भारत, गुजरात राज्यको बडोदरास्थित पारुल विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति घोषणा गरेको छ।
नेसेन्ट एजुकेशन फाउन्डेशनमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर फाउन्डेशनका सञ्चालक रञ्जीत पडितले नेपाली विद्यार्थीहरूलाई पारुल विश्वविद्यालयमा अध्ययन गर्दा ५० प्रतिशत छात्रवृत्ति पाउने व्यवस्था गरिएको बताए। उनले पर्सा, बारा, रौतहटलगायत क्ष्Fेत्रबाट सो विश्वविद्यालयमा एक शैक्षिक सत्रमा करीब दुई सय विद्यार्थी र नेपालभरिबाट पाँच सय विद्यार्थी अध्ययनका लागि जाने गरेको र उनीहरूलाई यो शैक्षिक सत्रदेखि ५० प्रतिशत छात्रवृत्ति प्राप्त हुने बताए।
पारुल विश्वविद्यालयमा इन्जिनीयरिङ, मेडिकल, व्यवस्थापन, विज्ञान, फेशन डिजाइन, आइटीलगायत विभिन्न सङ्कायमा २५० भन्दा बढी कोर्स अध्यापन हुने गरेको विश्वविद्यालयका बजार प्रबन्धक नीरजकुमार साहले बताए।
हालसम्म सो विश्वविद्यालयबाट तीन हजार नेपालीले अध्ययन गरेको जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा विश्वविद्यालयका सहायक बजार प्रबन्धक विश्वराजप्रसाद, फाउन्डेशनका अजीत चौरसियालगायतको सहभागिता थियो।