वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरमा रहेका सामुदायिक विद्यालयहरूको एसइईमा कमजोर नतीजा आएकोमा चिन्ता जाहेर गरेका छन्। नतीजा कमजोर आउनुमा चिन्ता जाहेर हुनु स्वाभाविक हो। नतीजा कमजोर आउनुमा पहिला शिक्षकहरू र दोस्रो विद्यार्थीहरू दोषी हुन्। तर यसो भन्दैमा शिक्षक र विद्यार्थीलाई मात्र दोष थुपारेर यसको निराकरण भने हुँदैन। शिक्षकहरूको अध्यापन राम्रो भएन वा विद्यार्थीहरूको सिकाइ राम्रो नभएर यस्तो परिणाम आएको हो भन्ने कुरालाई एकातिर राखेर उनीहरूलाई पढाउने र सिकाइको वातावरण सिर्जना गर्ने पक्ष दोष मुक्त हुन सक्दैन। महानगरमा सामुदायिक विद्यालयहरूको नतीजा एसइईमा नराम्रो देखिए पनि संस्थागत विद्यालयहरूको नतीजा भने उत्साहजनक छ। सामुदायिक विद्यालयको सफलता प्रतिशत ३४.३७ छ भने संस्थागत विद्यालयको ९०.२६ प्रतिशत छ। दुवै विद्यालयमा आकाश–जमीनको फरक देखिन्छ। यस्तो फरक हुनुको अर्थ सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरू, अध्ययन गर्ने विद्यार्थीहरू र यसको व्यवस्थापनको जिम्मेवारी लिएको पालिकासमेत दोषी देखिन्छ।
वीरगंज महानगरपालिकाको कुरा गर्दा महानगरपालिकाले गत शैक्षिक सत्रदेखि केही विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरू गराएको थियो। अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गराएको महानगरपालिकाले त्यसका लागि स्वयंसेवक शिक्षकहरूको बहाली गरेको थियो। यसका साथै सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकमा पनि स्वयंसेवक शिक्षकहरू नियुक्त गरेको थियो। स्वयंसेवक शिक्षकहरूको नियुक्ति आफैंमा नयाँ र साहसी काम थियो। महानगरमा रहेका सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकहरू स्वयंसेवक शिक्षकको रूपमा बहाल भएपछि र अङ्ग्रेजी माध्यममा महानगरले अध्यापन शुरू गरेपछि यहाँका संस्थागत विद्यालयहरूमा भर्ना दर घटेको थियो। यसो हुनुको कारण संस्थागत विद्यालयमा दिइने ज्ञान महानगरपालिकाको पहलमा सामुदायिक विद्यालयमा थोरै खर्चमा पाएपछि अभिभावकहरूले आफ्ना नानीहरूलाई सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका थिए। जतिखेरसम्म सामुदायिक विद्यालयहरूमा स्वयंसेवक शिक्षकहरू बहाल रहे, त्यतिखेरसम्मको अवस्था आकलन गर्ने हो भने संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर बढेको पाइन्छ। तर तीन महीना अवधिमा त्यो पनि एसइईनजीक आउँदा स्वयंसेवक शिक्षकहरूको नियुक्ति खारेज गरियो।
महानगरपालिकाले आर्थिक व्ययभार सहन गर्न नसक्ने अवस्थाले होस् अथवा अख्तियारको भयले स्वयंसेवक शिक्षकहरू ठूलो सङ्ख्यामा हटाइए। स्वयंसेवक शिक्षकहरू हटेपछिको परिणाम हामीहरू सामु छ। महानगरले सञ्चालन गरेको अङ्ग्रेजी र नेपाली माध्यमका सामुदायिक विद्यालयहरूको एसइई नतीजा कमजोर मात्र भएन निकै खस्कियो। महानगरले आफ्नो आर्थिक क्षमताको आकलन गरेर सोअनुरूप स्वयंसेवक शिक्षकहरू बहाल गरेको भए अहिले यो अवस्था आउँदैन थियो। भौतिक संरचना र आधुनिक शिक्षा संयन्त्रहरूको जुगाडले मात्र शिक्षामा सुधार आउँदैन, त्यसका लागि शिक्षकहरू पनि तयार गरिनुपर्छ र यसमा महानगर चुकेको देखिन्छ।