राति नौ बजेतिर एउटा होटलको छेउमा बास बस्छौं। मकैको भुटा खोजी र खानमा समय खेर नफालेको भए मज्जाले लखनऊ पुगिन्थ्यो तर यहाँ सडकमा बास बस्नुपरिरहेको छ। अत्यन्त गर्मी छ, मच्छर पनि उत्तिकै तर गाडीको चालकलाई भने गाडी अगाडि बढाउन अलिकति पनि मन लागेको छैन। निद्राले छोप्न थालेको छ। होटलको खाना त राम्रो छ तर त्यहाँको बसाइ जीवनभर नबिर्सिने गरी नराम्रो हुन गयो।

अनिदो रात बित्नुअघि धरतीले अझै अँध्यारो मुख लाएकै बेला त्यहाँ हुन सकिने फ्रेस भएर यात्रा आरम्भ हुन्छ। केही समयमा उत्तर प्रदेशको राजधानी लखनऊ शहरसम्म फराकिलो नयाँ सडकलाई पुर्याइ हामी अगाडि बढ्छौं। लखनऊ नाघ्न लाग्दा प्रअ प्रभु पटेल सरको स्वास्थ्यमा समस्या देखिन्छ। निकै छटपटिन थाल्नुहुन्छ। बल्लतल्ल एउटा अस्पतालसम्म पुग्छौं। एक कर्मचारी आइपुगेका छन् र चिकित्सक आउन बाँकी छ। सरकारी आयुर्वेदिक अस्पताल हो। लगभग डेढ/दुई घण्टासम्म त्यहाँ आराम र औषधोपचार गरेपछि अलिकति स्वास्थ्य अनुकूल हुन्छ र हामी पुनः यात्रालाई जोड्छौं। केही बेर गुडेपछि एउटा गज्जबको रमाइलो बगैंचामा गाडी रोकेर खाना पकाउन थाल्छौं। आरामले चीसो पानीमा नुहाउँदै खाना पकाउँदै खाएर पुनः यात्रा अगाडि बढाउँछौं। आज जसरी पनि पुग्नु छ झाँसी।

सडकको अवस्था फेरिएको छ तर नराम्रो भने छैन। बिल्कुलै अपरिचित क्षेत्रतिर अगाडि बढिरहेको गाडी। गाडी र यात्रु कहिल्यै यता नगएको क्षेत्र हो। घरी गूगलको सहयोग त घरी सडकमैं लेखिएका बोर्डहरूको सहारामा अगाडि बढेका छौं हामी। निरन्तर अगाडि बढिरहेका छौं। कतै पनि काग वा कौवा देखिंदैनन्। अन्य चराहरू भने देखिन्छन्। बरु मयुर देखिन्छन् कतै कतै। उडिरहेका मयुर, बसिरहेका मयुर, हिंडिरहेका मयुर। हाम्रोलागि आकर्षण भइरहन्छ।

जब झाँसी आइपुग्छ, तब उत्सुकता पराकाष्ठामा हुन्छ। एउटा डर पनि हुन्छ, बन्द भइनहालोस् झाँसीको किल्ला। अबेर भइसकेको छ। साँझ पर्न थालेको छ। घुमाउरो बाटो हुँदै उकालिंदै चढ्छौं र फराकिलो ठाउँमा गाडी रोकिन्छ। आहा १ सम्पूर्ण झाँसी देखिने गज्जबको पर्यटकीय ठाउँ।

झाँसी एउटा जिल्ला हो, उत्तर प्रदेशको। यस जिल्लाको सिमाना मध्यप्रदेशसित जोडिएको छ। झाँसीको सदरमुकाम पनि हो झाँसी शहर। यो बुन्देलखण्ड अन्तर्गत पर्छ। ऐतिहासिक दृष्टिकोणले यो निकै प्रसिद्ध जिल्ला हो। झाँसीको गौरवगाथाले निकै विस्तार पाएको छ।

हामीलाई हतार भइसकेको छ। टिकट लिएर झाँसीको किल्लामा प्रवेश गर्नुपर्छ। भारतीय पुरातत्व सर्वेक्षणको बोर्ड देखिन्छ। खुल्ने समयमा लेखिएको छ, सूर्योदयदेखि सूर्यास्तसम्म। सूर्यास्त हुनै लागेको छ। यद्यपि सुन्छौं– सूर्यास्तसम्म किल्लाभित्र पस्न पाइन्छ अनि मज्जाले डुल्न र हेर्न सकिन्छ। सूर्यास्त भएपछि नयाँ मानिसको लागि टिकट काटिन्न। १५ वर्षसम्मका बालबालिकालाई निश्शुल्क रहेको झाँसीको किल्लामा भारतीय तथा सार्क र बिम्सटेकसहितका नागरिकलाई २५ र विदेशीलाई तीन सय रुपियाँ शुल्क तोकिएको छ। विशाल ढोकामैं टिकट काटिने रहेछ। अझै मानिसहरूले टिकट लिइरहेका छन्। हामी सामूहिक टिकट किन्छौं र भित्र प्रवेश गर्छौं।

