“Whenever I hear anyone arguing for slavery, I feel a strong impulse to see it tried on him personally.” -Abraham Lincoln
जाति व्यवस्था हिन्दू समाजको सबैभन्दा प्रमुख विशेषताहरूमध्ये एक हो। ऐतिहासिकरूपमा मानिसहरूलाई तिनीहरूको कर्म (काम) र धर्म (कर्तव्य)को आधारमा श्रेणीबद्ध समूहहरूमा विभाजन गरिएको थियो। चार मुख्य वर्ण
(ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र) र अछूत (दलित)ले परम्परागत जातीय पदानुक्रम गठन गरेको पाइन्छ। निम्न जाति र दलितहरूले प्रणालीगत उत्पीडन र बहिष्कारको सामना गर्दै यो प्रणाली भेदभावको प्राथमिक स्रोत भएको थियो। समय र मानिसको चेतनाको साथै शिक्षा र विवेकको क्रमिक विकाससँगै यसविरुद्ध विश्वव्यापी आवाजहरू उठ्दै गए, नेपाल पनि यसबाट अछूतो रहन सकेन। प्रजातान्त्रिक आन्दोलनका विभिन्न चरणहरू पार गर्दै जाँदा जातीय विभेदविरुद्धमा नेपालमा पनि ठूलाठूला आन्दोलन भए, त्यसमध्ये माओवादी विद्रोहले यसको नेतृत्व बुलन्दरूपले लियो, जसको परिणामस्वरूप ओन्सरी घर्तीमगरदेखि नन्दकिशोर पुन हुँदै सीमान्तकृत समूहले राज्यका विभिन्न तहमा आफ्नो नेतृत्वदायी भूमिका खेल्न पायो र २०७२ को संविधानले जातीय विभेदलाई कानूनीरूपमैं वर्जित ग–यो। तथापि व्यवहारमा आज पनि ती विभेदहरू समाजमा विद्यमान छन्। मनुस्मृतिको धङधङी आजपर्यन्त समाजमा देखिएको छ।
गहिरोरूपमा जकडिएर रहेको जाति व्यवस्थाले कठोर सामाजिक स्तरीकरणको नेतृत्व गरेको पाइन्छ। जहाँ व्यक्तिको सामाजिक स्थिति, पेशा, र जीवनका अवसरहरू तिनीहरूको जन्मले निर्धारण गरिन्छ। यस स्तरीकरणले भेदभावलाई निरन्तरता दिन्छ, किनकि तल्लो जात र सीमान्तकृत समुदायका मानिसहरूलाई शिक्षा, रोजगार र सामाजिक गतिशीलतामा पहुँचबाट वञ्चित गरिन्छ।
अन्तरविवाह वा एक जातभित्र विवाह, एक परम्परागत अभ्यास हो, जसले जातीय रेखाहरूको शुद्धता कायम राख्छ भन्ने पुरातन सोच समाजमा कायमै छ। यसले सामाजिक पृथकीकरणको नेतृत्व गर्छ, जहाँ समुदायहरू फरक सामाजिक क्षेत्रमा बस्छन्, भेदभाव थप उत्प्रेरित हुन्छ। अन्तरजातीय विवाह बढ्दै गए पनि अझै पनि उल्लेखनीय प्रतिरोध र क्रूर सामाजिक कलङ्कको सामना गर्नुपरेको यथार्थ हामीबाट लुकेको छैन। अझ भन्नुपर्दा मधेस प्रदेशमा आज पनि ६० वर्ष अघिकै जस्तो जातीय विभेद गाडिएर बसेको छ।
नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ। शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ। चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जात व्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ। सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ। तहगतरूपमैं एकअर्कालाई होच्याउने भइरहन्छ। यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बीचमा झैंझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन्। जातलाई नै औंला ठड्याइरहेका हुन्छन्।
हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन्। चाहे त्यो गाउँघरमा होस् वा अदालतकै कठघरामा किन नहोस्, शिक्षित हुन् या अशिक्षित। सुरुआती परिचय जातकै वरपर घुमिरहन्छ। निधार र नाक नखुम्च्याउन्जेलसम्म यो क्रम चलिरहन्छ। एउटा विश्वकर्माले कामी र परियारले सार्की, एउटा हरिजन वा महराले चमार र मरिकले डुम नभनुन्जेलसम्म धर पाउँदैनन्। बाहुन, क्षेत्रीले पनि बाहुन वा क्षेत्री मात्रै भनेर पुग्दैन। बाहुन हो भने कुन बाहुन ? कुमाइँ हो कि पुर्बिया वा जैसी ? क्षेत्री हो भने कुन क्षेत्री हो ? खस क्षेत्री हो कि खत्री क्षेत्री ? यसमा पनि कुन खलक र गोत्रको ? यसरी स्वजातीयभित्रै पनि यो उपक्रम चल्छ। यो कथितरूपले तहगत छ। विभेदपूर्ण छ। अमानवीय छ। तर पनि यो किन टिकिरहेको छ ? जात व्यवस्थाको सामाजिक मनोविज्ञानको प्रभाव मानिसको मस्तिष्कमा कति गहिरोसँग परेको छ, यसैबाट बुझ्न सकिन्छ।
केही समयअघि मात्रै महिला आयोगको शौचालयमा पुगेर विश्वकर्मा थरकी एक महिलाले विषपान गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। उनले काठमाडौंमैं बसेर थापा थरका युवासँग प्रेमविवाह गरी घरजम गरेकी थिइन्। केटा पक्षका अभिभावकले दलित बुहारीलाई घर भिœयाउन अनिच्छा जाहेर गरेपछि उनीहरूबीच सम्बन्धविच्छेदको लामो र झन्झटिलो अदालती प्रक्रिया शुरू भयो। त्यसपछि आजित भएर उनी विषपान गर्न पुगेकी थिइन्। बाराको फेटा गाउँपालिका–१ त्रिवेणीमा दलित युवासँग प्रेम गरेकै कारण बुबाले आफ्नी १४ वर्षीया छोरीलाई हत्या गरेर टाउको र शरीर फरकफरक ठाउँमा फालेको बीभत्स घटना सार्वजनिक भयो। कैलालीको गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्मासँग सरस्वती खड्काले उमेर पुगेरै अन्तरजातीय विवाह गरिन् तर दलितसँग विवाह गरेकै कारण युवती पक्षले घरमैं पसेरै उनीमाथि निर्घात कुटपिट ग–यो। काभ्रेको भम्लु गाउँपालिका–२ सिमलथलीमा धर्मध्वज भण्डारीले दलितसँग बिहे गरेपछि परिवारको एक श्रद्धा कार्यमा समय दिएर पनि पुरोहित आएनन्।
बाजुराको हिमाली गाउँपालिका–३ की गर्भवती महिला निकी (नाम परिवर्तन)लाई राति घरमैं पसेर बलात्कार गरेको घटनालाई लिएर आफन्त प्रहरीकहाँ उजूरी दिन पुग्दा उल्टै उनीहरूलाई नै गिरफ्तार गरियो। होटलमा पानी छोएकै निहुँमा डोटीका केआईसिंह गाउँपालिका–४ का रमेश भुलमाथि निर्घात कुटपिट भयो। जातकै कारण यस्ता अनगिन्ती घटना सार्वजनिकरूपमैं र सार्वजनिक ठाउँमैं हामी भोग्न अभिशप्त छौं। गाउँदेखि शहरसम्मको दूरवस्था एउटै छ। गैरदलित युवतीले दलित युवासँग प्रेम गरेकै कारण एउटा सचेत र शिक्षित भनिने परिवार आफ्नै छोरीको निर्मम हत्या गर्न राजी छ। घरमैं पसेर निर्घातरूपमा कुटपिट गर्ने साहस गर्छन् तर आफूभन्दा तल्लो जात स्वीकार्न तयार छैनन्। आफूभन्दा तल्लो जातका छोरी, ज्वाइँ र बुहारी भिœयाउन तयार छैनन्। जात व्यवस्थाले कतिसम्म हद नाघिसकेको छ भने यो समाजमा बालविवाह गर्दा कुनै फरक पर्दैन तर छोराछोरीले त्यही विवाह आफैंले रोजेर अन्य जातसँग गर्दा जातको कठघरामा उभ्याएर हिंसा गरिन्छ।
