वीरगंज महानगरपालिकामा व्यवसाय गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ। आर्थिक मन्दीको कारण चालू व्यवसायलाई बन्द गर्नेको सङ्ख्या दैनिक १० को हाराहारीमा रहेको वीरगंज महानगर राजस्व महाशाखाका प्रमुख मनोज कर्णले बताए।
उनले व्यवसाय करको इजाजत लिएकाहरूको सङ्ख्या चालू आवमा सबैभन्दा बढी घटिरहेको बताए। उनले चालू आवमा व्यवसाय करदाता छ हजार ८०४ रहेकामा दुई हजार ५३५ जनाले मात्र कर तिरेका र चार हजार २६९ जनाले कर तिर्न बाँकी रहेको बताए। उनले गत आवमा छ हजार ८१५ जना व्यवसाय कर तिर्ने व्यक्ति रहेकामा दुई हजार ५०४ जनाले मात्र करचुक्ता गरेका र चार हजार ३११ जनाले कर तिर्न बाँकी रहेको उनले बताए।
उनले वीरगंज महानगरमा व्यवसाय कर तिर्नेहरूको सङ्ख्या यकीन नभए पनि अहिले उनीहरूले सञ्चालन गरेका व्यवसाय बन्द गर्दा आन्तरिक राजस्व कार्यालयमा वीरगंज महानगरको सिफारिशपत्र आवश्यक भएकोले सो सिफारिश लिएर व्यवसाय बन्द गर्नेहरूको सङ्ख्याबाट यो कुराको पुष्टि भएको बताए। महानगरले व्यवसाय बन्दको लागि सिफारिश गर्दा कम्तीमा एक वर्षको व्यवसाय कर लिएर सिफारिश दिने गरेको बताए।
आन्तरिक राजस्व कार्यालयमा पान र मूअकरमा दर्ता रहेका व्यवसायीहरूले अहिले धमाधम व्यवसाय बन्द गरिरहेका र यसले आगामी आवको आन्तरिक स्रोतमा पनि असर पर्ने उनले बताए।
वीरगंज मनपामा गत आवमा ६२ हजार ७७७ जना सम्पत्ति करदातामध्ये २५ हजार ८६६ जनाले कर तिरेका थिए। यसैगरी, चालू आवमा ७० हजार ८५१ जना करदातामध्ये ३६ हजार ५८६ जनाले मात्र कर तिरेका थिए। राजस्व महाशाखा प्रमुख कर्णले करदाताहरूले प्रत्येक वर्ष कर नतिर्ने र कसैकसैले दुई/तीन वर्षको अन्तरमा तिर्ने हुनाले यो सङ्ख्या देखिएको बताए। महानगरमा गत आवमा दुई हजार ३८४ जना करदातामध्ये एक हजार ९०४ जनाले मात्र घरबहाल कर तिरेका थिए भने चालू आवमा चार हजार ३७६ मध्ये एक हजार २७५ जनाले मात्र बहालकर तिरेका छन्। बहालकरमा पनि चालू आवमा तिर्नेभन्दा तीन गुणा बढी नतिर्नेको सङ्ख्या छ भने गत वर्ष नतिर्ने सङ्ख्या कम र तिर्नेको सङ्ख्या बढी थियो।
गत वर्ष ४८० जनाले मात्र कर तिरेका थिएनन् भने यस वर्ष तीन हजार १०१ जनाले घरबहाल कर तिरेका छैनन्। महानगरले चालू आवमा आन्तरिक स्रोत ७५ करोड आकलन गरेकोमा पछि पुनः पुसमा ल्याइएको संशोधित बजेटमा २० करोड बढाएको थियो। तर महानगरले असार १० गतेसम्म पनि ७५ करोडको लक्ष्य पूरा हुने अवस्था देखिंदैन।
चालू आवको जेठ मसान्तसम्म महानगरले ४६ करोडको हाराहारीमा आन्तरिक राजस्व सङ्कलन गरेको छ भने असार मसान्तसम्म ६२–६५ करोडसम्म पुग्ने अनुमान गरेको छ। यो अवस्थामा आगामी आवमा महानगरले लिएको ७९ करोड आन्तरिक राजस्व सङ्कलनको लक्ष्य पनि पूरा हुनेमा आशङ्का छ।