-सञ्जय साह मित्र

शरणार्थी धेरथोर विश्वकै समस्या हो। केही वर्ष पहिलेसम्म नेपालमा पनि भूटानी शरणार्थी ठूलै सङ्ख्यामा रहेका थिए। भूटानी शरणार्थी समस्या पूर्णरूपमा समाधान भइसकेको छ भन्ने होइन, तर एउटा काण्डपछि भने केही हदसम्म भूटानी शरणार्थीको समाचार ओझेलमा परेको छ। छिमेकी भारतमा विभिन्न देशबाट हिन्दू शरणार्थी आउने गरेको सुनिन्छ। त्यहाँ हिन्दू शरणार्थीलाई ससम्मान नागरिकता दिने कानून नै बनाइएको छ। अमेरिकामा विभिन्न देशबाट शरणार्थी बनेर मानिसहरू जाने गरेको सुनिन्छ। यस्तै अन्य देशमा पनि कुनै माध्यमले पुगेका शरणार्थीलाई त्यहाँको नागरिकता प्रदान गरिन्छ वा अन्य सुविधा प्रदान गरेर राखिन्छ। शरणार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अन्तर्राष्टिूय कानून नै छ। संयुक्त राष्ट्रसङ्घ अन्तर्गत एउटा शक्तिशाली आयोग नै छ। शरणार्थी समस्यालाई विश्वले नै गम्भीररूपमा लिने गरेको छ।

शरणार्थी समस्या दुई किसिमको हुन्छ, आन्तरिक र बाह्य। देशभित्रै विभिन्न कारणले एक ठाउँबाट अर्को ठाउँ शरण लिन पुग्ने आन्तरिक शरणार्थी हुन्। मुख्यरूपमा कुनै किसिमको द्वन्द्वले आन्तरिक शरणार्थी बढाएको हुन्छ। अनि कुनै पनि कारणले देशमा बस्न सक्ने परिस्थिति रहँदैन, तब देश छोडेर अन्य कुनै देशमा जाँदा बाह्य शरणार्थी कहलाउँछ। बाह्य शरणार्थी मुख्यगरी छिमेकी देशमा जान्छन्। तर छिमेकी देशले बास बस्न दिएन भने पलायन हुनुपर्छ। पलायन भएर कहाँ पुग्नुपर्ने हो, त्यसको कुनै ठेकान हुँदैन। यस प्रकारको शरणार्थी समस्यामा अन्तर्राष्ट्रिय निकायको पनि चासो रहन्छ। जब कुनै देशभित्र आन्तरिक समस्या शुरू हुन्छ र शरणार्थी बन्ने अवस्था आउँछ तब अन्तर्राष्ट्रिय निकाय चासो लिएर सक्रिय हुन्छ। मानिसको जीउज्यान सबैभन्दा महत्वपूर्ण हुने भएकोले कुनै देश, जहाँ तत्कालको लागि सुरक्षित मानिन्छ, बसोवासको व्यवस्था र व्यवस्थापन गरिन्छ। पछि, अवस्था वा परिस्थिति अनुसार जे हुन्छ, हुन्छ। तर तत्काल त्यस्ता व्यक्तिलाई शरण दिने वा दिलाउने काम गरिएको हुन्छ, गराइएको हुन्छ। आन्तरिक वा बाह्य जुन शरणार्थी भए पनि, यदि साँच्चीकै शरणार्थी हो भने उसको जीवन अन्य सामान्य मानिसको जस्तो हुँदैन।

