शारीरिक क्षीणताका साथ मानसिक समस्या पनि आउने गर्छ। वृद्धावस्थाको अनुभूतिले नै व्यक्तिलाई एक प्रकारको मानसिक रोगी बनाइदिने गर्छ। यस अवस्थामा स्मरणशक्ति कम हुनु एउटा सामान्य कुरा हो। त्यस्तै वृद्धावस्थाले परनिर्भरता ल्याउने हुँदा मनमा एक प्रकारको संवेगात्मक अस्थिरता उत्पन्न गर्छ। शारीरिक कार्यक्षमता घट्नुले सामाजिक उपयोगिता कम हुने भएकोले अनेक प्रकारका मानसिक चिन्ता हुने गर्छ, जसबाट उसको निद्रा पनि कम हुन्छ।
मानिस जबसम्म आयआर्जन गर्न सक्ने रहन्छ, तबसम्म परिवारमा उसको मान्यता रहने गर्छ। परन्तु, जब कुनै पनि कारणले गर्दा, ऊ आयआर्जन गर्न नसक्ने अवस्थामा पुग्छ, तब ऊ परिवारका लागि एउटा बेकारको वस्तु अर्थात् भार–स्वरूप जस्तै भइहाल्छ। यसले गर्दा ऊ कुण्ठित हुन पुग्छ। अर्कोतिर अहिलेको अर्थप्रधान युगमा अर्थोपार्जनका लागि सन्तानलाई बाहिर जाने बाध्यता पनि रहेको छ। संयुक्त परिवारको स्थानमा एकल परिवारको अवधारणा आएकोले विवाहोपरान्त सन्तान मातापिताका साथ बस्न चाहँदैन। फलस्वरूप जुन उमेरमा मानिसलाई आफ्ना सन्तानबाट सबैभन्दा बढी सहायता र संरक्षणको आवश्यकता हुन्छ, त्यस उमेरमा ऊ निराश्रित र एक्लोपन अनुभव गर्छ। “पीढी–रिक्तता”ले गर्दा व्यक्तिको विचार र कार्य–व्यवहारमा असामान्य फरक अर्थात् वैचारिक मतभेद पाइनुका फलस्वरूप वृद्धजन आफ्नै परिवारमा, जीवनका अन्तिम चरणमा, उपेक्षाभावको अनुभूति गर्दै असन्तुष्ट जीवनयापन गर्न बाध्य रहेका छन्। वृद्धवृद्धा एक्लै बस्न बाध्य भएका छन्। जसरी उमेर बढ्दै जान्छ, उनीहरू एक्लोपन, भय, सन्त्रास तथा असुरक्षा अनुभव गर्न थाल्छन्। यदि वृद्धावस्थामा पति वा पत्नीमध्ये कुनै एकजनाको मृत्यु भइहाल्छ भने ऊ आफ्नो दुःख र वेदना अर्कासित भन्ने अवस्थामा पनि रहने गर्दैन। एक्लोपनको यो भावना पनि वृद्धावस्थामा मानसिक तनावको एउटा कारण हुन जान्छ। कतिपय परिवारमा वृद्धजनलाई तिनका हातमा रहेको धनका लागि मात्र सेवा गरिएको देखिन्छ। कति त धन–सम्पत्ति हस्तान्तरण गरिदिन दबाबसमेत दिने गर्छन्। कतिपय युवा दम्पती आफ्ना वृद्ध मातापितालाई घरबाट बोलाइ आफू बस्ने परदेशमा लगेर दयनीय जीवनयापन गर्न बाध्य गर्दा वृद्धजनप्रति हुने अनादर एवं पारिवारिक शोषणको अनुमान गर्न सकिन्छ। मातापिता छोराहरूलाई पालनपोषण गरेर हुर्काउँछन्, तर वृद्धावस्थामा पुगेपछि तिनलाई कसले पाल्ने भन्ने समस्या हुन्छ। अझ दुःख र सन्ताप त त्यस बेला हुन्छ, जब पाल्नका लागि नै माता र पितालाई दाजुभाइका बीचमा भाग लगाइन्छ।