आखिर किन यस्ता घटनाहरू आजपर्यन्त समाजमा जरो गाडेर बसेको छ त ? कानून जतिसुकै कडा बनाए पनि कार्यान्वयन पक्ष जब कमजोर हुन्छ, यस्ता सामाजिक कुरीतिहरूले हामी डिजिटल युग भनाउँदा मानिसहरूलाई जिस्क्याइरहेको हुन्छ। यो हुनुको कारण राज्य बलियो नहुनु हो। राज्य बलियो नहुने कारण क्षणक्षणमा सरकार बदलिने प्रवृत्ति अर्थात् बलियो सरकारको अभाव हो। २००७ सालदेखि आजसम्म यो देशमा स्थायी सररकार गठन हुन सकेको छैन। जब सरकार कमजोर हुन्छ, यसले कडा र क्रूर निर्णय लिनै सक्दैन, अनि ती गरीब, निमुखा र सीमान्तकृतको आवाज त त्यत्तिकै दमित हुन जान्छ।
तीनै तहको सरकार, प्रहरी प्रशासन र अदालतमा समेत जात, धर्म, वर्ण र पहुँचकै आधारमा निर्णय हुँदा, अपराधीमाथि कारबाई नहुँदा, अपराधीको संरक्षण हुँदा र उनीहरूको मनोबल बढेकै कारण समाजमा विभेदका घटनाहरूमा बढोत्तरी हुँदै गएको छ। कतिसम्म भने एउटा घटना भएको प्रहरीमा उजूरी पर्दा र कानूनी कारबाई नहुँदा वर्ष दिन नपुग्दै एउटै गाउँमा पटकपटक एउटै किसिमको विभेद र हिंसाका घटना दोहोरिएका छन्। ब्रह्मपुरी गाउँपालिका–६ का रामाशिष महराले २०८० साउन ३० गते, मलङ्गवा नगरपालिका–१२ गमहरियाका नीलमदेवी पासवानले साउन ३० गते, सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका रामकिशोर महराले भदौ ५ गते, रामेश्वर महराले कात्तिक १२ गते, वडा नं ११ का रामवरण महराले असोज १६ गते प्रहरीमा उजूरी दिएका थिए। उनीहरूमाथिको यो घटना एकपछि अर्काे शृङ्खलाबद्धरूपमा भएका घटना हुन्। तर यतिका समय बित्दा पनि अपराधीमाथि कुनै किसिमको कानूनी कारबाई भएको छैन। पीडितहरूले न्याय पाएका छैनन्। अपराधीहरूको मनोबल झन् बढेको पीडितहरूको भनाइ छ।
परम्परादेखि चलिआएको जात व्यवस्थामा आधारित समाजमा हरेक निर्णय र क्रियाकलाप जातकै आधारमा हुनु र गर्नु एक प्रकारले स्वाभाविक मानिएला तर प्रहरी प्रशासन तथा अदालतमैं पुगेका घटना पनि सोही आधारमा विचाराधीन र तजबिज हुन पुग्नु कतिको न्यायसङ्गत हुन्छ ? यिनै क्रियाकलापले गर्दा सर्वसाधारणमा कानूनी राज्यप्रतिको विश्वास खस्किंदै गएको छ। कतिसम्म भने उजूरी दिने नयाँ पीडितको सङ्ख्या पनि घट्दै गएको छ। विकल्प नहुँदा कानूनी राज्यको उपहास हुनेगरी गाउँघरमैं मिल्नुपर्ने सर्वसाधारणको बाध्यात्मक स्थिति छ। स्थानीय सरकारमा समेत विभेदकारी वर्गकै वर्चस्वका कारण यथास्थितिमैं समाजमैं मिलेर बस्नुपर्ने मनोवैज्ञानिक प्रभाव बलियो हुँदै गएको छ। यसले गर्दा अधिकांश घटना गाउँमैं दण्ड जरिवाना गर्ने, गराउने, दबाउने र लेनदेनमा टुङ्गिइरहेका छन्। यसरी आजको विकसित युगमा पनि जातकै आधारमा न्याय छनोटमा पर्नु यो कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ?
