मानिसको मृत्युपछि केही समयमा पूरै अररो हुन्छ। यसलाई अङ्ग्रेजीमा राइगर मार्टिस भनिन्छ। ल्याटिनमा राइगरको अर्थ ‘कडा हुनु’ र मार्टिसको ‘मृत्युपछि’ हुन्छ। मांसपेशीमा एक्टिन र मायोसिन नामक फाइबर हुन्छन्, जसले गर्दा मांसपेशी खुम्चिने वा फैलिने हुन्छ। यो काम एटिपी नामक तत्वले गराउँछ। मृत्युपछि यही एटिपी सिद्धिन्छ। तब एक्टिन र मायोसिन दुवै तन्तु एक आपसमा टाँसिएर कडा हुन्छ। मांसपेशी त सम्पूर्ण शरीरमा हुन्छ, त्यसैले सम्पूर्ण शरीर अररो हुन्छ। यो क्रिया एक घण्टापछि पहिले अनुहारबाट शुरू भएर १२ घण्टामा पूरै शरीरमा फैलिन्छ। यो अवस्था आगामी १२ घण्टासम्म रहन्छ र अर्को १२ घण्टापछि खुकुलो हुन्छ, जुन अटोलाइसी र प्युटिफैक्सनको प्रभावले हुन्छ। त्यसैले गाउँघरमा मर्नेबित्तिकै मानिसको हातखुट्टा खुम्चाइदिइन्छ, जसले दाहसंस्कार गर्दा शवले कम ठाउँ छेक्छ। दाउराको खपत कम हुन्छ।
राइगर मार्टिस आर्सेनिक प्वायजनिङमा लामो समयसम्म रहन्छ किनभने आर्सेनिकले अटोलाइसिस र प्युट्रिफेक्शनको क्रिया रोकिदिन्छ। यसको अतिरिक्त आर्सेनिक प्वायजनिङमा मृत्युपछि डिहाइड्रेशनले छाला खुम्चिएको, आँखा धसेको र हातखुट्टाको छाला सायनोज्ड हुन्छ। जन्डिसले गर्दा छालाको रङ्ग पहेंलो हुन्छ। मुख र ग्रासनली त्यति प्रभावित हुँदैन तर कहिलेकाहीं त्यसमा अल्सर देखिन्छ। आमाशयमा आर्सेनिकका सूक्ष्म टुक्रा पाउनुका साथै आमाशयको भित्ता नरम, सुन्निएको हुन्छ, जसमा आर्सेनिकका सूक्ष्म कणहरू देखिन्छन्। आर्सेनिकले आमाशयमा घाउ र प्वाल पनि पार्न सक्छ। सानो आन्द्रामा रगत देखिन्छ र सम्पूर्ण लम्बाइमा रातो र सुन्निएको हुन्छ। त्यस्तै, ठूलो आन्द्रा र रेक्टम पनि सङ्क्रमित हुन्छ। कलेजो, फियो, मिर्गाैला सबै सुन्निछन् र बढ्छन्। फोक्सोको तल एकाइमोसिस अर्थात् रगत पाइन्छ। यस अतिरिक्त त्यस रगतमा आर्सेनिक पाइन्छ। ब्रेन रातो हुन्छ र भेन्ट्रिकल सिरम द्रवले भरिएको हुन्छ।
उपरोक्त अवस्थामा निम्न तरीकाले उपचार गरिन्छ। चिकित्सकले याद राख्नुपर्छ कि जब आर्सेनिकका मिहीन पाउडर खाली पेटमा जान्छ, तब आर्सेनिक म्युकस मेम्ब्रेनमा गएर टाँसिन्छ, जसले आमाशयमा भारी सङ्क्रमण त गर्छ नै, बान्ता गराउने औषधि वा एन्टिडोटको कार्यलाई पनि रोकिदिन्छ। पहिलो चरणको उपचार आमाशयबाट आर्सेनिकलाई बाहिर निकाल्नु नै हो। यदि पेट भरिएको छ भने बान्ता गराउने औषधि दिइन्छ, तर के ध्यान दिनुपर्छ भने त्यसमा टार्टार र कपरसल्फेट दिनुहुँदैन। यदि पेट खाली छ भने क्रमशः मनतातो पानी र दूधले आमाशयको सफाइ गरिन्छ। त्यसपछि फेरिक अक्साइड दुई चम्चा दिइन्छ, जसले आर्सेनिक