असार १५ लाई मध्य रोपाइँको प्रतीकको रूपमा लिइन्छ। नेपाल सरकारले यस दिनलाई कृषिको दृष्टिकोणले विशेष महत्व दिएको छ। पहाडी संस्कृतिका यस दिनलाई दही–चिउरा खाने दिनको रूपमा पनि लिइन्छ। अधिकांश घरमा यस दिन दही–चिउरा खाने चलन रहेको छ। मधेसमा पनि दही–चिउरा खाने चलनको विस्तार भइरहेको छ तर साथसाथै दही–चिउराको ठाउँमा आँप र चिउरा खाने चलन बढिरहेको छ। यस दिन धेरै ठाउँमा आँप–चिउरा खाने गरिन्छ। यो कुनै परम्परागत चलन होला भन्ने लाग्दैन। दही–चिउराको ठाउँमा आँप–चिउरा खान थालिएको हो। आँपको पर्याप्तता हुने मौसम भएको, आँपलाई फलहरूको राजा मानिएको तथा मधेसमा आँप सबैलाई प्रिय फल भएकोले दही–चिउराको साटो आँप–चिउरा खाँदा सबैको मन नै हर्षित भएर आउँछ।
अहिले आँपको मौसम छ। जताततै आँप बिक्री भइरहेको देखिन्छ। आँपको व्यापार बढेको मात्र नभई उपभोग पनि बढेको छ। पहिलेको तुलनामा आँपको व्यापारमा वृद्धि भइरहेको छ। हुनत वैशाख महीनादेखि नै बजारमा आँप उपलब्ध हुन्छ। तर त्यो बाहिरबाट आएको हुन्छ। बिस्तारै जेठको दोस्रो हप्तादेखि हाम्रो परिवेशमा उत्पादन गरिएको आँपले बजार लिन थाल्छ र करीब आधा साउनसम्म मज्जाले चल्छ। यसरी करीब दुई महीना अन्य फलफूलको बिक्री कम हुन्छ र सर्वसाधारण मानिसहरू आँपतिर बढी आकर्षित भई आँप नै किन्छन्। हरेक परिवारमा पुग्ने आँप, सर्वसाधारणले करीब हरेक दिन खान खोज्छन्। ताजा हुने भएकोले यसको स्वादले मानिसलाई आफ्नै किसिमले लोभ्याएको हुन्छ। हरेक दिन आँपको जात फेरेर खाँदा पनि हुन्छ। बजारमा अनेक किसिमका आँप पाइन्छन्। साथै गाउँघरका करीब हरेक मानिससित आफ्नै आँपको रूख पनि हुन्छ। कतै बारी वा खेतमा आँपको रूख लगाएका हुन्छन् वा कतिपयको आँपको बगैंचा पनि हुन्छ। विभिन्न जातका रूख लगाउँँदा त्यसैमा एक दुईटा आँपको रूख लगाउनेहरू पनि हुन्छन्। साँच्चिकै तराई–मधेसमा सबैभन्दा प्रिय फलको रूपमा फलहरूको राजा आँपलाई नै लिइएको पाइन्छ।
आँप र असार १५ को पनि सम्बन्ध छ। यसैगरी, आँप रोपाइँको पनि सम्बन्ध रहेको देखिन्छ। असार १५ आइपुगेको छ तर पनि यस वर्ष रोपाइँको लागि ब्याडमा बेर्ना खासै तयार भइसकेको छैन। पानी निकै कम परेको कारण ब्याड सुक्खा हुन गई अपेक्षाकृत बेर्नाको विकास हुन सकेको छैन। यद्यपि कतिपय ठाउँमा मुख्यगरी उत्तरी क्षेत्रमा बेर्ना भने तयार भएको छ र धानको रोपाइँ शुरू भइसकेको छ। र मधेसमा पनि केही जागरूक किसान, जसको हातमा पानी छ र साथमा जाँगर पनि