अहिलेको समय ज्यादै संवेदनशील छ, शिक्षाको दृष्टिकोणले। मुख्यगरी अभिभावकहरू सन्तानको शिक्षाबारे धेरै संवेदनशील हुनुपर्ने समय हो। यदि अभिभावक नै सचेत भएन भने बालबालिका पढिरहेको, प्रगति गरिरहेको, सोचेभन्दा विपरीत दिशामा गइरहेको भन्ने जानकारी नहुन सक्छ। अहिलेको समयमा फुर्सद् कोहीसित हुँदैन। सबैले आपूmलाई व्यस्त नै बताइरहेका हुन्छन्, बनाइरहेका हुन्छन्। अभिभावकले बालबालिकाका लागि समयको व्यवस्थापन गर्नु सर्वाधिक उचित हुन्छ। अझ जब बालबालिका विद्यालय जाने उमेरका छन्, त्यति बेला ज्यादै गम्भीर हुनुपर्छ, ज्यादै संवेदनशील हुनुपर्छ। अभिभावकीय सचेतताले बालबालिकाको भविष्य उज्ज्वल हुन सक्छ र अभिभावको छाती गर्वले फराकिलो हुन सक्छ।
यसै हप्ता एसइईको रिजल्ट प्रकाशित भएको छ। एसइईमा यस वर्ष धेरै विद्यार्थी फेल भएका छन्। एसइई दिएकामध्ये आधाभन्दा बढी फेल हुँदा समाजमा एउटा तरङ्ग देखिएको छ। यस तरङ्गले शिक्षा क्षेत्र मात्र होइन, अन्य क्षेत्र पनि तरङ्गित भएको छ। शिक्षाको प्रभाव अन्य क्षेत्रमा पनि पर्छ। शिक्षाले नै सबै क्षेत्रमा दक्ष र शिक्षित जनशक्ति आपूर्ति गर्ने हुनाले आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण हुँदा समाजमा तरङ्ग आउनु स्वाभाविक हो। रिजल्ट प्रकाशित भएपछि जब आधाभन्दा बढी विद्यार्थी फेल भएको सूचना सार्वजनिक भयो तब सारा दोष शिक्षकमाथि खनिन थाल्यो। शिक्षकको हातमा जादूको छडी छ जुन नचलाउँदा भनेजस्तो परिणाम आएन भन्ने मनोविज्ञान सार्वजनिक भयो।
सबैको भनाइको साझा निचोड यही देखिन्छ कि शिक्षकले पढाएनन्। शिक्षकले पढाएको भए विद्यार्थी फेल हुँदैनथे। परीक्षार्थी फेल भएका होइनन्, शिक्षक फेल भएका हुन्। सरकारले शिक्षामा गरेको लगानी खेर गइरहेको छ, आदि इत्यादि। यसमा शिक्षकको दोष मात्र छैन भन्ने कुरा निकै कम आएको छ। कुनै जिल्लामा दुई सयभन्दा कम माध्यमिक दरबन्दी र एक सयभन्दा बढी माध्यमिक विद्यालय छन् र नौ हजार परीक्षार्थीले परीक्षा दिंदा त्यहाँ शिक्षक नपुग रहेको विषयमा खासै ध्यान दिएको पाइएन। शायद नै कुनै विद्यालयका प्रधानाध्यापकले नियमानुसार पढाउनुपर्ने जति घन्टी पढाउँछन्। प्रअ भएपछि पढाउनुपर्ने चलन करीबकरीब हराइसकेको छ। विद्यार्थी र शिक्षकको अनुपातको खाडल ठूलो समस्याको रूपमा रहेको छ। यी र यस्ता अनेक समस्या छन्।
