।
कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले समृद्ध नगरपालिका बनाउनको लागि चौतर्फी विकास गर्नेतर्फ ध्यान दिएको बताए । उनले सबै क्षेत्रको विकास हुनु अति आवश्यक रहेको बताए । उनले नगरपालिकामा सबै क्षेत्रको विकासका लागि प्रदेश र सङ्घ सरकारसँग पनि समन्वय भइरहेको बताए ।
कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरूले पनि आआफ्ना शाखासम्बन्धी आएका गुनासाहरूलाई प्रस्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोरप्रसाद चन्द्रवंशी, वडाध्यक्ष शेख खुर्सेद, जसपा नेपाल पर्साका सचिव तबरेज अहमदलगायतको सहभागिता थियो ।
पर्सागढी नगरपालिकाका समाजसेवी शिवबालकप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पर्सागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले दिएका थिए भने सहजीकरण सञ्चारकर्मी राजेन्द्र सिंह राजपूतले गरेका थिए ।