एसिडलाई फेरिक आर्सिनेटमा बदलिदिन्छ, जुन अघुलनशील र नोक्सानरहित हुन्छ। यदि यो उपलब्ध छैन भने म्याग्नेशियमको घोलमा एनिमल चारकोल मिलाएर दिइन्छ। सोडियम थायोसल्फेट पनि लभाजको लागि उपयोगी हुन्छ। यसको १० प्रतिशतको घोलको २५० मिलिग्राम नसाबाट दिइन्छ तर यसको कार्य संदेहास्पद हुनाले ब्रिटिश एन्टिलेविसाइट दिनु श्रेयस्कर हुन्छ। ब्रिटिश एन्टिलेविसाइटको २.५ देखि ५ मिलिग्राम प्रतिकिलोको हिसाबले डिपमस्कुलर इन्जेक्शन प्रत्येक चार घण्टामा दुई दिनसम्म दिने गरिन्छ। त्यसपछि २.५ मिलिग्राम प्रतिकिलोको हिसाबले दुईचोटि तेस्रो दिन र मात्र एकचोटि त्यसपछि दिइन्छ। कति दिनसम्म दिने भन्ने कुरा रोगीको अवस्था र औषधिको प्रतिउत्तरले निर्धारण गर्छ। यसको साइड इफेक्टमा आधा घण्टाभित्र वाकवाकी, बान्ता, हाइपोटेन्शन, धड्कन बढ्ने देख्न सकिन्छ। त्यसपछि इरिटेशन कम गर्नको लागि घ्यू, बटर, अल्बुमिनको पानी, बार्ली आदि दिइन्छ। प्यास कम गर्नको लागि मुखमा बरफको टुक्रा राखिन्छ। कास्टर आयल वा म्याग्नेशियम सल्फेटले आन्द्रामा आर्सेनिकको अवशोषण कम गर्छ। दुखाइ कम गर्नको लागि सबक्युटेनियस मोर्फिन दिनुपर्छ। डिहाइड्रेशनको लागि ग्लुकोज स्लाइन र एन्युरिया ठीक पार्नको लागि मोलर लेक्टेट दिइन्छ। कहिलेकाहीं रगत चढाउन पनि जरुरी हुन्छ। कोलेप्स ठीक पार्न मुटु उत्तेजित पार्ने र क्रैंप्स ठीक पार्ने औषधि दिनुपर्छ। आर्सिनियुरेटेड हाइड्रोजन यदि सासभित्र पुगेको छ भने आक्सिजन जरुरी हुन्छ।
क्रोनिक प्वायजनिङ : यो अवस्था ती मानिसमा हुन्छ, जसले खानीबाट धातु पगाल्ने, शुद्ध गर्ने, सेतो आर्सेनिक परिष्कार गर्ने, घास समाप्त पार्ने केमिकल, इन्सेक्टिसाइड, पेंट, रङ्ग, शृङ्गार प्रसाधन वा औषधि फैक्ट्रीमा काम गर्छन्। डेकोरेटेड छतबाट वा जसले आर्सेनिकयुक्त औषधि लिन्छ, उसमा पनि क्रोनिक आर्सेनिक प्वायजनिङ देखिन्छ। यो पनि याद राख्नुपर्छ कि एक्युट प्वायजनिङबाट ठीक भएको, खासगरी बढी डोजबाट निको हुनेमा पनि क्रोनिक लक्षण देखिन्छ। यस्तो लक्षणलाई चार चरणमा बाँडिन्छ ः
प्रथम चरण : यस चरणमा ग्यास्ट्रिक लक्षण वजन कम हुनुभन्दा पहिले देखिन्छ। आलस्य, भोकको कमी, –याल आउने, बाउँडिने र दुखाइ, प्रायः कब्जियत तर कहिलेकाहीं पखाला चल्ने, पित्तको साथ बान्ता, गिजा रातो र सुन्निने, जिब्रोमा सेतो फर, तल्लो परेलाको साथै खुट्टा सुन्निन्छ। शरीरको तापक्रम र पल्सको गति बढ्छ।