नियोजित वा निर्माण गरिएका शरणार्थी पनि हुन्छन्। यस किसिमको शरणार्थी भनेको सामान्यतया सबै किसिमको अवस्था ठीक हुँदा पनि यदि कतै शरणार्थी बनेर जाँदा, वर्तमानभन्दा राम्रो अवस्था हुने कल्पना वा विश्वासको आधारमा आफूलाई शरणार्थी बनाउन पहल गर्दछन्। शरणार्थी बनेर कुनै देश, अझ आफूले चाहेको देशमा जान चाहन्छन्। अन्य उपायले जान नसक्दा, शरणार्थी बनेर पनि जान तयार हुने तथा कतिपय अवस्थामा सफल भएको पनि पाइन्छ। विभिन्न देशबाट जहाज चढेर निकै कठिन यात्रा गरी, जीवनलाई नै जोखिममा पारेर कतिपय मानिस आफूले चाहेको देश पुग्छन्। यस किसिमका कृत्रिम शरणार्थी पनि विश्वको कतिपय देशमा पाइन्छन्। वास्तवमा यस किसिमको शरणार्थीलाई स्वैच्छिक शरणार्थी पनि भन्न सकिन्छ। यस प्रकारको शरणार्थी समस्याको प्रकृति फरक हुन्छ। आप्mनो देशमा कुनै समस्या प्रायः हुँदैन शरणार्थी बनेर पुगेको देशमा भने समस्या उत्पन्न हुने हुन्छ। त्यहाँ बसोवासदेखि समाजमा समायोजन हुन अन्य समस्याहरू हुन्छन्।

संसारभर अहिले पनि आन्तरिक र बाह्य गरी करोडौं शरणार्थी छन्। इजरायल र हमासको युद्ध प्रारम्भ हुँदा एकैपटक लाखौं मानिस शरणार्थी बनेको समाचार आएको थियो। युक्रेन र रूस युद्ध शुरू हुँदा पनि शरणार्थीको समस्या देखिएको थियो। अन्य देशमा पनि आन्तरिक कारणले केही समस्या हुने गरेको छ। आप्mनो जीवनलाई सजिलो बनाउन वा विभिन्न लोभमा परेर पनि शरणार्थी बनी अन्यत्र जाने प्रवृत्ति नहुने होइन। यसले गर्दा एशियामा, एशियाबाहिर पनि शरणार्थीको बाक्लो समस्या र उपस्थिति छ। कतिपय मानिस जानीजानी आफ्नो समूह मिल्ने ठाउँमा शरणार्थी बन्न पुग्छन् र त्यहाँ आफूलाई सुरक्षित महसूस गर्दछन्। आफू सुरक्षित  हुने र सन्तानको भविष्य पनि सुरक्षित पार्ने चाहनामा हरेक वर्ष लाखौं अभिभावक स्वैच्छिक शरणार्थी बन्दछन्। यस प्रकारको शरणार्थी समस्या विश्वको लागि चिन्ताको विषय बनेको छ। कसरी हुन्छ, आप्mनै थातथलोमा बसोवाससहित सन्तानको सुन्दर भविष्यको आशा गर्न सकिन्छ भन्ने विषयमा समाजले नै बढी विचार गर्नुपर्ने रहेछ।

शरणार्थी समस्या एक किसिमको वैश्विक समस्या हो तर मनोविज्ञान नै शरणार्थी बन्ने हुनु अर्को समस्या हो। भूटानी शरणार्थी शिविरमा, केही दशक पहिले, भूटानीहरूमा कुनै पनि हालतमा आफ्नो घर फर्किन पाए हुन्थ्यो भन्ने थियो। शरीर झापामा तर मन, मस्तिष्क तथा अन्य दृष्टिकोणले आफूलाई भूटानमा रहेको बताउँथे। आफ्नो इतिहास त्यहीं रहेको र भविष्य पनि त्यहीं हुने बताउँथे। यसरी शरीर शरणार्थी तर मनोविज्ञान भने शरणार्थी नभएको अवस्था देखिन्थ्यो, जतिखेर उपाय लाग्छ आप्mनो थातथलो पुग्ने उत्सुकता देखिन्थ्यो। थातथलोप्रति गजबको आकर्षण थियो र यसको विपरीत यदि कोही आफ्नो देशमा रहेर, आफ्नो थातथलो छोडेर, कुनै पनि उपायले आपूmले चाहेको कुनै देश जान पाए हुन्थ्यो भन्ने सोच भएका मानिसलाई मनोवैज्ञानिक शरणार्थी भन्नुपर्ने हुन्छ। यस प्रकार मनोविज्ञानगत शरणार्थीहरूले आफ्नो थातथलोमा खासै केही  गर्नु वा नगर्नुभन्दा धेरै बढी परदेशमा प्रगति गर्न सकिने, परदेशमा प्रगति भइरहेको, आपूmसँगैको साथी परदेशमा पुगेर प्रगति गरेको, फलानोले जाने तारतम्य मिलाइसकेको, आपूm पनि मिलाउने चिन्तनमा बढी रहन्छन्। आप्mनो गाउँठाउँमा केही गरिरहेको र अरूको नजरमा राम्रै भए पनि अझ राम्रो गर्न सकिने अवस्था परदेश नै हो जस्तो लागेको हुन्छ त्यस्तालाई।

