सत्ता समीकरणमा भएको फेरबदलपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक महीनाको लागि सो पदमा आसीन रहने भएका छन्। नेपालको राजनीतिमा पछिल्ला समयमा भएको परिवर्तनबाट आगामी दिनमा नेकपा एमाले र नेपाली काङ्ग्रेसले सत्ताको बागडोर सम्हाल्ने सङ्केत देखाएको छ। गत सोमवार मध्यरातमा यी दुई दलबीच आगामी तीन वर्ष आलोपालो चलाउने गरी सात बुँदे सहमति बनिसकेको छ भने दुवै दलको बैठकले पनि यो कुरालाई अनुमोदन गरिसकेको छ। तर संविधानमा भएको व्यवस्था अनुसार भने आगामी एक महीनासम्म प्रधानमन्त्रीमा प्रचण्ड रहनेछन्। किनभने सत्तारूढ नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले एक महीनाभित्र विश्वासको मत लिन सक्ने प्रावधान छ। राजनीतिमा आएको पछिल्लो परिवर्तनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डको साथ दिएको छ र एक महीनासम्म शासन सत्ता नछाड्ने बताएको छ। रास्वपाका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेले तत्काल नैतिकताको आधारमा शासन सत्ताबाट नबाहिरिने बताएका छन्। उनले यसबीचमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर एक महीना टिकेर बस्न सल्लाह दिएका छन् भने उनले पनि यो कुरालाई स्वीकारेका छन्। उनको बुझाइमा एक दिन अघि आफूले २५ ठूला घटनाको फाइल सार्वजनिक गर्ने अभिव्यक्ति दिएपछि दुई ठूला दलका नेताहरू त्यसमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै एकता भएको हो।

तर दुई ठूला दलका नेताहरूले भने राष्ट्रिय सरकार बनाउने र संविधान संशोधनका लागि नयाँ समीकरण आवश्यक भएको जिकिर गर्दै आएका छन्। यसका लागि एकजना पूर्वन्यायाधीशको अध्यक्षतामा दुई दलले गरेको सात बुँदे सहमतिमा संविधान संशोधनको लागि समिति पनि बनाइसकेका छन्। राजनीतिमा आएको यो परिवर्तनपछि प्रधानमन्त्री प्रचण्डले नेका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भएको संवादमा आफूले संविधान अनुसारको प्रक्रिया अवलम्बन गर्ने र तत्काल राजीनामा नगर्ने बताइसकेका छन्। शुरूमा उनले दुवै दलका नेतालाई उनीहरूको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न र आफू त्यसमा सहभागी हुने प्रलोभन दिएका थिए। तर यस अघि दुई/दुई पटक प्रधानमन्त्री प्रचण्डबाट धोका पाइसकेका नेका सभापति देउवा र एमाले अध्यक्ष ओलीले उनको यो प्रस्तावमा कुनै चासो देखाएनन्। फलतः अब नैतिकताको आधारमा राजीनामा गर्ने अथवा संविधानतः एक महीना प्रधानमन्त्रीको पदमा बसिरहने दुई विकल्पमध्ये दोस्रो विकल्प रोजी दुई दललाई मार्गप्रशस्त गर्ने पक्षमा प्रचण्ड देखिएका छैनन्।

नेपालको राजनीतिमा कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने सन्देश प्रवाह भएकोले एक महीना अवधिसम्म अर्काे कुनै चमत्कार गर्न सक्ने दाउँपेचमा प्रधानमन्त्री प्रचण्ड छन्। उनको यो चाहना यसपटक भने पूरा होला जस्तो देखिन्न। दुई ठूला दल प्रम प्रचण्डबाट पटकपटक धोका पाएकाले यसपटक उनको कुनै प्रकारको हारगुहार सुन्ने पक्षमा छैनन्। पराजित हुने देखेपछि जीतको लागि प्रयास गरिन्छ नै अहिले प्रधानमन्त्री प्रचण्ड पनि यही अवस्थामा पुगेका छन्। तर उनको यो बाटोमा भर्खरै जनमतबाट रुचाइएका रास्वपाले भने आफ्नो छवि धूमिल पार्ने काम गरेको महसूस गरिंदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here