असार ११ र १२ गते मङ्गलवार र बुधवार पानी परेपछि किसानहरू निकै खुशी भएका छन्। उनीहरूले अगहनी, भदैया, मन्सुली र दतुरा धान रोप्न बेर्ना तयार गरेको र सोको अवधि लम्बिन थालेको बेलामा पानी परेपछि उनीहरू खुशी भएका हुन्।
बेर्नाको लागि बीउ रोपेको २५ दिनमा उखेलेर रोप्नुपर्छ। तर अहिले केही किसानहरूको २७–२८ दिन पुगिसकेपछि पानी पर्दा उनीहरू खुशी भएका हुन्। हिजो र आज बिहान पानी परेसँगै किसानहरू आली बनाउने, बीउ उखेल्ने र रोप्ने काममा व्यस्त भएका छन्। सुक्खायाममा आली तयार गर्दा भत्किने सम्भावना भएकोले पानी परेपछि किसानहरू आली तयार गर्छन् र सोसँगै बीउ उखेलेर रोपाइँ गर्छन्।
पर्सा जिल्लामा धानको कटानी मेशीनबाट हुने भएपनि रोपाइँ भने ज्याला मजदूरी लगाएर गरिन्छ। मेशीनबाट धान रोपाइँ प्रदर्शनको लागि मात्रै हुने गरेको छ। असार १५ गते यसको प्रदर्शन खासगरी पटेर्वासुगौली र पर्सागढीमा गरिन्छ। तर त्यहाँका किसानहरू मेशीनबाट धान रोपाइँ गर्दैनन्। मेशीनबाट धान रोपाइँ छुट्टै प्रकृतिबाट गर्नुपर्ने हुनाले किसानहरूले झन्झट मानेर मेशीनबाट रोपाइँलाई ग्रFह्यता दिएका छैनन्। अहिले आली बनाउन र बीउ उखेल्न प्रतिमजदूर पाँच/पाँच सय रुपैयाँ दैनिक दिने गरिएको छ। यसैगरी, रोपाइँका लागि प्रतिदिन २५० र खाना तथा नास्ता दिनुपर्ने हुन्छ।
धेरैजसो युवा विदेशिएका हुँदा अहिले ज्याला मजदूरीमा काम गर्नेहरूको अभाव छ। यसैले कतिपय किसानहरूले सट्टाभर्नामा आली काट्ने, बीउ उखेल्ने र रोपाइँमा सहकार्य गर्दै आएका छन्। स्थानीय भाषामा सट्टाभर्ना भन्नाले किसानहरू एकअर्काको खेतमा गएर खेतीमा सहयोग गर्छन्। जसले गर्दा ज्याला मजदूरीहरूको समस्या हुने गरेको छैन। पर्सा जिल्लामा ८० प्रतिशत सोना मन्सुली धान खेती गरिन्छ। चैते धान १४४२ को खेती गरेका किसानहरूले पुनः धानखेती गर्दा दतुरा भनिन्छ।