गर्मीको समयमा शहर लगातार तातो हँुदै जाँदा शनिवार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो।
गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ।
बढ्दो तापक्रमको बीचमा यी दृश्यहरू यो वर्षको गर्मी मौसम शुरू भएदेखि नै राजधानी क्षेत्रमा दैनिकको घटना बनेका छन्।
यसैबीच पानी सङ्कटमा राजनीतिक खिचातानीबीचमा दिल्लीकी जलमन्त्री आतिशी शुक्रवार हरियाणा सरकारले दिल्लीको लागि पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हडतालमा बसेकी छन्।
यसैबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताइन्।
उनले भनिन्, “केजरीवाल टिभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफूलाई दुःख लागेको भावना सम्प्रेषण गर्नुभयो।” केजरीवालले आतिशीको तपस्या सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशासहित अतिशीलाई शुभकामना दिनुभयो। यद्यपि भारतीय जनता पार्टीले भने पानी सङ्कटलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ।
भाजपाकी सांसद बाँसुरी स्वराजले आप सरकारले “भ्रष्टाचारलाई प्रोत्साहित गर्न” सङ्कटलाई योजनाबद्ध गरेको आरोप लगाइन्।
पानीको सङ्कट प्राकृतिक सङ्कट नभई केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको बाँसुरी स्वराजले उल्लेख गरिन्।
उनले शहर सुक्खा भई दिल्ली असहज अवस्थामा हुँदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनशनको धम्की दिइरहेको बताइन्। रासस