नयाँ दिल्ली, २६ असार/सिन्ह्वा

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधवार यात्रीवाहक डबल डेकर बस दूध ट्याङ्करमा ठोकिएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै  अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करीब ६८ किलोमिटर पश्चिममा उन्नाव जिल्लाको गाढा गाउँँ नजीकैको लखनऊ–आगरा एक्सप्रेस–वेमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस पछाडिबाट दूधको कन्टेनरमा ठोकिएपछि दुर्घटना भएको हो।

बुधवार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्री बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोकिएको हो।  दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाव जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन्। प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ। घाइतेहरूको नजीकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर गरिएको राठीले बताए।   दुर्घटनालगत्तै स्थानीयले प्रहरीलार्ई सूचित गरेपछि घाइतेहरूलाई अस्पताल पु–याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थल पुगेका थिए।

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मदत गरिरहेको एकजना प्रहरी अधिकारीले बताए। क्षतिग्रस्त बस र दूध ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन्। प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ।

भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने अधिकारीले बताएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here