नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षत्रीले बिहीवार प्रेस विज्ञप्तिमार्फत आफ्नो अभिव्यक्तिबाट कुनै व्यक्ति समुदायलाई चोट पुगेको भए क्षमा मागेका छन्।
उनले गत जेठ १९ गते जिल्ला कार्यसमितिको बैठकमा आफूले कसैको भावनामा आघात पर्नेगरी अभिव्यक्ति नदिएको भन्दै आफूले दिएको अभिव्यक्तिबाट कसैलाई चोट पुगेको भए क्षमाप्रार्थी छु, विज्ञप्तिमा भनेका छन्।
नेकाले जात, लिङ्ग, भाषा, रङ्ग, समुदायको सम्मान गर्दै आइरहेको र आफूले पनि पार्टीको नीति अङ्गीकार गरेको भन्दै आफ्नो मनसाय कसैलाई आघात पुगोस् भन्ने नरहेको तर पनि यसबाट कसैलाई आघात पुगेको भए म क्षमाप्रार्थी छु, उनले भने। सभापति क्षत्रीको अभिव्यक्तिबाट थारू समुदाय रिसाएको थियो र उनीहरूले सभापतिले माफी माग्नुपर्ने कुरा उठान गरेपछि सभापति क्षत्रीले आज विज्ञप्तिमार्फत क्षमा मागका हुन्।