दोस्रो चरण : यस चरणमा छालामा बिमिरा निस्कने, लैरिक्स र घाँटीमा बढी म्युकस, चिलाउनुको साथै घाँटी सुक्ने र त्यस कारण आवाज मधुरो हुने जसलाई होर्सनेस वा हस्की भ्वाइस भनिन्छ। आँखाको नानी फैलिएको, फोटोफोबिया अर्थात् प्रकाशबाट तर्सिने र कन्जक्टाइभा रातो हुन्छ। यस अतिरिक्त नाक बग्ने, कफमा रगत देखिने, किनकि ट्रेकिया सङ्क्रमित हुन्छ। कलेजो बढेको र मिर्गौलामा क्षति देखिन्छ। छालामा ठाउँठाउँमा पिग्मेन्टेशन देखिन्छ, जुन एकापसमा जोडिएको हुन्छ, जसलाई मैटेड वा जोडिएको पिगमेन्टेशन भनिन्छ। यो पिगमेन्टेशन छोपिएको ठाउँ अर्थात् काखी र गुप्ताङ्गको अगलबगल रेनड्रोप अर्थात् थोपाको रूपमा देखिन्छ। केही महीनापछि र यहाँसम्म कि ६० वर्षपछि पनि हत्केला, पाइताला र यहाँसम्म कि टाउकोमा समेत कडा वार्ट अर्थात् ससाना मस्सा देखिन्छ। यो वार्ट क्यान्सरसमेतमा परिवर्तित हुन सक्छ। नङ कडा र सुक्खा भएर जान्छ। रौं सुखा भएर झर्छ। टाउको र गर्दनमा एक्जिमा र पिगमेन्टेशन देखिन्छ। नाकको सेप्टममा परफोरेशन पनि हुन सक्छ।
तेस्रो चरण : यसमा मुख्य लक्षण संवेदनाजनित हुन्छ। टाउको दुःखाइ, झमझम हुने, हातखुट्टा सुनिने, छालामा बढी संवेदना हुने, तीव्र दुखाइका साथै मांसपेशी बाउँडिने, जोर्नी दुख्ने, आँखा र कुर्कुच्चा सुन्निने, अर्थात् घुँडाको जर्क समाप्त हुने, नपुंसकता, बोनमैरो डिप्रेशन र एप्लास्टिक एनेमिया अर्थात् बोनमैरोले रक्तकोष निर्माण कम गर्ने र यसरी रक्ताल्पता हुन्छ। यसमा फोलिक एसिड नामक भिटामिनको अवशोषण पनि नहुने देखिएको छ।
चौथो चरण : यसमा पेरिफेरल न्युराइटिस र मांसपेशी सुक्दै जाने मुख्य लक्षण हुन्। यसले गर्दा हात र पैताला माथि उठाउन सकिन्न। यसमा छातीको मांसपेशी पनि प्रभावित हुन्छ। कम्पन, सुकेनास, रक्ताल्पता, पिसाब गर्ने बेला दुख्छ। त्यसपछि डेल्युजन अर्थात् मतिभ्रम र अन्तमा मुटुको पनि मांसपेशी काम गर्न नसक्दा मृत्यु हुन्छ।
उपचार : यसको पहिलो उपचार रोगीलाई आर्सेनिक स्रोतबाट हटाउनु मुख्य हो। त्यसपछि आर्सेनिकलाई पिसाब र दिसाबाट बाहिर निकाल्ने प्रयास गरिन्छ। ब्रिटिश एन्टिलेबिसाइट डिपमस्कुलर इन्जेक्शन छ/छ घण्टामा दुई दिनसम्म, फेरि दिनमा एकचोटि दिने गरिन्छ। यसले विषाक्त एन्सेफेलोपैथी भनिने ब्रेनमा हुने असरलाई रोक्छ। न्युराइटिस कम गर्नको लागि भिटामिन बी १ इन्जेक्शन र मुखबाट खुवाउने दुवै तरीकाले दिइन्छ। यस अतिरिक्त रोगीको सम्पूर्ण स्वास्थ्य उकास्ने प्रयत्न गर्नुपर्छ।
उपरोक्त सबै विवरण इनअर्गेनिक आर्सेनिकको हो। अर्गेनिक आर्सेनिक कम्पाउन्डको विषाक्तता इनअर्गेनिकभन्दा कम हुन्छ, जुन एनाफाइलेक्सिस अर्थात् कडा एलर्जी र छालाको इरप्सन बिमिरा, हिपेटाइटिस, जन्डिस र एनसेफलाइटिस अर्थात् ब्रेनको सङ्क्रमणको रूपमा परिलक्षित हुन्छ। अस्तु १