मधेस प्रदेशसभा सदस्य शङ्कर चौधरीले जस्तो शिक्षा दिन्छौं, त्यस्तै भोगाइ भोग्नुपर्छ भन्दै ज्येष्ठ नागरिकप्रतिको व्यवहारमा सुधार नआउनुको प्रमुख कारण भएको बताए।
ज्येष्ठ नागरिक सङ्घ मधेस प्रदेशले शनिवार वीरगंजमा आयोजना गरेको ज्येष्ठ नागरिक हकअधिकारसम्बन्धी सरोकारवालासँग छलफल कार्यक्रममा प्रदेशसभा सदस्य चौधरीले आफ्ना सन्ततिहरूलाई राम्रो संस्कार दिने हो भने आगामी दिनमा ज्येष्ठ नागरिकहरूप्रति श्रद्धा, सद्भाव बढ्ने बताए। उनले अमेरिकामा विद्यालयस्तरबाट ज्येष्ठ नागरिकहरूप्रति गर्नुपर्ने श्रद्धाभावबारेमा जानकारी गराउने, अध्ययनको क्रममा उनीहरूसँग प्रत्यक्ष साक्षात्कार गराउने जस्ता कार्यहरू गरिंदै आएको र त्यस प्रकारको शिक्षा विधि नेपालमा पनि गरेको खण्डमा ज्येष्ठ नागरिकहरूप्रति आउने सन्ततिको सोच परिवर्तन गर्न सकिने बताए।
उनले प्रदेश सरकार प्रणालीमा नचलेको आरोप लगाए। प्रदेश सरकार प्रणालीमा नचलेको पीडा ज्येष्ठ नागरिकहरूले पनि भोग्दै आएको बताए। उनले संस्था दर्ता नहुनु त्यसको उदाहरण रहेको बताए। उनले सङ्घ र स्थानीय सरकारलाई अधिकार दिइएको छ तर प्रदेश सरकारलाई अधिकारविहीन पारिएको दोषारोपण लगाए।
कार्यक्रमका अध्यक्ष जगदीशप्रसाद शर्माले सरकारले गरेको स्वास्थ्य बीमाको बिजोग भएको बताए। उनले अस्पतालमा पाउने औषधि चिकित्सकले लेखिदिंदैनन् र बाहिरबाट खरीद गर्दा बीमाले भुक्तानी दिंदैन, यसरी सेवाग्राही दोधारमा परेको बताए। उनले अधिकांश ज्येष्ठ नागरिक परिवारबाट हुने हिंसाका शिकार भएको बताए। उनले परिवारका सदस्यहरूले जतिसुकै दुःख दिए पनि अभिभावकत्वको भूमिकामा ज्येष्ठ नागरिकहरू बसिरहेको र परिवारको इज्जत बचाउँदै आएको बताए। छोराछोरीबाट हुने हिंसाका बावजूद उनीहरू प्रहरी, प्रशासन, अड्डा अदालतको चक्कर काटेर दुःख नपाऊन् भनी धेरै ज्येष्ठ नागरिक गुपचुप बस्दै आएको बताए। उनले ज्येष्ठ नागरिकहरूलाई हिम्मतका साथ समयको सामना गर्नुपर्ने सुझाए। म सक्छु भन्ने आत्मविश्वासका साथ काम गर्ने हो भने सबै कुरामा सफलता प्राप्त हुन सक्ने उनले बताए।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घ नारायणी, वीरगंजका अध्यक्ष डा मनोज गुप्ताले आफूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार निश्शुल्क गर्ने बताए। यसैगरी, उनले सरकारी अस्पतालका साथै ज्येष्ठ नागरिकमैत्री बनाउन निजी अस्पतालहरूसँग पनि सहकार्य गर्ने बताए।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारीले सञ्चारमाध्यमबाट ज्येष्ठ नागरिकहरूको हकअधिकार सुनिश्चित गर्ने काम भइरहेको र आगामी दिनमा पनि यो विषयको उठान निरन्तर हुने बताए।
स्थानीय समाजसेवी नेजामुद्दीन समानी र प्रकाश उपाध्यायले समाजलाई ज्येष्ठ नागरिकमैत्री बनाउन भूमिका खेल्ने बताए।
वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले घरका ज्येष्ठ नागरिकहरूले संस्कार सिकाउनुपर्ने बताए। उनले घरसँगै टोलका गतिविधिहरूमा पनि निगरानी बढाउने हो भने युवाहरू कुलतको शिकार नहुने बताए। घरमा देखाएको अभिभावकत्व, टोल, समाज र देशमा देखाउने हो भने सन्ततिले प्रगति गर्ने बताए।
नेता दिलीपराज कार्कीले घरका ज्येष्ठ नागरिकसँग हुलमिल गर्ने तर बाहिरका ज्येष्ठ नागरिकप्रति भय, द्वेष र घृणाका साथ हेर्ने बालबालिका र युवाहरूको सोचमा परिवर्तन ल्याउन ज्येष्ठ नागरिकहरूले उनीहरूसँग कार्यक्रमको माध्यमबाट हिमचिम बढाउनुपर्ने सुझाव दिए। कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष श्याम पोखरेल, बाराका भरतबहादुर मल्ल, रौतहटका विजयकिशोर झा, सर्लाहीका डा अब्दुल रहिम मिकरानी, धनुषाका शुभचन्द्रलाल कर्ण, सप्तरीका रामनरेश सिंहले ज्येष्ठ नागरिकका हकमा सरकारले धेरै कानूनी अधिकार प्रदान गरेको तर त्यसको कार्यान्वयन भने नगरेको आरोप लगाए। उनीहरूले ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि निश्शुल्क स्वास्थ्य बीमाको व्यवस्था गरे पनि अस्पतालमा औषधिलगायतका सेवाहरू नपाउने गरेको गुनासो पोखे।
सार्वजनिक बस सेवामा राजधानी काठमाडौंमा ज्येष्ठ नागरिकलाई टिकटमा छुछ दिए पनि मधेस प्रदेशमा त्यस्तो कुनै पनि बसले छुटको व्यवस्था नगरेको बताए। उनीहरूले सरकारबाट पीडित ज्येष्ठ नागरिकहरूले आफ्नो हकअधिकारको लागि सडकमा आउनुपर्ने बाध्यकारी अवस्था सिर्जना गराएको बताए। अहिलेको उमेर समूहमा खासगरी स्वास्थ्यप्रति सरकार गम्भीर हुनुपर्ने उनीहरूको सुझाव थियो। उनीहरूले स्थानीय तहको सरकार गठनपछि ज्येष्ठ नागरिकप्रतिको सेवाभावमा निकै –हास आएको आरोप लगाए। कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष श्याम पोखरेलले स्वागत गरेका थिए भने सहजीकरण सचिव विनयराज गौतमले गरेका थिए।