विद्यालय वा पठनपाठनमा अनेक समस्या रहेका छन्। एक छिनको लागि सबैभन्दा बढी दोषी शिक्षक हो भनेर वा आरोप लगाएर आत्मरतिमा रम्न सकिन्छ तर जोजो परीक्षार्थी अनुत्तीर्ण भएका छन्, तिनका लागि फेरि मौका आउँदैछ। उनीहरूको लागि समाजले के गर्ने र अभिभावकले के गर्ने यस विषयमा चासो लिएको भने पाइँदैन। हरेक वर्ष जब एसइईको नतीजा आउँछ, तब शिक्षाबारे अलि बढी नै चिन्ता र चासो व्यक्त गरिन्छ। त्यसपछि समाज मौन बस्छ। यस वर्ष एक दृष्टिकोणले दुईपटक एसइई हुन गइरहेको छ। पूरक वा ग्रेडवृद्धि परीक्षामा पनि फेल भएका जति सबै परीक्षार्थी सहभागी हुन सक्ने व्यवस्था रहेकोले अहिले साउन महीनामा हुन गइरहेको एसइई परीक्षा पनि धेरै महत्वपूर्ण हुने अभिभावकहरूले बुझ्नुपरेको छ।
साथै, चैतमा हुने एसइई परीक्षामा सहभागी हुने परीक्षार्थीका अभिभावकहरूको लागि अहिलेदेखि नै आप्mना बालबालिकाप्रति गम्भीर भएर निगरानी गर्नुपर्ने समय भएको छ। सबै अभिभावक शिक्षित नै छन् भन्ने होइन। जो अभिभावक आप्mना सन्तानको पढाइबारे घरैमा बुझ्न वा गाइड गर्न सक्छन्, उनीहरूले सकेसम्म उच्च र सचेत निगरानी राख्नु जरुरी छ। तर जो घरमा गाइड गर्न सक्दैनन्, उनीहरूले महीनामा नसके, दुई महीनामा एक दिन विद्यालय पुगेर सन्तानको पढाइबारे जानकारी लिनु र शिक्षकसित संवाद गर्नु सर्वथा उचित हुन्छ। विद्यार्थीले पढे नपढेको, पढाइको अवस्था कस्तो रहेको र विद्यालयमा पुग्दा मात्र पनि विद्यार्थीको पढाइ, आचरण र अनुशासनमा कस्तो प्रभाव पर्ने रहेछ भन्ने अध्ययन गर्न सजिलो हुन्छ, जसको परिणाम निकै राम्रो आउँछ।
सन्तानले घरमा मोबाइल कतिको चलाइरहेको छ ? अहिलेको समय कस्तो हो भने मोबाइलमा सकारात्मक र नकारात्मक दुवै कुरा हुन्छन्। मोबाइललाई शिक्षण सिकाइको लागि पनि उपयोग गर्न सकिन्छ। पढाइका सबै कुरा मोबाइलमा उपलब्ध छन् तर अधिकांश अभिभावकको यो गुनासो छ कि मोबाइलले बालबालिकाको पढाइलाई कमजोर बनाएको छ, मोबाइलमा गेम खेलेर बालबालिकाले समय बिताएका छन्। गेम जति खेले पनि कहिल्यै पुगेको हुँदैन बालबालिकालाई। मोबाइलमा के हेरेको हो, के खेलेको हो, कति समय बिताएको हो र समय बिताएको सार्थकता कति छ भन्ने विषयमा घरमा अभिभावकले विचार गर्नैपर्छ। यदि यस विषयमा गम्भीर बन्न सकिएन भने विद्यालयमा होम वर्क दिएको, लेख्न भनेको, पाठको तयारी गर्न भनेको, याद गर्न भनेको आदि सबै बिर्सन्छन् र विद्यालयमा पुगेर टाउको दुखेको बताउँछन्। पढाइमा मन नलागेको हो वा साँच्चीकै रातभर मोबाइल चलाएर टाउको दुखेको हो वा अन्य कारणले टाउको दुखेको हो, पत्तो लगाउन सम्भव हुँदैन। मोबाइलको कारण पनि पढाइ बिग्रिरहेको अभिभावक र विद्यार्थी स्वयंलाई जानकारी हुँदैन।
