डेङ्गु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ। जसले विशेषगरी बिहान घाम झुल्कने बेला र साँझ घाम अस्ताउने बेला टोक्ने गर्छ। डेङ्गुका लामखुट्टे चार फिटभन्दा बढीे उड्न सक्दैन। फोहरमा बस्ने तर सफा पानीमा फुल पार्ने यो लामखुट्टेको विशेषता भएकोले कतिपयले डेङ्गु सार्ने लामखुट्टेलाई राजा लामखुट्टे पनि भन्छन्। डेङ्गु रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा स्वस्थ व्यक्ति पनि सङ्क्रमित हुन्छन्। यो रोगका लक्षणमा एक्कासि टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडका जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने, कतिपयलाई कमजोरी महसूस भई रिङ्गटा पनि लाग्ने र बेहोश हुने गर्छन्। डेङ्गुु लागेपछि रगतमा प्लेटलेटको सङ्ख्या तीव्ररूपमा घट्दै जाने गर्छ। यसो हुँदा बिरामीका लागि खतरा हुन सक्छ।

चिकित्सकीय अध्ययनका अनुसार एक प्रकारको विषाणुबाट डेङ्गुु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको खण्डमा भने डेङ्गुु घातक हुन्छ। यसले ठूला रोगहरूको सङ्क्रमण गराउन सक्छ। जस्तै डेङ्गुुका साथै इन्सेफ्लाइटिस, मलेरिया र जिका भाइरसलगायतका रोगको सङ्क्रमण हुन सक्छ। यसो भएमा मानिसको ज्यान जान सक्छ। भाइरसको कारण डेङ्गु भएपनि यो कोरोना भाइरस, स्वाइन फ्लू वा क्षयरोग जस्तो श्वास, हावा, –यालबाट सर्ने रोग होइन। यस रोगको सुरुआत, सङ्क्रमणको माध्यम र घातक पनि लामखुट्टेबाटै हुने गरेको छ। लामखुट्टेको बासस्थान नै नष्ट गरिदियौं भने डेङ्गुलगायत धेरैवटा रोगको सङ्क्रमणबाट बच्न सकिन्छ। खासगरी पानी परेको बेलामा लामखुट्टेहरूको विकास तीव्र गतिमा हुन्छ। यस्तो अवस्थालाई लक्षित गरेर अहिले वीरगंज महानगरपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा वडा नं १ देखि १६ सम्म बायोलार्भिक साइटिस स्प्रे गर्दैछ। बायोलार्भिक साइटिस पानीमा मिलाएर लामखुट्टे उत्पादन हुने क्षेत्रलाई लक्षित गरेर छर्किने गरिन्छ, जसले गर्दा लामखुट्टेको अन्डा र लार्भा नष्ट हुन्छन् र विकसित हुन सक्दैन।

हरेक परिवारले आफ्नो घर र सो आसपासका क्षेत्रमा सफा पानी जम्म नदिने हो भने डेङ्गुु सार्ने पोथी लामखुट्टेले फुल पार्ने ठाउँ पाउँदैन। फुल पार्ने ठाउँ नभएपछि उसको बसाइ अन्यत्र हुन्छ र सन्तान वृद्धि गर्न नसके उसबाट हुने क्षति टर्छ। घरको एसी र फ्रिजबाट निस्किएको पानी दैनिकी सफा गर्ने, वर्षामा पानी जम्ने घरवरिपरिका खाल्डाखुल्डी पुर्ने, खाली बट्टा, खपडा, टायर, बोतल र गमलाहरूमा पानी छ भने फाल्ने। यसका अतिरिक्त सुत्ने बेला कम्तीमा मच्छडदानी प्रयोग गर्ने र लामखुट्टेको टोकाइबाट जोगिने प्रयत्न गरेको खण्डमा डेङ्गुबाट बच्न सकिन्छ। यसका साथै डेङ्गुको सङ्क्रमणबाट जोगिनका लागि डेङ्गु भएको बिरामीलाई मच्छडदानीको अनिवार्य प्रयोग गराएमा सङ्क्रमणको दर घट्छ। रोग लाग्नुभन्दा रोग नलाग्ने जुक्ति गर्नु उत्तम हुन्छ। यस अर्थमा अहिलेको मौसममा डेङ्गुलगायतका रोगबाट आफू पनि बच्ने र समुदायलाई पनि बचाउनका लागि आफूले जानेका कुरा अरूलाई जानकारी गराएर सचेत पार्नु पनि उत्तम उपाय हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here