नेपाल पत्रकार महासङ्घको अधिवेशन सदस्यतासम्बन्धी विवादका कारण अहिलेसम्म हुन सकेको छैन । विवादका कारण एकपछि अर्को मिति सर्दै गएको छ तर तोकिएको मितिमा हुने ठेगान भने छैन । गत जेठ २६ गते देशभर अधिवेशन गर्नेगरी सूचना जारी गरिएको थियो । तर सो मितिमा हुन सकेन । विभिन्न पार्टीका पत्रकारसम्बद्ध भ्रातृ सङ्गठनहरूले महासङ्घको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुलाउने क्रममा समयमा अधिवेशन गर्ने र यो अवधिमा सदस्यतासम्बन्धी विवादको टुङ्गो लगाउने भनेर अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले प्रतिबद्धता जाहेर गरेका थिए । तर जेठ २६ गतेको मितिलाई दृष्टिगत गरी जारी गरिएको मतदाता नामावली प्रकाशित मतदाता नामावलीभन्दा पनि बढी सदस्य सङ्ख्या देखाएर जारी भयो । अनि देशभरका शाखाहरूले विरोध गरे, विज्ञप्ति जारी भयो र जेठ २६ गते तीन तह केन्द्र, प्रदेश र जिल्ला शाखामा निर्वाचन हुन सकेन । त्यसपछि पुनः अध्यक्ष पोखरेलले निर्वाचन समितिले जारी गरेको मतदाता नामावली आधिकारिक नभएको र सच्चाएर जारी गरिने र असारको पहिलो सातामा निर्वाचन गर्ने विज्ञप्ति जारी गरे ।

तेस्रोपटक जारी गरिएको मतदाता नामावलीमा पनि मधेस प्रदेशका आठ जिल्ला र देशभरका ५४ जिल्लाले आपत्ति जनाए । जिल्ला अध्यक्षहरूको विज्ञप्तिपछि मधेस प्रदेशले पनि केन्द्रको विरोध ग¥यो र जिल्ला तथा प्रदेशबाट सिफारिश भएर पठाइएका सदस्यहरूलाई मात्र सदस्यता प्रदान गर्न माग राखे । पत्रकार महासङ्घको विधानमा जिल्ला शाखाले निर्वाचनको छ महीना अघि नै नयाँ सदस्यता माग गर्ने, नवीकरण गर्ने व्यवस्था छ । सोहीअनुरूप जिल्ला शाखाहरूले नयाँ सदस्यता माग गर्दै पुरानाको नवीकरण गरेको थियो । तर केही केन्द्रीय पदाधिकारीहरूले जिल्ला र प्रदेशबाट सिफारिश नभएकाहरूलाई पनि सदस्यको सूचीमा राखेपछि विवाद चुलिंदै गरेको हो । पछिल्लोपटक असार २२ गते निर्वाचन मिति तोकिएको छ भने सोही अनुसार कार्यसूचीहरू बनेका छन् । तर जिल्ला र प्रदेश भने मतदाता नामावली नसच्चाएसम्म अधिवेशन नहुने भन्ने अडानमा छन् । केन्द्रीय कमिटी सदस्यतासम्बन्धी विवाद टुङ्गो लगाउने मनस्थितिमा देखिएकै छैन । जसले गर्दा २०४६ सालपछि पहिलोपटक पत्रकार महासङ्घको अधिवेशन तोकिएको समयमा हुन सकेन । तीनपटक जारी भएको मतदाता नामावली विवादरहित हुन सकेन । सदस्यता नसच्याएको भन्दै असार १४ गते नेपाल प्रेस युनियनले पहिला सदस्यता विवादको टुङ्गो लगाएर मात्र अधिवेशन गर्न अन्यथा अधिवेशन हुन नसक्ने चेतावनी दिएको थियो ।

युनियन अहिलेसम्म सदस्य सङ्ख्याको आधारमा चौतारी र सङ्गठनको तुलनामा ठूलो छ । कुनै पनि भ्रातृ सङ्गठनको कुल सदस्य सङ्ख्याले एकल बहुमत ल्याउने नभएरै पछिल्ला केही अधिवेशनहरू गठबन्धनका आधारमा हुँदै आएका छन् । यसपटक पनि एमालेनिकट चौतारी, माओवादीनिकट सङ्गठनबीच गठबन्धन बनेर पदाधिकारीहरूको घोषणा भइसकेको छ । गत अधिवेशनमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जसपा नेपालबीचको सत्ता गठबन्धनका कारण सो पार्टीआबद्ध प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सङ्गठन, मञ्चबीच निर्वाचनमा एकता भएको थियो । अहिले सदस्यतासम्बन्धी विवादको टुङ्गो लागिसकेको छैन, जसले गर्दा निर्वाचनको माहोल  बनिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here