संयुक्त परिवार हुँदा त्यहाँ परिवारमा अनेक सदस्य रहने भएकाले वृद्धवृद्धालाई हेरचाहमा त्यति समस्या हुने गर्दैन थियो। परन्तु एकल परिवारमा जब परिवारका सदस्यहरू बाहिर गइहाल्छन्, अनि वृद्धवृद्धालाई हेरचाह गर्ने कोही पनि हुँदैन। पहिले पारिवारिक उत्सव, समारोह इत्यादिका अवसरमा सबै कुटुम्ब जम्मा हुँदा वृद्धवृद्धाका लागि परस्पर वार्तालाप तथा मनोरञ्जनको वातावरण हुने गथ्र्यो। तर अहिले कार्यव्यस्तता तथा परदेश बसाइका कारण यस्तो परिवेश प्रायः पाइने गरिंदैन। वृद्धजननिर कोही पनि जान मान्दैनन्, उनीहरूसित कुरा गर्न तथा उनका कुरा सुन्न रुचाउँदैनन्। त्यस्तै, वृद्धजन आफू स्वयम् शारीरिक अशक्तताले गर्दा बाहिर जान सक्दैनन्। यसरी तिनको सामाजिक परिवेश सीमित हुन्छ। अर्कोतिर मनोरञ्जनका साधनमा टेलिभिजनको प्रधानता देखिएको छ। वृद्धवृद्धाका आँखा र कान कमजोर हुँदा तथा बच्चाहरूको पढाइको कारणले पनि यसबाट अपेक्षित मनोरञ्जन प्राप्त गर्न सकेका हुँदैनन्। यस प्रकार जीवनका उर्वर वर्षहरूमा सन्तान, परिवार, समाज र राष्ट्रका लागि योगदान गर्ने व्यक्ति वृद्धवृद्धा भएमा अनेक समस्याहरूको सामना गर्न बाध्य हुन्छन्। आधुनिक उपभोक्ता–संस्कृति तथा परम्परागत सामाजिक मूल्य–मान्यतामा आएको –हासका कारण वृद्धवृद्धाहरू घरको एउटा कुनामा उपेक्षित भएर बसिरहेका अथवा वृद्धाश्रम वा अस्पतालमा आफ्नो मृत्युको प्रतीक्षा गरिरहेका हुन्छन्। वृद्धावस्थाका समस्याका समाधानतिर लागौं।
(क) वृद्धजनका लागि गरिनुपर्नेः– वृद्धावस्था स्वाभाविक र अनिवार्य अवस्था हो। वृद्धवृद्धाहरू समाजका अति महत्वपूर्ण र उपयोगी अङ्ग हुन्। तिनीहरूको हेरचाह तथा आवश्यक सुविधाहरूको व्यवस्था हुनुपर्छ। तिनीहरूलाई प्रेम तथा सम्मान गर्नुपर्छ। तिनीहरूलाई सदैव सक्रिय राख्नु, सुरक्षाको ध्यान राख्नु, योग तथा ध्यान गर्न प्रेरित गर्नुपर्छ। वृद्धवृद्धा आफूलाई एक्लो अनुभव नगरून्, यसका लागि पारिवारिक मामिलाहरूमा तिनीहरूसँग परामर्श गर्नुपर्छ। वृद्धवृद्धालाई सकेसम्म धेरैबेर एक्लो छाड्नुहुँदैन। तिनीहरू क्रोधित भएमा सहनुपर्छ, झर्को मान्नुहुँदैन। वृद्धवृद्धाका अनुभवहरू ध्यान दिएर सुन्नुपर्छ। वृद्धवृद्धाका लागि सामाजिक, आर्थिक एवं मानसिक सुरक्षा प्रदान गर्ने उपायहरू गर्नुपर्छ। तिनीहरूका लागि स्वस्थ मनोरञ्जनका साधनहरू उपलब्ध गराइनुपर्छ। वृद्धावस्थालाई भारको रूपमा होइन कि