आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आप्mनो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो। यस खेलसँगै विश्वपकमा समूह ‘डी’को समीकरण पूरा भएको छ। समूह ‘डी’बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन्। आठ अङ्क बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको छ भने छ अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो।
यस समूहबाट नेपाल, नेदरल्यान्ड्स र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन्। विश्वकपको यात्रा टुङ्गाएसँगै नेपाली टोलीका लेग स्पिन सन्दीप लामिछानेले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४औं खेलमा १०० विकेट पु–याउँदै विश्वको दोस्रो छरितो खेलाडीको नयाँ कीर्तिमान बनाउन सफल भएका छन्।
बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको १०० विकेट पूरा भएको हो। जारी विश्वकपमा सन्दीपको योे दोस्रो खेल हो। यस अघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्ड्स र श्रीलङ्काविरुद्ध खेल गुमाउन पुगेका थिए। यद्यपि नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो।
अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिंदै टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर १०० विकेट लिने कीर्तिमान बनाएका थिए। आजको खेलमा बङ्गलादेशले जीतका लागि दिएको १०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमैं समेटियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए। उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन्।
त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मदतमा २५ रन बनाए। त्यस्तै, आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक/एक रनमा आउट भए। अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहोरा शून्यमा आउट भए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि तान्जिम हसन शकिबले चार विकेट लिए भने मुस्तफिजुर रहमानले तीन विकेट झारे। त्यस्तै, शकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए।
त्यस अघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनको योगफल बनाएको थियो। बङ्गलादेशका लागि शकिब अल हसनले २२ बलमा दुई चौकासहित सर्वाधिक १७ रनको योगदान दिए। त्यस्तै, रिशाद हसनले सात बलमा एक चौका र एक छक्कासहित १३ रन जोडे। महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन जोडे।
यसैगरी, तक्किन अहमद र जाकेर अलीले समान १२/१२ रन जोडे भने लिटन दासले १० रन बनाए। तोह्वीद ह्दोयले नौ, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन शकिब र मुस्तब फिजुरर्हमानले समान तीन/तीन रन बनाए। नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई/दुई विकेट लिएका थिए। यस खेलसँगै जीतविहीन रहँदै नेपालले विश्वकपको यात्रा टुङ्गायो।