ठीक यस्तै किसिमले हाम्रो आचरण, हामीले अरूसँग गर्ने व्यवहार, त्यो हाम्रो वास्तविक स्वरूप होइन। पुरानो जमानामा जसलाई हामी धार्मिक भन्ने गथ्र्यौं, उनीहरूलाई पनि धर्ममा उत्सुकता थिएन। उनीहरूलाई नैतिकता तथा आचरणमा उत्सुकता थियो। बाहिरको आचरण बदलेर हाम्रो अन्तर्मन कहिल्यै पनि बदलिंदैन।

एउटा बिरुवा कमजोर भयो भनेर त्यसको पातमा हरियो रङ्ग दलिदिनाले, फूल ओइलायो भनेर प्लास्टिकको फूल टाँसिदिनाले, त्यसमा अत्तर छर्किएर बास्नादार बनाइदिनाले बिरुवा बलियो हँुदैन। बिरुवा बलियो बनाउन बिरुवाको जरामा पानी हाल्नुपर्छ। मल हाल्नुपर्छ। तबमात्र बिरुवा स्वस्थ हुनेछ र यसमा स्वाभाविकरूपले नयाँ पालुवा आउँछ, फूल फुल्छ, सुगन्ध फैलिन्छ। यो प्राकृतिक हुनेछ, यो स्वाभाविक हुनेछ र यसमा सुन्दरता हुनेछ। बाहिरी आचरण सुधार गर्ने कोशिश गर्नु व्यर्थ हो। यदि हामीमा पापप्रति आकर्षण विद्यमान छ भने हामीले बाहिरीरूपमा कमाएको पुण्यले केही काम गर्दैन।

एउटा मानिसले दान–पुण्य गरिरहेको छ। दान पनि गरिरहेको छ। मन्दिर, पाटी, पौवा पनि बनाइरहेको छ। तर उसको मनभित्र पापको बीउ जस्ताको त्यस्तै छ। उसले पहिले शोषण गरेर कमाएको धन तथा पहिले गरेको अपराध बोधलाई मेटाउनको लागि अहिले दान–पुण्य गर्ने, मन्दिर बनाउने कार्य गरिरहेको छ। अथवा उसले आफ्नो अहङ्कारलाई सिङ्गारपटार गरिरहेको हुन सक्छ। जसले गर्दा अरू मानिसहरूले थाहा पाऊन् कि उसले धेरै दान–पुण्य गरिरहेको छ। पाटी–पौवा, पानी–पधेंरा, मठमन्दिर बनाइरहेको छ। उसले आफ्नो अहङ्कारलाई प्रतिष्ठापित गरिरहेको छ। जसले गर्दा उसको दान दिने दोकान अझै चल्नेछ। मानिसहरूले उसलाई दानी महात्मा भन्न थाल्नेछन्।

उसले गरेको दान पहिले उसले शोषण गरेर कमाएको धनको अंश पनि हुन सक्छ। नत्रभने त्यत्रो दान गर्ने पैसा ऊसँग कहाँबाट आयो। यसको मतलब दान गर्नको लागि मानिसले धन कमाउन जरुरी छ। शोषण गर्नु जरुरी छ। पाप गर्नु जरुरी छ। चोरी गर्नु जरुरी छ। बेइमानी गर्नु जरुरी छ। दान–पुण्यको दोकान नै पापमा अडिएको छ। यसैले बाहिरबाहिर पुण्य गरेर, राम्रो आचरण बनाएर, सदाचारका नियमहरू पालना गरेर हाम्रो अन्तर्मनको विकास हुन सक्दैन। हाम्रो अन्तर्मन परिवर्तित हुँदैन।

निश्चितरूपले हामीले हाम्रो रूपान्तरण गर्नु छ, परिवर्तन गर्नु छ, तर यो रूपान्तरण, यो परिवर्तन हामीले आफ्नो भित्री चेतनामा गर्नु छ। हामीले खाद–पानी बिरुवाको जरामा हाल्नु छ। मनुष्यको जरा अन्तर्आत्मामा हुन्छ, त्यही ध्यानको सिंचाइ गर्नुपर्छ। यही प्रेमको खाद हाल्नुपर्छ। यति गरेपछि हाम्रो ह्दय सद्भावनाले भरिभराउ हुनेछ। हाम्रो मन सद्विचारहरूले भरिनेछन्, हाम्रो शरीरले सद्क्रियाहरू गर्नेछ। सबै कुरा ‘सत्यम् शिवम् सुन्दरम्’तर्फ अग्रसर हुनेछन् र हाम्रो जीवन पुष्पित एवं पल्लवित हुन थाल्नेछ। हामी भित्रैबाट बदलिनु छ। ओशो भन्नुहुन्छ– म आचरण हैन जागरण सिकाउँछु। आचरण बाहिरी कुरा हो, जागरण भित्री कुरा हो।

जसको आन्तरिक रूपान्तरण शुरू हुन्छ, उसको निश्चितरूपले बाहिरी परिवर्तन पनि हुन्छ। एउटा बिरुवाको जरा मजबूत भयो, उसले खाद–पानी राम्रोसँग पायो भने त्यो बिरुवा अवश्य पनि स्वस्थ हुन्छ र त्यसमा फूल फुल्छ अनि त्यो फूलको सुगन्ध चारैतिर फैलिन्छ।