जीवनको अनिवार्यताको रूपमा स्वीकार गर्नुपर्छ। बेलाबेलामा वृद्धवृद्धाहरूका लागि सामान्य ज्ञान, खेल, मनोरञ्जन, कार्यशाला, सामान्य चिकित्सा, मनोचिकित्सा तथा पोषण विषयक परामर्श कार्यक्रम इत्यादि जस्ता विशेष आयोजनाहरू गर्नुपर्छ। राज्य वा सरकारको तर्फबाट सुविधासम्पन्न वृद्धाश्रमका साथै स्वास्थ्य बीमा, वृद्धावस्था भत्ता, कानूनी संरक्षण तथा अन्य सेवासुविधा सहज ढङ्गले उपलब्ध हुने व्यवस्था हुनुपर्छ। विद्यालयका पाठ्यक्रममा वृद्धजनप्रति सम्मान गर्ने नैतिकता विकसित गर्ने विषय सामेल गरिनुपर्छ। शिक्षित वृद्धवृद्धाहरूका अनुभवको उपयोग प्रौढ–शिक्षा जस्ता कार्यक्रम गरेर तिनीहरूलाई आंशिक रोजगारको व्यवस्था गर्नुपर्छ, जसबाट वृद्धजन व्यस्त रहन सकून्। वृद्धजनद्वारा पूर्वकालिक तथा वर्तमान समयमा सम्पादित कार्य तथा योगदान हेतु मान, सम्मान प्रदान गरिनुपर्छ। बाल्यावस्थादेखि नै यस्ता संस्कार विकसित गरियोस्, जसले गर्दा युवा पीढीमा वृद्धजनप्रति आत्मीयता, सहानुभूति र सम्मानका भाव उत्पन्न होओस्। वास्तवमा वृद्धावस्था समस्याहरूको घर नै हो, अतः स्वयम् वृद्धवृद्धा, तिनका सन्ततिहरू, समाज तथा सरकार–यी सबैको सामञ्जस्यपूर्ण सहयोगात्मक व्यवहारद्वारा नै समस्याहरूको समाधानतिर सकारात्मक प्रयास हुन सक्छ।
(ख) वृद्धाश्रमको व्यवस्थाः– अहिले परिस्थिति यस्तो भएको छ कि समाज तथा राज्य वा राष्ट्रको तर्फबाट सामाजिक समायोजनको व्यापक जिम्मेवारी स्वीकार गर्नुपर्ने आवश्यकता भइसकेको छ। यस क्षेत्रमा सामाजिक सङ्घसंस्थाको योगदान हुनुपर्ने देखिन्छ। वृद्धवृद्धाहरूका लागि वृद्धाश्रमको व्यवस्था हुनु आवश्यक भएको छ। पहिले वृद्धाश्रम हुँदैन थियो। वृद्धवृद्धा परिवारका लागि गौरवको विषय ठानिन्थे। परिवारका सबै सदस्य मिलेर तिनको सेवा गर्नु दायित्व र कर्तव्य ठान्ने गर्थे। यदि कुनै वृद्धवृद्धा, विभिन्न कारणले गर्दा, परिवारबाट अलग (टाढा) भएर बस्न बाध्य हुन्थे भने तिनीहरू तीर्थस्थानमा गएर बस्थे। परन्तु त्यहाँ पनि तिनको भरणपोषण र स्याहारसुसारको व्यवस्था सम्बन्धित परिवारबाट नै गरिन्थ्यो। तर अहिलेको बदलिंदो सामाजिक र पारिवारिक परिवेशमा वृद्धवृद्धाका लागि एउटा यस्तो स्थानको आवश्यकता भएको छ, जहाँ तिनीहरू एकअर्कासित कुराकानी, वार्तालाप, भलाकुसारी गरेर समय बिताउन सकून्। कतिपय वृद्धवृद्धाहरू परिवारमा सँगै बसेको भए तापनि छोरा–बुहारी काममा तथा नाति–नातिनी विद्यालयमा गइसकेपछि घरमा