-श्रीमन्नारायण

संयुक्त राष्ट्रसङ्घले २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेको एक दशक हुन लागेको छ। निश्शुल्क अथवा न्यून खर्चमा शरीरभित्र रहेका अनेकौं रोगको उपचार यसबाट सहजरूपमा सम्भव भएकोले पनि यसप्रति विश्वव्यापी आकर्षण बढेको छ। सनातन धर्म, संस्कृति एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ। जसमा योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोग, परोपकारको भावना, विश्व बन्धुत्व तथा स्वधर्म, समभाव हुन्। नेपाल एवं भारतलगायत विश्वका सयौं देशमा आज योग दिवस मनाइँदैछ। यो हाम्रो धर्म, संस्कृति

एवं मान्यताको बढ्दो स्वीकार्यता पनि हो। योग हाम्रो विरासत हो। नेपाल एवं भारत दुर्ई छुट्टाछुट्टै स्वतन्त्र अस्तित्वको देश भएपनि हिन्दू धर्म–संस्कृति, पुराण, वेद, उपनिषद्, देवीदेवता, तीर्थस्थल, महान् ऋषिमुनि र महापुरुषहरू हाम्रा निम्ति एक समान पूजनीय एवं प्रातः स्मरणीय रहिआएका छन्। योगको बारेमा पनि विश्वजगत्लाई अवगत गराउने काम विगतमा पनि नभएको होइन तर त्यो सा–है सीमित थियो।

पतञ्जलि (ईसापूर्व १८४–१८५)ले योगसूत्र लेखेका थिए। तर योग पतञ्जलिभन्दा पनि प्राचीन हो। मनुष्य एवं ब्रह्माण्डको एकात्मक दर्शनको यो विज्ञान भारतवर्षबाट नै शुरू भएको हो। विश्वका अनेकौं देशले यसलाई अँगाल्ने काम गरे तथा यसलाई योगको ठाउँमा योगा भन्न थाले। सन् १९६०–७० को दशकमा पनि योगबाट हुने फाइदालाई विश्वको कुनाकुनासम्म पु–याउने र सम्झाउने कार्य प्रख्यात योगगुरु परमहंस योगानन्द स्वामी कुवलयानन्द, महर्षि महेश योगी तथा विके आचार्यले गरे। विगत केही दशकदेखि योगगुरु रामदेव तथा उनका नेपाली सहयोगी आचार्य बालकृष्णले यस क्षेत्रमा गरेका कार्य ऐतिहासिक, उल्लेखनीय र प्रशंसनीय छन्। नयाँ पुस्ता योगको नाम सुन्ने बित्तिकै उपरोक्त दुईजनाको अनुहार स्मरण गर्छन्। आफ्नो जमानामा सर्वाधिक लोकप्रिय गितारवादक जर्ज हैरिसनले आफूलाई भारतीय यौगिक क्रियाहरूबाट निकै लाभ पुगेको बताएर पूरै पश्चिमीजगत्लाई चकित पारेका थिए। प्रतिष्ठित पत्रिका टाइमले सन् २००४ मा प्रकाशित गरेको विश्वका सर्वाधिक सय प्रभावकारी व्यक्तिहरूमा योगाचार्य विकेश आर्यघरको नाम पनि राखेको थियो। योगको बारेमा योगदान त सबैको रहेको छ तर यसलाई विश्वव्यापी मान्यता दिलाउने कार्य भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मात्रै गरेका हुन्। उनले नै योगलाई विश्वव्यापी मान्यता दिलाउने अभियानलाई सशक्त एवं प्रभावकारीरूपमा सञ्चालन गरेका र सफलता दिलाएका हुन्। संयुक्त राष्ट्रसङ्घमा योगको बारेमा विश्वजगत्लाई राम्ररी सम्झाउने कार्य उनले नै गरेका थिए र उनको यसै प्रयासको फलस्वरूप संयुक्त राष्ट्रसङ्घले २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा ग–यो।

योगका सूत्रहरूमा आस्था एवं अन्धविश्वासको निम्ति ठाउँ छैन। यो पनि गणित र विज्ञान जस्तै प्रयोगमा आधारित हो। प्रयोगबाट विश्वास गर्न सकिन्छ। दर्शन र विज्ञान सङ्कीर्ण हुन सक्दैन। यो परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो। अस्तित्व असीमित र अनन्त छन्, हामी सबै एकाइ मात्र हौं। जबकि अस्तित्व सम्पूर्ण हो। एकाइ हुनु दुःख हो भने अनन्त हुनु आनन्द हो। योग एकाइमा आनन्दको अनुभूति हुने गर्छ। योगको सोझो अर्थ हो जोड्नु। पतञ्जलिले योगसूत्र लेखेका थिए तर योग पतञ्जलिभन्दा पनि प्राचीन हो। योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महत्व पनि बढेको छ। मिमांसा, न्याय, वैशेषिक, साङ्ख्य, वेदान्त एवं भारतवर्षका साथ प्राचीन दर्शन हुन्। बुद्ध र जैन दर्शनको थालनी पनि यहीबाट भएको हो तर साङ्ख्य एवं योग प्राचीन दर्शन हो। स्वस्थ शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो। सायद त्यही भएर होला हाम्रा वैदिक ऋषिमुनिहरू सय वर्षसम्म बाँच्ने अभिलाषा गर्थे।

योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम बिन्दुसम्म पु–याउनु हो। यसको निम्ति योगले दिशा तथा जोड्नुको सिद्धान्तलाई सँगसँगै लिएर हिंड्ने गर्छ। योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनवटालाई कुनै एउटा निश्चित बिन्दुसम्म एकजुट गर्ने प्रक्रिया पनि हो। ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्लाबेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीनवटैलाई प्राप्त भइरहेको हुन्छ। योगमा मनलाई प्राण (श्वास)सित सामञ्जस्य स्थापित गरिन्छ। यसको परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिकरूपमा बढी प्रबल हुन जान्छ, अपितु तिनको शारीरिक स्वास्थ्यमा पनि वृद्धि हुने गर्छ। जब व्यक्ति यी तीनवटैमा नियन्त्रण स्थापित गरी यीमध्ये कुनै पनि काममा आफूलाई लगाउने गर्छ, अनि कार्यको गुणस्तर तथा सङ्ख्याको दृष्टिमा पनि कैयौं गुणा वृद्धि हुन जान्छ। यो नै सूर्यको ऊर्जा एवं योगको पद्धतिसँगको सम्बन्ध पनि हो।

सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षय स्रोत मानिन्छ। पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ। हामी आफ्नो योगको पद्धति एवं त्यसको परिणामलाई सोझोरूपमा ऊर्जासँग जोडेर हेर्ने गर्छाैं। योगको अर्थ नै हुन्छ, जोड्नु। ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो, कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु। जसमा जतिजति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ, त्यो त्यति नै क्षमतावान् पनि कहलिन्छ। ऊर्जामा वृद्धिका निम्ति मात्रै जोडिनु नै पर्याप्त होइन। त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्छ। एकापसमा जोडिनेहरूको दिशा पनि एउटै हुनुपर्छ। २१ जूनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्छ। सम्भवतः यिनै कारणले होला यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषित गरिएको हुनुपर्छ।

वर्तमान अवस्थामा यौगिक विज्ञान जति महत्वपूर्ण साबित भइरहेको छ, यसभन्दा पहिले यो कहिले यति बढी महत्वपूर्ण थिएन। वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधनहरू उपलब्ध छन्, तिनीहरूले विश्वको निर्माण एवं विनाश दुवै गरिरहेका छन्। यस्तोमा यो निकै महत्वपूर्ण हुन जान्छ कि हामी जीवनप्रति जागरूकता एवं यस्तो भाव काममा रहोस् ताकि हामी प्रत्येक प्राणीमा आफ्नो शरीरको अंश भएको अनुभूति गर्न सकौं। अन्यथा आफ्नो सुख एवं भलाइको निम्ति त्यसको पछिपछि दगुर्दै आफ्नो जीवनलाई हामी सखाप मात्र गर्न सक्नेछौं।

विश्वका अनेकौं देश तथा विश्वविद्यालयहरूमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक स्वास्थ्य र मानसिक तनावबाट बचाउ गर्नुका साथै मानसिक शान्ति प्रदान गर्नमा पनि सक्षम छ। विश्वप्रसिद्ध अमेरिकी बोस्टन विश्वविद्यालयको स्कूल अफ मेडिसिनद्वारा मे २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटनापश्चात् सामान्य हुन तनावमुक्त योग निकै प्रभावशाली साबित हुने गर्छ। किनभने योगले मानव शरीरको ‘सेन्ट्रल नर्भस सिस्टम’को आधार मानिएको तन्त्रिकालाई प्रचुर मात्रामा ऊर्जा प्रदान गर्छ। त्यसैगरी, हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्यजन्य रोगको समाधानमा सर्वाधिक सक्षम मानेको छ।

योगले एक किसिमले पश्चिमेली मानसिकताबाट प्रभावित तथाकथित आधुनिक सोचको तीन आयामलाई पनि बदलिदिन्छ जस्तो कि पश्चिमेलीहरूको विचारमा शारीरिक समस्याको समाधान बाहिरबाट हुन्छ भन्ने मान्यता छ। जबकि योगले के सिकाउँछ भने यसको समाधान मुख्यतः शरीरभित्रबाट हुन्छ। हामी सङ्घर्ष गरेर मात्रै सुख–शान्ति हासिल गर्न सक्छौं तर योग अनुसार प्रकृतिसँग तादात्मय स्थापित गरेर पनि हामी सुख एवं शान्ति प्राप्त गर्न सक्छौं। स्वस्थ रहन रोगको उपचार गर्नुपर्ने मान्यताविपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोग लाग्नबाट नै धेरै हदसम्म रोक्न सकिन्छ। एक किसिमले यो एउटा यस्तो माध्यम हो, जसमा धन खर्च नै नगरी व्यक्तिलाई स्वस्थ बनाउन सकिन्छ। योग हाम्रो समाजमा निर्धन वर्गको निम्ति वरदान साबित हुन सक्छ। नेपालका लाखौं युवा वैदेशिक रोजगारमा विदेश गइरहेका छन्। पढेलेखेका युवा बेरोजगार भएर बाँच्न बाध्य छन्। योगको प्रशिक्षण प्राप्त गरेर सयकडौं, हजारौं नेपाली युवा विदेशमा योग प्रशिक्षकको रूपमा काम गरी मानसम्मान र दाम पनि कमाउन सक्छन्। विश्वका अनेकौं देशहरूमा योगप्रति आकर्षण बढिरहेको छ। हाम्रा युवाहरूले यस अवसरबाट लाभ उठाउन सक्छन्। स्वास्थ्य संरक्षक योगलाई हामी सबैले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ। योगलाई आफ्नो दिनचर्यामा सामेल गराउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here