छ,ले गदर जातको धानको बेर्ना करीब तयार गरिसकेका छन्। अब रोप्ने तयारी गरिरहेका छन्। यदि वर्षा भएमा वा नभएमा पनि असार १५ कै सेरोफेरोमा नै रोपाइँको तयारी गर्छन् तर यस वर्ष वर्षाले धोका दिएको यथार्थ हो। यस यथार्थको धरातलमा किसानहरू पीडित छन्। अनि बेर्ना तयार भइसकेको देखिंदैन। बेर्ना तयार नहुँदा असार १५ लाई किसानहरूले रोपाइँ दिवस वा धान दिवसको रूपमा खासै उत्साहपूर्वक मनाउन पाउने अवस्था देखिएको छैन।
यस वर्ष तुलनात्मकरूपमा बढी वर्षा हुने भनिएको छ। विभिन्न मिडियाहरूले वर्षासम्बन्धी भविष्यवाणी गर्ने विभागलाई हवाला दिंदै धेरै पानी पर्ने समाचार प्रसारण गरिसकेका छन्। सामान्य किसानहरूसम्म पनि यो कुरो पुगेको छ। मोबाइल कहिल्यै नचलाउने र अक्षर नचिनेका अति सामान्य किसानहरूले पनि विभिन्न माध्यमबाट यो कुरो थाहा पाइसकेका छन् कि यस वर्ष धेरै वर्षा हुन्छ भन्ने भविष्यवाणी गरिएको छ तर अहिलेसम्मको भोगाइ यही रहेको छ कि खेतमा औसतमा जति पानी पथ्र्यो, यस वर्ष निकै कम परेको छ। ब्याडमा बेर्ना उत्पादनमा यस वर्ष निकै समस्या भइरहेको छ। खेतमा सुक्खा छ, पार्टी पटाउने अर्थात् सिंचाइ गर्ने साधन छैन। कुनै मानिसले गरेको बोरिङबाट पटकपटक पानी पटाउँदा धानखेती निकै महँगो हुन जान्छ। साधारण किसानको हातमा सधैं पैसा हुँदैन, पैसा हुँदा जाँगर हुँदैन। धेरै वर्षा हुन्छ र मनसुन भित्रिइसकेको छ भन्ने सुनेका किसानहरूलाई ब्याडमा धानको बेर्नामा पानी पटाउन अल्छी लाग्ने गरेको छ। प्रकृतिले धोका दिइसकेको अवस्था छ अहिलेसम्म। हुन सक्छ बढी वर्षा भएर बालीनालीलाई बिगार पार्ने गरी प्रकृतिले पछि पनि धोका देओस्। किसानहरू यही सोचेर पनि त्रस्त छन्। अहिले पानी परिरहेको छैन, धेरै पानी पर्ने भनिएको छ, यसको अर्थ बाली लगाइसकेपछि धेरै पानी पर्ला, जसबाट बालीलाई नोक्सान हुन बेर लाग्दैन। बढी वर्षा र बाढीबाट बालीलाई कसरी जोगाउने ? किसानसित कुनै उत्तर छैन। जताबाट पनि किसानलाई नै सताउने सम्भावना रहेको दुःखेसो किसानहरूको छ। अहिले समयमा पानी परेको भए खेतमा रोप्नको लागि बेर्ना तयार भइसकेको हुन्थ्यो तर अपेक्षा गरेजस्तो वर्षा नहुँदा मौसमले धोका दिएको देखिन्छ।