एक्लै बस्न बाध्य हुन्छन्। अर्कोतिर सन्तान परदेशमा आयआर्जन गरिरहेका अवस्थामा पनि वृद्धवृद्धाहरू वृद्धाश्रममा बस्न बाध्य हुन्छन्। कतिपय त आफ्नो एक्लोपनबाट वाक्क भएर तथा कतिपय वृद्धवृद्धाहरू सन्तानसित मिल्न नसकेर परनिर्भरताबाट बच्न एवं निजी स्वतन्त्रता तथा स्वच्छन्दताको इच्छाले वृद्धाश्रममा बस्न आएका हुन्छन्। हुनत एउटा विचारमा भनिन्छ कि वृद्धजनको पुनर्बास एउटा गम्भीर समस्या हो र यसको विकल्प वृद्धाश्रम हुन सक्दैन, किनकि यसले निष्कासनको प्रक्रियालाई प्रेरित गरिरहेको हुन्छ। असल त यही हुन्छ कि वृद्धजनलाई परिवारमा आनन्दसित बस्ने परिवेशको निर्माण होओस् तथा तिनीहरूले सन्ततिबाट सुख प्राप्त गर्न सकून्। तर समयको तीव्र प्रवाह, सामाजिक सङ्क्रमणको संस्कृति, औद्योगिकीकरण र उपभोक्तावादी आर्थिक विचार इत्यादिको प्रभावका कारण वर्तमान समयमा वृद्धाश्रम एक प्रकारले आवश्यक जस्तै भएको देखिन्छ।
(ग) युवापीढीकालागि केही सुझावः– आजका युवापीढीले यी कुरा बुझ्नुपर्छ कि वृद्धावस्था स्वाभाविक हो, हामी एक दिन यस अवस्थामा पुग्नेछौं। वृद्धजन हाम्रा जिउँदो इतिहास हुन्। तिनीहरू ज्ञान र अनुभवका भण्डार हुन्। तिनीहरू हाम्रा अग्रज हुन्। तिनीहरूले हामीलाई पालनपोषण गरेका छन्। तिनीहरूलाई हामीले आदर, सम्मान र स्नेह दिनुपर्छ। तिनीहरूको आवश्यकताको पूर्ति गर्नु र सबै प्रकारले सुरक्षित राख्नुपर्छ।
यसका साथै आफ्ना परिवारका वृद्धजनका साथ बस्नु, शिष्ट तथा नम्र भाषामा कुराकानी गर्नुपर्छ, जसबाट तिनमा एक्लोपनको अनुभूति नहोओस् तथा भावनात्मकरूपबाट स्वस्थ रहन सकून्। पारिवारिक निर्णयमा रायसल्लाह गर्नु, जसबाट तिनीहरूमा आफ्नो महत्ताको बोध होओस्, तथा अनुपयोगिताको भाव नआओस्। स्वास्थ्य सम्बन्धी जिज्ञासा राख्नु, आवश्यक औषधिको व्यवस्था गर्नु, पथ्य–परहेजमा ध्यान दिनु, पर्यटन, भ्रमण तथा मनोरञ्जनको व्यवस्था गरिदिनु।
तिनका इच्छा के छन् ? भनेर सोध्नु, परिवारका सदस्यहरूबाट भावनात्मक र मनोवैज्ञानिक सहायता प्रदान गर्नु, जसबाट अवसादको अवस्थामा नआओस्। यथाशक्य तिनका आर्थिक आवश्यकता पूर्ति गरिदिनु, आदर–भाव राख्नु, जसबाट तिनमा अनादर–बोध नहोओस्। परावलम्बनको बोध हुन नदिनु, वृद्धजन आफूहरूसँग बसेका छन् भन्ने बोधको साटो आफूहरू वृद्धजनसित बसेका छौं भन्ने बोध राख्नु। परिवारका वृद्धजनलाई एउटा समस्या नठानेर आफ्नो उत्तरदायित्व ठान्नु, मातापिता/वृद्धवृद्धा जीवनको एउटा अनमोल धरोहर रहेका