काठमाडौं, ६ असार/रासस

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीवार स्वदेश फर्किएका छन्। अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकामा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो। नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो।

विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’मा परेको थियो। नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए। नेपालले अमेरिकामा दुई खेल र वेस्ट इन्डिजमा समान दुई खेल खेलको थियो। अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो।

त्यस्तै, श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका थिए। त्यसपछि वेस्ट इन्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो। त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो।

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएका थिए। त्यस्तै, दक्षिण अफ्रिका र बङ्गलादेश भने सुपर आठमा पुगे। दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहँदै सुपर आठमा पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here