ठीक यसै प्रकारले जुन मानिस ध्यानस्त भयो, समाधिस्त भयो, अब उसको जीवनमा हामीलाई सबैतिर सुगन्ध र प्रेम झल्किन्छ। अब त्यो मानिस करुणावान् हुन थाल्छ, दयावान् हुन थाल्छ। ऊ सम्पूर्ण जगत्प्रति सम्मान भावले भरिन्छ। त्यतिमात्र हैन ऊ सम्पूर्ण जीवनप्रति नै सम्मान भावले भरिन्छ।  उसको नजरमा कोही श्रेष्ठ र कोही निकृष्ट हुँदैन, सबै समान हुन्छन्। जसले आफूभित्र परमात्मा छ भनेर जान्यो, उसले सबैको भित्र त्यही परमात्मा छ भनेर जान्छ। उसको जीवनमा सबै थोक सुन्दर हुनेछ। किनकि ऊ भित्रैदेखि सुन्दर भएको छ। उसले आचरण मात्र परिवर्तन गरेको छैन, ऊ जागृत भएको छ। उसले अरूमा परमात्माको खोज गरेको छैन, उसले आफैंभित्रको परमात्माको स्वर सुनेको छ। तब उसलाई स्पष्ट भएको छ कि सबैको भित्र परमात्माको आवाज गुन्जिरहेको छ। सबैभित्र एउटै जीवनको धडकन छ। त्यसैले उसको मनमा समस्त जीवनप्रति आदर, सम्मान र प्रेमको भावना पलाएको छ।

यसरी मानिस जागृत भएपछि उसको आचरण पनि बदलिन्छ। उसको आचरण कुनै नियमले हैन, कुनै सिद्धान्त अथवा शास्त्र पढेर पनि हैन, स्वाभाविकरूपले बदलिन्छ। कसैले थोपरिदिएको अनुशासनबाट हैन आत्मानुशासनबाट उसमा परिवर्तन आउनेछ। यो अनुशासन आफैंभित्र उब्जिएको अनुशासन हो। यो फूलको बास्नाजस्तै चारैतिर फैलिनेछ।

ध्यान विधिको कुरा गर्दा अलगअलग समयमा अलगअलग विधि गर्नको लागि निर्देशित गरिएको छ। सूर्य उदयको समयमा गरिने ध्यानमा प्राणायाम गर्ने गरिन्छ, लामो तथा गहिरो श्वास लिने गरिन्छ। यसले हाइपर अक्सिजनेशन गर्छ, जसले गर्दा हामीलाई धेरै ऊर्जा प्राप्त हुन्छ। हामीमा ऊर्जा लबालब भरिन्छ। सूर्याेदयको समयमा गरिने ध्यान हामीले सुत्नुभन्दा पहिले ग–यौं भने हाम्रो निद्रा हराउनेछ। किनकि हामीभित्र शक्ति जागृत हुनेछ। त्यो शक्तिले हामीलाई शान्तिले सुत्न दिनेछैन। हाम्रो निद्रा गायब हुनेछ। हामीलाई अर्काे दिन काम गर्न मन लाग्नेछैन। शरीर भारीभारी लाग्नेछ, दिनभरि नै हाइहाइ आउनेछ, अनिद्रा महसूस हुनेछ। सबै कुरा गडबड हुनेछ। त्यसैले गुरुजनले जसरी निर्देशित गर्नुभएको छ, त्यसैगरी र त्यही विधि गर्नु ठीक हुन्छ। यदि चिकित्सकले निद्राको ट्याबलेट बेलुका सुत्ने बेलामा खानु भनेको छ, त्यसलाई हामीले बिहान उठ्ने बित्तिकै खायौं भने त्यसले हामीलाई दिनभरि नै दुःख दिन सक्छ। अब यसमा औषधिको केही गलती छैन, गलती हाम्रै हो। हामीले गलत समयमा औषधिको सेवन गर्यौं, प्रेसक्रिप्सनलाई फलो गरेनौं। ध्यानका विधिहरूलाई पनि समय अनुसार छुट्याइएको छ। कुन विधि बिहानको समयमा गर्ने ? कुन ध्यान सूर्याेदयपछि गर्ने ? कुन ध्यान मध्याह्नपूर्व गर्ने ? मध्याह्नपछि कुन ध्यान गर्ने ? साँझको समयमा कुन ध्यान गर्ने ? रात्रिको समयमा कुन ध्यान गर्ने ? रात्रिमा निद्रा खुल्यो भने कुन ध्यान गर्ने ? यी सबै अलगअलग ध्यानका विधिहरू हामीले उचित समयमा सही तरीकाले गर्यौं भने मात्र परिणाम सुखद आउनेछ। अन्यथा परिणाम विपरीत पनि आउन सक्नेछ।

ओशो भन्नुहुन्छ– अँधकारको चिन्ता नगरौं, प्रकाशको व्यवस्था गरौं। जीवनमा प्रकाश आउने बित्तिकै अँधकार हटेर जानेछ। जुन मानिस अँधकारको विचारमा नै तल्लीन रहन्छ, ऊ प्रकाशसम्म कहिल्यै पुग्नै सक्दैन। जीवनमा धेरै अँधकार छ र अँधकार जस्तै अशुभ र अनीति छन्। जुन मानिसले अँधकारलाई स्वीकार गर्छ, उसभित्र रहेको प्रकाश प्राप्त गर्ने आकाङ्क्षा क्रमशः क्षीण हँुदै जान्छ।

ओशो अगाडि भन्छन्– म अँधकारको यो स्वीकृतिलाई सबैभन्दा ठूलो पाप ठान्छु। यो मानिसले आफैंले आफैंलाई थोपरेको पाप हो। उसले अरूलाई गर्ने पापको जन्म पनि यही पापबाट हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here