औसतभन्दा केही ढिलो यस वर्ष ब्याडमा बीउ खसालेका छन्, साधारण किसानहरूले। बीउ खसाल्न ढिलो भएको र सुक्खाले बेर्ना तयार पार्न पनि केही ढिलो बनाइदिएको हुनाले यस वर्ष असार १५ मा तुलनात्मकरूपले रोपाइँ कम हुन्छ। अन्य रोपाइँ पनि केही ढिलो नै हुने देखिन्छ। अहिले गदरको रोपाइँ शुरू भइसक्ने बेला हो तर किसानहरूले सुरसार गरेको देखिन्न। सामान्य रोपाइँमा केही ढिलो अवश्य हुने देखिन्छ। यदि वर्षाले साथ दियो भने रोपाइँको समापन बरु समयमा नै हुन सक्छ, यो निश्चित छैन। केही गरी बढी वर्षा भएर बाढी आउने अवस्था आयो भने जहाँ बाढीको मार हुन्छ, त्यहाँको बालीमा असर पुग्छ। यसैगरी, त्यहाँ रोपाइँ पनि ढिलो हुन सक्छ। किसानहरूलाई सबैभन्दा बढी डर पनि रोपाइँ भएपछि आउने बाढीदेखि हुन्छ। रोपाइँ गरेको एक महीनासम्म यदि धेरै दिन डुबाउने गरी बाढी आउँछ भने रोपाइँ खत्तम हुन्छ। त्यति बेलासम्म ब्याडको बेर्ना पनि सिद्धिइसकेको हुन्छ अनि खेत खाली रहने डर हुन्छ। खेतमा बाली नहुँदा किसानहरूलाई निकै पीडा हुन्छ। जतिपटक खेत पुग्छन्, दुःखी भएर फर्किन्छन्। हो, आधा भदौ कटेपछि यदि बाढी आउँछ र एक/दुई दिनसम्म बाढीले धानलाई डुबाउँछ भने पनि किसानहरू ढुक्क हुन्छन् कि खासै क्षति पुग्दैन। पुगे पनि अलिकति क्षतिले खासै केही हुँदैन। तर गदर प्रकृतिको अर्ली भेराइटी धानलाई भने हानि गर्छ। कतिपय गदर धान पाक्ने बेला हुन थालेको हुन्छ र यस्तो समयमा बाढीले डुबाउँदा धान नै बिग्रिने सम्भावना रहेको हुन्छ। किसानलाई सुक्खाले पनि डर र बाढीले पनि डर हुने नै हुन्छ।
किसानलाई रोपाइँमा आत्मनिर्भर बनाउनको लागि खेतखेतमा बिजुली पु–याउनु आवश्यक छ। जहाँ खेतखेतमा बिजुली पुगेको छ, त्यहाँका किसानले आफ्नो खेतलाई कहिल्यै पनि खाली हुन दिइरहेका छैनन्। साधारण खेती पनि तीन बाली गरिरहेका छन्। अहिले धानको रोपाइँको तयारी गरिरहेका किसानहरूले, जहाँ खेतमा बिजुलीको सुविधा उपलब्ध छ, चैते धानले खेत लहलहाउँदो पारेका छन् वा चैते धान भिœयाइरहेका छन्। कतिपयले भिœयाइसकेका पनि छन्। यसरी दुई बाली धान र एक बाली मसुरो वा गहुँ गरी कम्तीमा तीन बाली सजिलै उत्पादन गरिरहेका छन्। यसैले किसानहरूको हकमा सबैभन्दा क्रान्तिकारी कदम भनेको खेतखेतमा बिजुली पु–याउने काम हुन्छ। अहिले बिस्तारै यो काम हुन थालेको छ तर जसरी देशमा बिजुली उत्पादन भइरहेको छ, त्यसको तुलनामा किसानतिर खासै कसैको ध्यान जान सकेको छैन। यदि बिजुलीको पहुँचमा सबै खेत पुग्ने हो भने अहिलेको तुलनामा उत्पादनमा करीब एक तिहाइ वृद्धि हुने सामान्य किसानहरू अनुमान लगाउँँछन्। समयमा बेर्ना तयार हुने तथा समयमा रोपाइँ हुन्छ। हातमा पानी भएपछि अनिश्चितता हुँदैन, यो निकै विचारणीय पक्ष हो।