कुरा आफ्ना सन्तानलाई सिकाउनु। आफूले आज वृद्धजनप्रति गर्ने व्यवहार जस्तै भोलि आफ्ना सन्ततिले पनि आफूहरूप्रति गर्ने कुरातर्फ सचेत हुनु। परिवारका वृद्धजनलाई अवज्ञा नगर्नु, वृद्धजनका विचार ध्यान दिएर सुन्नु तथा उनका अनुभवबाट शिक्षा प्राप्त गर्नु। वृद्धजनको हातमा रहेको धनका लागि मात्र उनको सेवा नगर्नु, अपितु आफ्ना कर्तव्यबोधका साथ उनीप्रति सच्चा सेवाभाव राख्नु।
(घ) वृद्धवृद्धाका लागि केही सुझावः– भनिन्छ कि जबसम्म मानसिक बल र सन्तुलन रहन्छ, तबसम्म मानिस वृद्धावस्थामा पुग्दैन। परन्तु शरीरले एउटा आयु पार गरेपछि व्यक्ति अशक्तितर्फ उन्मुख हुन्छ, जसलाई वृद्धावस्था भनिन्छ। वृद्धवृद्धाहरूले आफूलाई कुनै उद्देश्यका साथ सम्बन्धित राख्नु, आफूलाई कुनै कार्यमा व्यस्त गरिराख्नु तथा सामाजिक कार्यमा संलग्न गराइराख्नुपर्ने हुन्छ। समाजका अन्य व्यक्तिसित सम्पर्क हुँदा “म तपाईंको साथ छु” भन्ने आशय झल्काउनुपर्छ, जसबाट आफूलाई एक्लोपनको बोध हुँदैन। यसरी नै छरछिमेकका परिवारहरूप्रति उदार भाव राख्नु, आफ्नो परम्परागत हठधर्मितालाई छाड्नु, परिवर्तनशील परिस्थितिलाई ध्यानमा राखेर आफ्नो उत्तरदायित्वलाई ठम्याउनुपर्छ। त्यस्तै, आफ्नो क्षमता अनुसार आफ्ना सन्ततिलाई सहयोग गर्नु जस्ता कार्यहरू गर्नुपर्छ, जसबाट अनुभवी वृद्धजन र कार्यशील युवापीढी, दुवै मिलेर समाजलाई नयाँ दिशातर्फ उन्मुख गराउन सकून्। वृद्धजनले सकेसम्म आफ्ना आवश्यकतामा कमी गर्नु, परिस्थिति अनुरूप नम्र वचनको प्रयोग गर्नु, परिवारका सदस्यहरूप्रति समान व्यवहार गर्नु, पारिवारिक कार्य, व्यवहारमा बढी हस्तक्षेप वा विरोध नगर्नु तथा सकेसम्म मौन धारण गर्नु राम्रो मानिन्छ। अर्कोतिर आध्यात्मिक कार्यक्रमहरूमा संलग्न रहनु, स्वावलम्बी बन्ने सतत् प्रयास गर्नु, वृद्धजनसित सम्बन्धित सङ्घसंस्थामा सहभागी हुनु, जुनसुकै परिस्थितिमा धैर्यवान् भएर बाँच्न सिक्नु, नयाँ–नयाँ कुरा सिक्ने गर्नु तथा युवापीढीका साथ समय व्यतीत गर्ने बानी बसाल्नु हितकर हुने मानिन्छ। यस्तो पनि भनिन्छ कि परिवारमा बस्दा वृद्धजनले रात्रिकालमा १० बजेभन्दा पहिले नै आफ्ना आवश्यकतालाई पूरा गरिहाल्नु एवं त्यसपछिको समयमा सकेसम्म सन्तान (छोरा–छोरी, बुहारी आदि)लाई अति आवश्यक परिआएबाहेक नबोलाउनु। यसरी नै, यथाशक्ति आफ्नो वृद्धावस्था आउनुभन्दा पहिले नै केही निश्चित धनराशि बैंकमा जम्मा गरिराख्नु, जसले पछि अर्थाभावको समस्या नआओस् तथा आफ्नो