कुनै विषयमा घनीभूतरूपमा तत्कालीन समस्याबारे बहस, छलफल, चासो राखेर फेरि बिर्सनु श्मशान वैराग्यको लक्षण हो। मानिसहरू मलामी जान्छन्, अन्त्येष्टि कर्मसम्म दुनियाँदारीका कुरा बिर्सन्छन्, मृत्यु एकमात्र सत्य भन्ने कुरामा लामो बहस गर्छन्, जीवनको क्षणभङ्गुरतामाथि नानाभाँतिका विवेचना गर्छन् तर श्मशानघाटबाट निस्कन पाएका हुँदैनन्स ती बहस, छलफल, चासो बिर्सेर फेरि दुनियाँदारीमा यसरी अल्झन्छन् मानौं पहिलो र अन्तिम सत्य दुनियाँ हो। सदैव यसै दुनियाँमा बाँचिराख्नु छ, त्यसैले जसरी पनि सुख–सयलका साथ दुनियाँमा विचरण गर्नुपर्छ। यो मानिसको सबैभन्दा कमजोर प्रवृत्ति हो। किनकि अन्तिम र परम सत्य मुत्युलाई तुरुन्तै बिर्सन्छ र लोभ, मोह, अहङ्कारको भासमा परेर दुनियाँलाई नै सबैथोक ठान्न थाल्छ। यस दुनियाँमा सदैव रहिरहन्छु भन्ठानेर जसरी पनि तमाम सुविधा, सम्पत्ति जगेर्ना गर्न गर्नु/नगर्नु सबै कर्म गर्छ। मोहको वशीभूत आफूबाहेक यस संसारमा कोही छ, अरूको पनि जीवन छ, अरूलाई पनि सुविधापूर्वक बाँच्ने अधिकार छ भन्ने कुराको ख्याल राख्दैन।

अहिले देशमा घोर शोकको बेला छ। झन्डै ६४ जना मानिस एकै दिन–एकै क्ष्Fण कालको गालमा पुगे। त्यसमा तिनको कुनै गलती व असावधानी थिएन। जिम्मेवार मानिस यसलाई भवितव्य भनेर पन्छिन्छन्। तर यो भवितव्य हुँदै होइन, पहिराले बगाएर दुईवटा बसलाई त्रिशूलीमा जलसमाधि गराउनु भवितव्य होइन। यो राज्य सञ्चालनको जिम्मा लिएका, राज्यका समस्त सुविधाहरू उपभोग गर्ने मानिसहरूको स्वार्थजन्य उपक्रमको दोष हो। सबैलाई थाहा छ, नेपालका पहाडहरू ठोस चट्टानबाट बनेका होइनन्, ती प्रायः सेडिमेन्टरी चट्टान हुन्। ती पानीको सानो चोटले भासिन्छन्, धस्छन्, पहिरा जान्छन्। त्यसमाथि भर्खरै सडक बनाउने क्रममा तीमाथि ठूलाठूला र भारी मार्तोल बज्रेका छन्। कमजोर तत्व, प्रहार सहेर झन् कमजोर बनेको छ। त्यसमाथि यसपालि घनघोर वर्षा पनि भएको छ। नतीजा स्पष्ट छ, पहिरो जान्छ। पहाड नै भस्किन बेर लाग्दैन। यस देशमा प्राविधिकहरू पनि छन्, तिनीहरूलाई कुनै कुनामा राखेर सडक र पहाडको राम्ररी अध्ययन नै नगरी सवारीसाधन चलाउन दिनुले यस्तोबाहेक अरू के परिणाम हात लाग्छ ?

हामीकहाँ जुन काम पनि हचुवाको भरमा गर्ने चलन छ। काम सिध्याउनुलाई पुरुषार्थ ठानिन्छ, कामको गुणस्तरको पटक्कै ख्याल गरिन्न। कतै पहिरामा परेर, कतै पुलहरू भत्केर, कतै नदीमा बाढी आएर मानिसको ज्यान गएकोगयै छ। जिम्मेदारी लिनेहरू चाहिं सत्ताभोगमा मग्न छन्। देश अचाक्ली सङ्कटमा परेको बेला, सयौं मानिसको ज्यान गएको बेला, आज देशमा सुविधाभोगीहरू रमाइलो मनाइरहनेछन्। कतै रुवाबासी चल्छ, यस कारण होइन कि देशवासी कालको गालमा परिरहेका छन्, अपितु यस कारण कि उनको सत्ता खोसिएको छ, उनको सुविधामा अवरोध पुगेको छ। सत्ता पाउनेहरू त रमाउने नै भए, त्यो रमाइमा देशको चिन्ता कहीं हुनेछैन। चिन्ता गर्नेले रमाउँदैन, अपितु शक्ति आफ्नो हातमा आयो भनेर सङ्कटमोचनको उपाय गर्न तम्सिन्छ। तर यस्तो केही हुनेछ भनी कल्पना गर्नु यहाँ मूर्खता हुन्छ। मृत्यु अरूको भएको हो। अरूको मृत्युमा किन शोक मनाउने ? यस्ताले यो सोच्दैनन् कि आफ्नो मृत्युको शोक कसैले पनि आजसम्म आफैंले मनाएको छैन। अरूको दुःख, मरण–हरणमा शोक मनाउनेले त्यति बेला आप्mनो सुख बिर्सन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here