दमकमा आयोजित १० किलोमिटर लामो दौडमा पुरुषतर्फ सशस्त्र प्रहरी बलका नरेन्द्रसिंह रावल र महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल पहिलो भएका छन्। बैतडी घर भई हाल सशस्त्र प्रहरी बलमा कार्यरत रावलले निर्धारित दूरी ३१ मिनेट ३० सकेन्डमा पार गरी पहिलो भएका हुन्। उनले उपाधिसँगै रु ५० हजार र प्रमाणपत्र प्राप्त गरे।
उक्त दौडमा बझाङ घर भई हाल सशस्त्र प्रहरी बलमा कार्यरत करण रावलले ३१ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, ओखलढुङ्गाका मिङमारसिङ्गी तामाङ (३२ मिनेट २० सेकेन्ड) तेस्रो, तेह्रथुमका विज्ञान लिम्बूले (३३ मिनेट २४ सेकेन्ड) चौथो, भारतका विवेक क्षेत्री (३३ मिनेट ५७ सेकेन्ड) पाँचौं तथा भोजपुरका पवन राई (३४ मिनेट ४२ सेकेन्ड) छैटौं भए।
दौडमा ४५ मिनेट १२ सेकेन्डमा निर्धारित दूरी पार गरी भोजपुरकी विनीता राई दोस्रो, भोजपुरकै जुही राई (४५ मिनेट ५० सेकेन्ड) तेस्रो, पाँचथरकी पुष्पा शेर्मा लिम्बू (४८ मिनेट ५० सेकेन्ड) चौथो, भोजपुरकी जुली राई (४८ मिनेट ३४ सेकेन्ड) पाँचौं र इलामकी यमुना लिम्बू (५१ मिनेट ३३ सेकेन्ड) छैटौं स्थान प्राप्त गर्न सफल भए।
प्रतियोगिता संयोजक समुन्द्रा लामाका अनुसार सो दौडमा महिला र पुरुषतर्फ प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु २५ हजार, तेस्रोलाई रु १५ हजार, चौथोलाई रु पाँच हजार, पाँचौंलाई रु तीन हजार र छैटौंलाई रु दुर्ई हजार पुरस्कार प्रदान गरिएको छ।
पुरुषतर्फ पाँच किलोमिटर दौडमा सरोज सिंह पहिलो, ओसन राई दोस्रो, पवनकुमार साह तेस्रो, सुमन भण्डारी चौथो र केशव थापा पाँचौं भए। महिलातर्फ सुनकला राई पहिलो, नुसा लिम्बू दोस्रो, समीक्षा परियार तेस्रो, अनुसा धिमाल चौथो, मनिका मुर्मु पाँँचौं र युनिशा लिम्बू छैटौं भए। सो दौडमा महिला र पुरुषतर्फ पहिलो हुनेलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार, तेस्रोलाई रु पाँच हजार, चौथोलाई रु दुर्ई हजार र पाँचौंलाई रु एक हजार पुरस्कार प्रदान गरियो। मानव हित संरक्षण मञ्चले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जामगरले गरेका थिए।