शेषपछि मात्र सन्तानले पाउने गरी केही अचल सम्पत्ति (यदि रहेछ भने) राखिराख्नु, जसले गर्दा सम्पत्तिको लोभले पनि सन्तानले हेरचाह गरोस्। यथाशक्ति पुस्तक पढ्ने बानी बसाल्नु, आफ्नो निजी दैनिकी (डायरी) लेख्ने गर्नु, कुटुम्ब परिवार तथा सम्बन्धीहरूसित सम्पर्क कायम राख्ने गर्नु, आफ्नो अभिरुचिलाई विस्तार गर्नु, आफ्नो स्वभावलाई हँसिलो राख्नु, सकेसम्म बेकार नबस्नु, केही न केही सकारात्मक क्रियाकलापमा संलग्न भइराख्नु, एउटा निश्चित दिनचर्यामा आफूलाई कायम राख्ने गर्नु इत्यादि कार्यले पनि वृद्धजनको जीवनलाई सहज तुल्याउन सहयोग गर्ने भनिएको पाइन्छ।
उपसंहारः– यो आलेख एउटा सामान्य सर्वेक्षण–अध्ययनको आधारमा तयार गरिएको हो। प्रस्तुत आलेखमा व्यक्त विचारहरूका विषयमा देशगत, समाजगत र जातिगत आधारमा फरकफरक मान्यता र व्याख्या हुन सक्छन्। व्यक्ति–व्यक्तिको आफ्नै फरक व्यक्तित्व हुन्छ। अतः उसको विचार, उसका समस्या र अवस्था पनि फरक नै हुन्छन्। प्रत्येक व्यक्तिको अनुभव विशिष्ट नै हुन्छ, यसरी प्रत्येक व्यक्तिको अनुभवको आधारमा स्वतन्त्र पुस्तक लेख्न सकिन्छ।
वृद्धावस्था स्वयम् एउटा अनिवार्य रोग हो, जसको कुनै उपचार हुँदैन। आजका युवापीढी भोलि वृद्धावस्थामा हुनेछन्, त्यसरी नै, जसरी कि आजका वृद्धावस्थाका व्यक्ति हिजो युवा थिए। आज युवापीढीले वृद्धजनलाई बुझ्नु आवश्यक छ, त्यतिकै नै वृद्धजनले पनि युवापीढीलाई बुझ्न आवश्यक छ। युवापीढीका वृद्धजनप्रति कर्तव्य छन्
भने वृद्धजनका पनि युवापीढी प्रति कर्तव्य छन्। यसका साथै यी दुवैका समाज र राष्ट्रप्रति कर्तव्य छन् भने समाज र राष्ट्रका पनि यी दुवैप्रति कर्तव्य
छन्।
अर्थप्रधान कलियुगमा प्रायः आर्थिक आधारमा नै साना–ठूला तथा गण्यमान्य शब्दहरूलाई पारिभाषित गर्ने गरिन्छ। अर्थको बलमा धेरै कुरा गर्न सकिन्छ। पूर्वीय दर्शनले भन्छ कि मनुष्यले कर्म अनुसारको फल भोग्नुपर्छ। समयको प्रवाहलाई रोक्न सकिंदैन, यसलाई परिवर्तित पनि गर्न सकिंदैन। श्रीमद्भगवतगीता, अध्याय तीन, श्लोक सङ्ख्या ३५ मा लेखिएको छ, “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः”। यसको एउटा अर्थ यस्तो पनि गरिन्छ कि धर्म अर्थात् स्वभाव, प्रकृति, कर्तव्य। यिनको प्रतिकूल गएमा भयावह स्थितिको सामना गर्नुपर्छ। जसमाथि आफ्नो नियन्त्रण छैन, त्यसलाई ईश्वरमाथि छाडिदिनु नै बेस। हामीले प्रतिकार होइन, स्वीकार गर्न सिकौं। आशा गरौं, आउने समय राम्रो हुनेछ।