वीरगंज–१२ मुर्लीमा गत जेठ ५ गते राति ११ बजे मनीषा देवीले आत्महत्या गरेकोमा सो आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अन्य फरार छन्। ससुराली पक्षबाट पीडित भई उक्साहटमा मनीषाले आत्महत्या गरेको घटना सार्वजनिक भएसँगै र पर्सा प्रहरीको अनुसन्धानपश्चात् मनीषाका पति रविकुमार साह र निजका ससुरा बद्री साह कानूलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी गराए।
दुइैजना पक्राउ परे पनि अन्य केही व्यक्ति फरार रहेकोसमेत उनले बताए। पर्सा, धोबिनी–३ हरिहरपुरबिर्ता घर भई हाल वीरगंज–१५ नेशनल मेडिकल कलेजनजीक बस्ने मनीषाका बुबा नरेश साह कानूको किटानी जाहेरीको आधारमा दुईजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। घटनाको अर्का अभियुक्त रविका मामा वीरगंज–१६ नगवाका दुर्गा साह कानू फरार रहेको प्रहरीले जनाएको छ। अर्की अभियुक्त मृतक मनीषाकी सासू सीमा देवीलाई समेत प्रहरीले पक्राउ गर्न नसकेको पीडित माइती पक्षले जानकारी गराएको छ। २१ वर्षीया मनीषाको शव आफ्नै घरबाट फेला परेको थियो। आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा उनको शव बरामद भएको थियो। घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। २०८० फागुन २१ गते रवि र मनीषाको विवाह भएको थियो। विवाहमा रु १५ लाखभन्दा बढी खर्च भएको माइती पक्षको भनाइ छ।
विवाहपछि पटकपटक कुटपिट र दाइजोको लागि करकाप गर्दा विवाद बढेर ससुराली पक्षले डोरीले घाँटी थिचेर हत्या गरेको माइती पक्षको दाबी छ भने पर्सा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।