झाँसीको किल्लाको धेरै राम्रोसित संरक्षण गरिएको रहेछ। सानो पहाडमा अवस्थित यस किल्लाको निर्माण १६१३ इस्वीमा भएको रहेछ। यसै दुर्गको नाम झाँसी राखिएको र कालान्तरमा जिल्लाकै नाम झाँसी हुन पुगेको रहेछ। सन् १८५७ को भारतीय विद्रोहमा यस स्थानको निकै महत्वपूर्ण भूमिका रहेको छ। अङ्ग्रेज सैनिकले यस किल्लाको भेदन गर्न १७ दिनसम्म लगातार आक्रमण गरिरहे र रानी लक्ष्मीबाईले निरन्तर प्रतिकार गरिरहिन्। सानो बच्चालाई पिठ्यूँमा बोकेर घोडामा चढी अङ्ग्रेजसित वीरताका साथ लड्दै कालपी हुँदै ग्वालियर पुगिन्। यस वीरताको गाथा निकै गाइएको पाइन्छ। यसैले पनि यो किल्ला निकै महत्वपूर्ण छ।

१५ एकडभन्दा ठूलो क्षेत्रफलमा फैलिएको यस किल्लाभित्र अनेक दर्शनीय वस्तुहरू छन्। मुख्य प्रवेशद्वार, कडक बिजली तोप, प्रेक्षागृह, पञ्चमहल, कालकोठरी, फाँसीघर, विभिन्न मन्दिरहरू, भवानी शङ्कर तोप आदि यसका मुख्य दर्शनीयस्थलहरू छन्। यहाँ प्रेक्षालयमा विभिन्न कार्यक्रमहरू देखाइँदो रहेछ। किल्लाको महत्व र इतिहासका साथै रानी लक्ष्मीबाईले गरेको युद्धको बारेमा पनि देखाइँदो रहेछ। हरेक रात पर्यटक तथा स्थानीयहरू हेर्न आउँदा रहेछन्। किल्ला संरक्षणमा सामान्य दर्शक तथा राति आउने दर्शकहरूबाट उठेको रकमले ठूलो टेवा पुगेको रहेछ। हामीलाई रातिको कार्यक्रम हेर्न पाउने समय र परिस्थिति रहेको छैन भन्ने हामीले बुझेका छौं।

किल्लाको उत्तरतिर हेर्दा शहरभन्दा निकै माथि रहेको देखिन्छ। एउटा दक्षिणतिरबाट मात्र हो सजिलो गरी आउन सक्ने हैन भने पूर्व, पश्चिम र उत्तरबाट यो ठाउँ निकै अग्लो रहेको छ। यस कारण यसलाई चारैतिरबाट घेरा हालेर पनि भित्र पस्न नसकिने किसिमले निर्माण गरिएको छ। माथिबाट आक्रमण गर्न सकिने अनेक ठाउँ छन्। यति भव्य छ कि कुनै कुनै ठाउँमा कताबाट पसूँ र कताबाट निस्कूँ भने जस्तो हुन्छ। एक्लै पर्दा कतै कतै डर पनि लाग्छ। सबैतिर प्रहरीको निगरानी हुन्छ। फोटो खिच्न पाइन्छ र कतै कतै जान चाहिं प्रहरीले रोक्छ र फोटो खिच्न पनि रोक्छ।

बिस्तारै सबैतिर बत्ती बल्न थाल्छ। शहर झिलिमिली देखिन थाल्छ। किल्लाको सुरक्षार्थ खटिएका प्रहरीहरूले अब निस्कनलाई सङ्केत गर्न थालेका छन्। हतार छैन तर अब उता नजानुस्, उता पस्नुहुँदैन भन्न थालेका छन्। यसको अर्थ छिटो निस्कनुहोस् भन्नु पनि हो। झन्डै एक घण्टा किल्लाभित्र बिताउँछौं। जति हेर्नुपर्ने हो, मुख्य सबै कुरा हेर्छौं। हेर्दैमा आश्चर्यचकित र विस्मित पार्ने किसिमले निर्माण गरिएको झाँसीको किल्लाले स्थानीयमा पनि निकै ठूलो सम्मान पाएको छ। झाँसीको गर्वको रूपमा पनि यस किल्लालाई लिइँदो रहेछ।

बाहिर गएकालाई अँध्यारोले हतारमा काम गर्न अ–हाउँदो रहेछ। हामीले आजको लागि बास पनि खोज्नु छ। झाँसी हेर्दै मनमोहक शहर हो। ढिलो भइनसकेको भएपनि बास खोज्नुपर्ने हतारले किल्लाभित्रबाट बाहिरतिर निस्कन्छौं। झन्डै सबैभन्दा पछाडि म नै हुन्छु साथीहरूमा।

अघि गाडी रोकिएको ठाउँमा आएपछि त्यहाँबाट देखिने शहरको अवस्थै बदलिएको छ। रङ्गीचङ्गी बिजुलीको शहर देखिएको छ। अनि त्यहाँ धेरै किसिमका बोर्डहरू राखिएका छन्। एउटा बोर्डमा आँखा पुग्छ। हामीले अघि भर्खर देखेको चाहिं झाँसीको रानीको वास्तविक दरबार होइन रहेछ। यो मुख्य किल्ला चाहिं हो तर दरबार चाहिं पर रहेछ। रानी लक्ष्मीबाईको दरबार अलिक टाढा भएको कुरा सुनेर मन अमिलो भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here