मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले मधेस प्रदेश सरकारको मुख्य नजर भारतीय पर्यटकमा रहेको बताएका छन्। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेस प्रदेशको सहयोग एवं पर्यटन विकास कार्यालय, वीरगंजको आयोजनामा वीरगंजमा सम्पन्न ‘घुमौं मधेस बुझौं मधेस’सम्बन्धी सरोकावालाहरूसँगको अन्तत्र्रिmया कार्यक्रममा उनले मधेस प्रदेशलाई पर्यटनको हब बनाउने नीति सरकारले लिएको बताए। उनले यो नीति तबमात्र सफल हुन्छ, जब भारतीय पर्यटकलाई तान्न सकिन्छ, त्यस कारण भारतीय पर्यटक हाम्रालागि भगवान् हुन् र उनीहरूलाई मुख्य प्राथमिकतामा राखिएको प्रस्ट्याए। मधेस प्रदेशका आठ जिल्लामा चारवटा सर्किट घोषणा गर्दै भारतीय पर्यटकलाई कसरी घुम्न र बस्न सहज होला त्यसलाई मधेस सरकारले व्यवस्थापन गर्ने उनले बताए। मधेस प्रदेशको वर्तमान सरकारले सात दिनको गृहकार्यपछि बजेट विनियोजन गरेकोले केही त्रुटि हुन गएको उनले स्वीकार गरे। उनले भने हतारमा ल्याइएको बजेट भएपनि मधेस सरकारले टुक्रे योजनालाई पाखा लगाएको र बहुप्रतीक्षित योजनाबाट पर्यटन क्षेत्रमा कायापलट गर्न खोजेको दाबी गरे। भारतीय पर्यटकको लागि अयोध्यादेखि जनकपुरसम्म रेलसेवा भारत सरकारले बनाएपछि भारतीय पर्यटकको सङ्ख्या बढ्ने उनले विश्वास व्यक्त गरे। उनले सोहीअनुरूपको होटल व्यवसाय एवं धार्मिक पर्यटनमा समेत सरोकारवालाहरूले जोड दिनुपर्ने सुझाए।
मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मधेस प्रदेश सरकारले पर्यटनको प्रचुर सम्भावनालाई नबुझेको गुनासो गरे। यस अघिको सरकारले पर्यटनको सम्भावना नबुझेकै कारण तत्कालीन अवस्थामा मन्दिर, मस्जिद र मदर्सा, कब्रगाहलगायतमा मात्रै बजेट खर्चिंदै आएको बताए। उनले जिल्लाका मुख्य पर्यटकीय गन्तव्य पहिचान गर्दै चरणबद्ध योजनाबाट सुरुआत गर्ने र पर्यटकीय गन्तव्यलाई संरक्षण एवं प्रवद्र्धन गर्दै प्रचारप्रसार बढाएर पर्यटक लोभ्याउन कार्य गरिने बताए।
मधेस प्रदेशका पूर्वमन्त्री रहबर अन्सारीले मधेस प्रदेश सरकारले पर्यटकीय हब बनाउन गम्भीर भएर काम गरिरहेको र यसलाई नाटक नौटङ्कीको रूपमा नलिन आग्रह गरे। उनले मधेसको मौलिक खानपिन एवं स्थानीयस्तरमा उत्पादन भएका सामानलाई समेत ग्रहण गर्दै आआफ्नो गाउँठाउँको प्रचारप्रसारमा स्थानीयको भूमिका हुने बताए।
पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहनशर्मा लामिछानेले निजगढ विमानस्थल जबसम्म बन्दैन, तबसम्म जुन किसिमले पर्यटकको अपेक्षा राखिएको छ, त्यो पूरा नहुने ठोकुवा गरे।
ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाट ठोरीलाई रु १० करोड बजेट विनियोजन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने आश्वासन दिएको तर सोबापतको बजेट अहिलेसम्म नदिएको गुनासो गरे।
प्रदेशका पर्यटनमन्त्री भट्टराईको अध्यक्षता भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्री, प्रदेश सांसद श्याम पटेल, बाराको महागढीमाई नपाका प्रमुख उपेन्द्र यादव, रौतहटको मौलापुर नपाकी प्रमुख रीना साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पर्साका सशस्त्र प्रनाउ राधेश्याम धिमाल, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त, पर्यटन विकास कार्यालय, वीरगंजकी प्रमुख रीमा साहलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महतोले गरेकी थिइन्।