देशमा जात व्यवस्था निकै संवेदनशील विषय बन्न पुगेको छ। जात व्यवस्थालाई मजबूत गर्न बलिया जातिहरूले स्वजातीय सङ्गठन र सञ्जाल निर्माण गरेर धर्मशालादेखि मठमन्दिर र पाटीपौवा जस्ता भौतिक संरचनासमेत निर्माण गरिरहेका छन्। यसको सिको कमजोर जाति र वर्गहरूले समेत गर्न थालेका छन्। जात जस्तो संवेदनशील विषयमा हुने र गरिने बहस तथ्य र तर्कमा आधारित र गम्भीर प्रकृतिको हुनुपर्ने हो तर यहाँ जातका नाममा अनेकौं भ्रम छर्ने प्रयत्न भइरहेका छन्। कतिपयले यसलाई मानवीय एकताविरुद्धको रूपमा लिइरहेका छन् भने कतिपयले जातीय स्वतन्त्रताका रूपमा बुझिरहेका छन्। प्रत्यक्ष परोक्षरूपमा नयाँ संविधानले पनि जातीय व्यवस्थालाई नै सबलीकरण गरेको छ।
देशमा विभिन्न स्वरूपमा रहेका निरङ्कुुश व्यवस्था र प्रथाहरूको अन्त्य विभिन्न कालखण्डमा हुँदै आएको छ। यसै समाजमा अत्यन्त अमानवीय र चरमरूपमा रहेको सतीप्रथा जस्तो कुप्रथासमेत अन्त्य भएको इतिहास छ तर सतीप्रथा जत्तिकै घातकरूपमा रहेको जात व्यवस्थाको अन्त्य किन हुन सकिरहेको छैन ? लिच्छवी, मल्ल, राणा, शाह र पञ्चायतकाल हुँदै अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि किन यसले लगभग उसै गरी निरन्तरता पाइरहेको छ ? यो जात व्यवस्थाको सामाजिक मनोविज्ञानको प्रभाव कहिलेसम्म पुस्तान्तरण भइरहने हो ? राज्य, राजनीतिक दल र समाजका सचेत बौद्धिक वर्गले यसविरुद्ध सङ्गठितरूपमैं एउटा संयुक्त अभियानको थालनी कहिलेदेखि गर्ने हुन् ? समाजमा रहेको मानवताविरोधी निकृष्ट जातीय कुप्रथा निर्मूल पार्न विलम्ब नगरौं।
अन्त्यमा, हाम्रो पूर्वीय सभ्यतालाई वर्षाैंसम्म पश्चिमा मुलुकहरूले शासन गर्ने धेरै कारणमध्ये आपसी जातीय विभेद पनि एक हो। जातजातमा लडाइँ गराइदिएर उनीहरूले शासन गरे। आज पनि हामी त्यस जातीयताको धङधङी र उन्मादबाट बाहिर निस्कन सकेका छैनौं। संसारमा दुईवटा मात्र जात छन्– एक महिला र अर्काे पुरुष।
“Caste is a notion; it is a state of the mind. The destruction of caste does not therefore mean the destruction of a physical
barrier. It means a notional change.” Dr. B.R. Ambedkar
(लेखक ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत हुन्।)