शरणार्थी मनोविज्ञान भएका मानिस जुनसुकै उमेरका पनि हुन सक्छन्। कोही पढ्दापढ्दै, विद्यालय उमेरमा, परदेशको पढाइको सपना बुनिरहेका हुन्छन् र अभिभावकलाई पनि सोही अनुसार भनिरहेका हुन्छन्। कोही पढाइ छाडेर कामको खोजीमा विदेश जाने कल्पना गरिरहेका हुन्छन्। आजभोलि विद्यालय उमेरका आधा जति बालबालिकालाई विदेश जाने हुटहुटी लागेको हुन्छ। कामको खोजीमा, पढाइको लागि र मिल्ने हो भने सधैं बसोवासका लागि पनि विदेश मन पराउनेको सङ्ख्या अझ बढी हुनुपर्छ। व्यक्ति–मनोविज्ञानबाट बिस्तारै समाज–मनोविज्ञानको तहसम्म विदेश पलायन गर्ने मनोविज्ञान बनिसकेको छ। उमेरको दृष्टिकोणले, सामान्यतया ज्येष्ठ नागरिकहरू परदेश बसोवासका लागि आफूलाई अनुकूल नहुने बताउँछन्। मौका मिले पनि धेरै फर्केर स्वदेश आएका छन्। शरीरले अशक्त हुँदा पनि घरमा एक्लै बस्ने तर परदेशमा बस्न नरुचाउने दृढ मनोविज्ञान भएका ज्येष्ठ नागरिकहरू पनि छन्। घरमा कोही नहुँदा, नितान्त एक्लै बस्नुपर्दा पनि, आप्mनो थातथलो छोड्न नचाहने मानिस पनि छन्। अर्कोतिर घरमैं बस्न चाहने तर पारिवारिक र अन्य परिवेश नमिलेर घरका अन्य सदस्यसित परदेशमा बाध्यात्मक अवस्थामा बस्नुपरेका मानिस पनि छन्। परदेशमा सुख र सुविधायुक्त, अत्यन्त सम्मानित जीवन व्यतीत गरिरहेका दुई सन्तानका पिता, जो स्वदेशमैं बस्छन्, तिनको विचार सुन्दा अचम्म लाग्छ। उनी भन्छन्–आफ्नो देशमा शरणार्थीकै दर्जामा बस्नु परे पनि जाती।

प्राकृतिक तथा राजनैतिक वा अन्य कारणले शरणार्थी बनेकाहरूप्रति तटस्थ नागरिकको छुट्टै सहानुभूति र सम्मान हुन्छ। जो स्वेच्छा वा मनोविज्ञानले शरणार्थी बनेका छन् वा बन्न चाहन्छन्, तिनीहरूप्रति तटस्थ समाजको फरक दृष्टिकोण हुन्छ। जहाँका धेरै मानिस मनोवैज्ञानिकरूपले शरणार्थी हुन्छन्, त्यहाँ काम गर्नेभन्दा कुरा गर्नेको गुणस्तर राम्रो हुन्छ। तथ्यभन्दा तर्कमा रमाउनेहरू बढी खुशी देखिन्छन्। अनि जहाँ तर्क र गफमा रमाउँदा आनन्द आउँछ र गफ तथा तर्क गर्नेहरू आप्mनो काममा अब्बल हुँदैनन् भने त्यहाँको समाजमा पलायनवादी सोच हावी हुँदै जान्छ जसलाई रोक्नु जरुरी हुन्छ। वर्तमान परिवेशमा, हाम्रो देशमा शरणार्थी समस्या उपर्युक्त ढङ्गको छ भन्ने तथ्य सार्वजनिक भइरहेको छैन तर धेरै मानिसको मनोविज्ञान अझै पनि जुनसुकै हालतमा विदेश पलायन हुन पाए हुन्छ भन्ने खालको रहेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here