असल सङ्गतमा रहँदा पनि कहिलेकाहीं समय व्यय भइरहेको हुन्छ। पढ्नुपर्ने समय घुमेर, कुराकानी गरेर, विभिन्न खेल खेलेर वा नसालु पदार्थ सेवन गरेर व्यतीत भइरहेको हुन्छ। दिनहुँ घरबाट बाहिर जाने र धेरै बेर उतै बसेर आउँदा के पढ्नु छ वा के गर्नुछ भन्नेतिर ध्यान दिन पाउँदैनन्। यसले गर्दा पढाइमा विस्तारै मन लाग्न छोड्छ र पढाइ औपचारिकता मात्र हुन जान्छ। विद्यालयमा पनि सन्तोषजनक गतिविधिमा संलग्न हुँदैन। बिस्तारै सबैतिरबाट कमजोर हुँदै गएपछि अनुशासित, धैर्यशील र असल विद्यार्थीको नतीजा पनि कमजोर हुन जान्छ। यसर्थ अभिभावकले नै सम्भव भएसम्म बढी मात्रामा सन्तानले के गरिरहेको छ भन्ने कुरामा गम्भीर हुनुपर्छ।
एसइईसम्म अर्थात् कक्षा दशसम्मको विद्यालय जीवनमा यदि कोही विद्यार्थी खराब बानी वा सङ्गतले बिग्रन्छ भने उसलाई सम्हाल्न निकै कठिन हुन्छ। यो उमेर भनेको बालबालिकालाई सम्हाल्ने उमेर हो। किशोरावस्था ज्यादै संवेदनशील हुन्छ। परिपक्वताको दृष्टिकोणले पनि सङ्क्रमणकालीन उमेर हुन्छ। यस समयमा यदि उसलाई बिग्रिने वातावरण प्राप्त भयो भने बिग्रिन सक्छ र सम्हालिने वातावरण प्राप्त भयो भने गज्जब किसिमले सम्हालिन सक्छ। यसकारण यस उमेर तथा कक्षामा पढ्ने किशोरकिशोरीका अभिभावकहरूले सम्भव भएसम्म सङ्गत कस्तो छ र विद्यालयमा राम्रो–नराम्रो के गरिरहेको छ भनेर सोधपुछ, प्रत्यक्ष भेटघाट आदि गरिरहनु उचित हुन्छ। यसमा वर्तमान र भविष्य दुवैको भलाइ निहित छ।
पढ्नुपर्छ भन्ने भाव र भावना जगाउनु शिक्षकको कर्तव्य हो। पढाइप्रति लगनशील बनाउनु शिक्षकको काम हो भनेर अभिभावकले पनि पन्छिन मिल्दैन। शिक्षण यस्तो पेशा हो कि शिक्षकबाट जसले जति चाहन्छ लिन सक्छ। मेरो सन्तानले आज शिक्षकबाट के लिएर आयो भनेर यदि हरेक दिन चासो राख्ने हो भने कुनै पनि बालबालिका फेल हुँदैनन् किनभने विद्यालयमा कोही पनि कुनै दिन पनि खाली हात फर्केको हुँदैन। हरेक दिन पढाइ भएकै हुन्छ। पुस्तकमा नभए अन्य किसिमले शिक्षण सिकाइ क्रियाकलाप भएको हुन्छ। आज के के भयो, जानकारी देऊ भनेर हरेक दिन सोध्ने बानी बसाल्नु जरुरी छ। यदि बालबालिका झर्कन्छन्, ढाँट्छन् वा बताउन चाहँदैनन् भने केही गडबड छ भनेर बुझ्दा हुन्छ। यसको लागि अभिभावकले शिक्षकको मोबाइल नम्बर लिएर सल्लाह लिनुपर्छ। प्रतिफल सकारात्मक आउँछ, यस्तो प्रयासले।
शिक्षक चाहन्छन् कि अभिभावक पनि सक्रिय बनून्। बालबालिका, अभिभावक र शिक्षकको तेहोरो संयोगले बालबालिकाको पढाइ राम्रो बनाउँछ वा सुधार गर्दछ। सबैलाई चाहिएको यही हो। यसर्थ अभिभावकको सक्रियता तथा सचेतनाले बालबालिकालाई सबैभन्दा धेरै प्रभाव पार्ने रहेछ। अभिभावकहरू यसमा गम्भीर बनौं।