१० वर्ष अघि बङ्गलादेशमा भएको सन् २०१४ को आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दुर्ई खेलमा जीत हासिल गरेको नेपाल यसपटक अमेरिका र वेस्ट इन्डिजमा आयोजित सन् २०२४ को आइसिसी टी–२० क्रिकेटबाट भने जीतविहीन बाहिरिएको छ। पहिलो आइसिसी टी–२० विश्वकपमा बङ्गलादेशमा सहभागी नेपाल संयोगवश बङ्गलादेशसँगै अहिलेको विश्वकपको अन्तिम खेल खेलेर आप्mनो यात्रा पूरा गरी फर्किएको छ। पहिलो विश्वकपमा तीन खेलमध्ये दुई खेलमा जीत निकालेर समूह ‘ए’बाट उपविजेता नेपालले यो यात्रामा आफ्नो समूहका एउटा पनि देशसँग जीत हासिल गर्न सकेन। कम्तीमा दुई जीतका साथ सुपर–८ मा पुग्ने लक्ष्य राखेको नेपालको ब्याटिङ निकै खराब रह्यो। त्यसैले समूह ‘डी’मा नेपालले खेलेका चारमध्ये तीन खेलमा हार बेहो–यो र वर्षाका कारण टस पनि हुन नसकेकोले श्रीलङ्गासँग भने एक/एक अङ्क बाँड्न पुग्यो। विश्वकपको प्रदर्शनमा नेपाली बलरहरूले सन्तोषजनक प्रदर्शन गरे पनि ब्याटिङ कमजोर देखियो। विश्वकप २०२४ मा नेपालसँगै जीतविहीन भएर ओमान, आयरल्यान्ड र पपुवा न्युगिनी पनि बाहिरिएका छन्। नेपाल नेदरल्यान्ड्ससँग छ विकेट, दक्षिण अफ्रिकासँग एकमात्र रनले पराजित भएको थियो भने बङ्गलादेशसँग २१ रनले पराजित भएर समूह चरणबाट बाहिरिन पुगेको हो। नेपालका तीनै खेलमा हारको मुख्य कारण ब्याटिङ रहेको देखियो। नेपालको हारमा विश्वकपको अतिरिक्त दबाब, खराब सट छनोट र कमजोर टीमको मानसिकता पनि कारक भएको टिप्पणी गरिंदैछ।

तीन खेलमा नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ६३ रन बनाए। आसिफले दक्षिण अफ्रिकाविरुद्ध ४२ र कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरुद्ध ३५ रन एकै खेलमा नेपाली ब्याटरको तर्फबाट उच्च स्कोर रह्यो। टी–२० विश्वकप २०२४ मा अमेरिका र वेस्ट इन्डिजको पिचमा ब्याटिङ गर्न चुनौतीपूर्ण थियो। तर नेपालको जस्तो एक रन नै बटुल्न कठिन पर्ने खालको होइन। नेदरल्यान्ड्सविरुद्ध १९.२ ओभरमा १०६ रनमा अलआउट हुँदा नेपालका खेलाडीले ६६ बल डट खेले। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। नेपालले दक्षिण अफ्रिकालाई २० ओभरमा सात विकेट लिएर ११५ रनमा रोकेको थियो। तर नेपालले २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो। जीतका लागि अन्तिम दुई बलमा गुलशन झा चुके। एक रन लिएको भएपनि बराबरीको अवस्था हुन्थ्यो तर मुखमा आएको जीत हार्दा थुप्रै आलोचना भएका छन्।

असार १ गतेको यो हारले नेपाल सुपर आठमा पुग्ने अवसरबाट चुक्यो र आत्मबल कमजोर भयो अनि दुई दिनपछि असार ३ गते बङ्गलादेशसँग २१ रनले पराजित भयो। नेपाली खेलाडीले बाउन्ड्रीमा जोखिम लिन सकेनन्। लगातार डट र दबाबमा खराब सट खेल्दै विकेट गुमाएका थिए। यद्यपि नेदरल्यान्ड्सका म्याक्स ओडाउडबाहेक अन्य कुनै ब्याटरले नेपालविरुद्ध अर्धशतक बनाउन सकेनन्। बलरले सहज जीतको आधार तय गरेका थिए। तर खराब ब्याटिङले जीत निस्कन सकेन। विदेशी मैदानमा नेपाली ब्याटरको प्रदर्शन प्रशंसालायक बन्न सकेको छैन। विश्वकपको झन्डै एक महीनाअघि नेपालले अमेरिका र वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा अभ्यास खेल खेलेको थियो। तर ब्याटिङमा भने सुधार भएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here