जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमवार बेलायती जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ।
यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानूनी सङ्घर्षको अन्त्य भएको छ। “जुलियन असान्ज स्वतन्त्र हुनुभएको छ,” विकिलिक्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो। असान्ज संयुक्त राज्य अमेरिकाको सैन्य गोप्यताहरू खुलासा गरेको मुद्दामा जारी सपुर्दगीबाट बच्न पाँच वर्षसम्म बेलायतमा हिरासतमा रहेका थिए।
असान्ज स्थानीय समय अनुसार बुधवार बिहान अमेरिकी भूभागमा उपस्थित हुनेछन्। उनलाई बेलायतको जेलमा पाँच वर्ष र दुई महीना सेवा गरेको श्रेयसहित ६२ महीनाको जेलसजाय हुने अपेक्षा गरिएको छ। यसपश्चात् उनी आफ्नो देश अस्ट्रेलिया फर्कन सक्नेछन्।
सन् २०१० देखि वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौं गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वाशिङ्टनले ५२ वर्षका प्रकाशकलाई खोजिरहेको थियो।
अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएका युद्धको बारेमा सैन्य गोप्यताहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो।
असान्जलाई सन् २०१९ मा अमेरिकी सङ्घीय ग्रान्ड ज्युरीले विकिलिक्सले राष्ट्रिय सुरक्षा कागजातको प्रकाशनबाट उत्पन्न भएको १८ वटा अभियोगमा दोषी ठहर गरेको थियो।
असान्जको परिवारले उनको स्वतन्त्रताका लागि गहिरो कृतज्ञता व्यक्त गरेका छन्। उनकी पत्नी स्टेलाले अभियानकर्ताहरूलाई धन्यवाद दिंदै सामाजिक सञ्जाल एक्समा “शब्दहरूले हाम्रो अपार कृतज्ञता व्यक्त गर्न सक्दिनँ” भनी लेखेकी छन्।
असान्ज संयुक्त राज्य अमेरिकामा सपुर्दगी गर्ने निर्णयलाई अनुमोदन गर्ने फैसलालाई अपील गर्न बेलायतको अदालतमा उपस्थित हुनु दुई हप्ता अघि सम्झौताको घोषणा भएको हो।
असान्ज सन् २०१९ को अप्रिलदेखि लन्डनको उच्च सुरक्षा रहेको बेलमार्श जेलमा थिए। उनले सन् २००७ मा इराकमा अमेरिकी हेलिकप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रसारण गरेका थिए। संयुक्त राज्य अमेरिकाले असान्जलाई सन् १९१७ को जासुसी ऐन अन्तर्गत आरोप लगाएको हो।
बेलायती सरकारले जून २०२२ मा अमेरिकी सपुर्दगीलाई स्वीकृति दिएको हो। उनले संयुक्त राज्य अमेरिकामा आफ्नो सपुर्दगीविरुद्ध अपील गर्न सक्ने दुईजना बेलायती न्यायाधीशले बताएका थिए।
अमेरिकामा मुद्दा चलिरहेको विदेशीको रूपमा उनले अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गर्न सक्ने वा नसक्ने प्रश्नलाई सम्बोधन गर्न अपील गरिएको थियो।
राष्ट्रपति जो बाइडेनलाई असान्जविरुद्ध लामो समयदेखि चलिरहेको मुद्दा खारेज गर्ने बढ्दो दबाबका बीच भएको यो अनुरोध सम्झौता पूर्णरूपमा अप्रत्याशित थिएन।
असान्ज नजरबन्द मुक्तिको राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घले मङ्गलवार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चितरूपमा समाधान गर्ने महत्वपूर्ण कदम” भनी प्रशंसा गरेको छ।
असान्जले संयुक्त राज्यका अधिकारीहरूसँग निवेदन सम्झौतामा पुगेपछि अन्तिम अदालतको सुनुवाइको सामना गर्न तयार थिए, नजरबन्द मुक्तिले उनको वर्षाैं लामो काराबास जीवनको अन्त्य भएको छ।
बेलायतमा नजरबन्दबाट जुलियन असान्जको रिहाइलाई स्वागत गरेको बताउँदै संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले अन्तिम निवेदन सम्झौता अझै स्वीकृतिको प्रतीक्षामा रहेको जनाएकी छन्।
आफूहरूले बारम्बार यो विषय उल्लेख गरिसकेको जनाउँदै उनले यो मुद्दाले लामो समयदेखि मानव अधिकारको चिन्ताको शृङ्खला खडा गरेको बताइन्। रासस