यात्राले आनन्द दिंदो रहेछ । यात्रामा भएको पीडा र प्राप्त दुःख कालान्तरमा बिर्सिइँदो रहेछ तर यात्राको रमाइलो भने लामो समयसम्म सम्झनामा रहिरहन्छ । अझ कुनै यात्रा त साँच्चीकै आप्mनो जीवनमा निकै प्रिय सम्झनाको रूपमा रहिरहने रहेछ । मलाई झाँसीकी रानी लक्ष्मीबाईको दरबार घुमेको यात्रा भने निकै रमाइलो लाग्ने यात्राहरूमध्ये एक लागेको छ ।
म इतिहासको विद्यार्थी र इतिहास प्रसिद्ध ठाउँहरूको भ्रमण गर्न पाउँदा आनन्दित हुन्छु । किन हो किन इतिहाससित सम्बन्धित स्थलहरू पनि मलाई तीर्थस्थलजस्तै लाग्दछन् । मलाई मनदेखि आकर्षित गरिरहने ठाउँहरूमध्ये ऐतिहासिक ठाउँ पनि हो र धेरै लामो समयसम्म स्मृतिमा ताजा रहिरहने ठाउँ पनि ऐतिहासिक नै हुन्छ ।
मेरो लागि साउनको महीना यात्राको दृष्टिकोणले निकै उपयुक्त हुन्छ । ओर्लिंदो अवस्थामा गर्मीको रापलाई वर्षाले कम गरिरहेको हुन्छ । यात्राको लागि साउनको महीना नै उपयुक्त हुनुमा मुख्य कारण चाहिं विद्यालयमा वर्षे अवकाश हुनु हो । हरेक महीना कम्तीमा साउनभरि गर्मी बिदा हुँदै आएको छ । धान रोपाइँ सकिएलगत्तै कतै निस्कने भूत सवार भइसक्छ । पहिले पुग्ने त बाबाधाम नै हो । एउटा पुरानो उखान छ – काशी जानु कुतीको बाटो । तर हामीलाई भने यही प्रवृत्तिले यात्रा गर्नुपर्दछ । कारण के भने बाबाधामको यात्रा दुर्ई वा साढे दुर्ई दिनमा पूरा भएपछि उतैबाट कुनै नयाँ ठाउँको यात्रामा निस्कन्छौं । शतप्रतिशत निर्धारित कुरो यही हुन्छ कि कुनै नयाँ ठाउँको यात्रा गर्नुछ तर सामान्यतया कुन ठाउँमा पुग्नु छ भन्ने कुरो पहिले निश्चित गरिएको हुँदैन । समय अनुकूल भएमा यसपटक करीब निश्चित थियो, झारखण्डको देवघरस्थित बाबा रावणेश्वर महादेवको दर्शन गरेपछि मध्यप्रदेशको उज्जैनस्थित महाकालको दर्शन गर्ने ।
करीब डेढ दशकदेखि हरेक वर्ष हामीले यस प्रकारको यात्रा गरिरहेका छौं । एक वर्ष कोरोनाको कारण यात्रा हुन पाएन र अर्को एक वर्ष पनि बाबाधाम कोरोनाकै कारण बन्द भएकोले बाबाधाम नपुगी बनारसस्थित विश्वनाथको दर्शन गरेर आगरातर्फ लागेका थियौं ।
साउन ६ गते शनिवार (२०८०) का दिन मेरो खेतको रोपाइँ सकियो । रोपाइँ सकिएको फोटो फेसबूकमा हालेपछि प्रेम सरले साथीहरूसित सल्लाह गरिसक्नु भएछ कि शुक्रवार बिहानै निस्कने । हामीलाई सधैं बिहानै निस्कनुपर्ने हुन्छ अर्थात् भन्छौं तर निस्कँदा जहिले पनि दिउँसो भइसक्छ । तर, यसपटक खास ढिलाइ भएन । खाना सबेरै खाएर सबै जना यात्राको औपचारिकता पूरा गरी निस्किन्छौं । निश्चित छ, यहाँबाट निस्कँदा पहिले शिवनगरमा दर्शन गरी बल्ल यात्रा शुरू भएको मान्दछौं ।
यात्रामा पुरानै अनुहार छौं । हरेक वर्ष यस्तै हुन्छ, कोही एकाधजना थपिन्छन् वा घट्छन्, विशेष कारणले, हैन भने छ जना निश्चित छौं – मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, मावि गरुडाका हेड सर प्रभुराउत पटेल, शङ्कर गुदर मावि समनपुरका हेड सर देवेन्द्र चौधरी, कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिलकुमार निधि, मनोज यादव र म । सातजना थियौं, एकजना को हुनुहुन्थ्यो, अहिले ठ्याक्कै सम्झना छैन ।
२८ जुलाई २०२३ अर्थात् १२ साउन २०८० का दिन शिवनगरबाट प्रस्थान गर्दै गर्दा अरू वर्षको तुलनामा निकै छिटो थियौं । बिहान आठ बजे निस्कने सुरसार थियो तर अलिकति ढिलो गाडीले गरेको थियो । गाडी आइसकेपछि सबै सामान मिलाउनुपर्ने हुन्छ । सबै मिलाएर चोकमा गई छ कार्टुन पानीको बोतल लोड ग¥यौं । अनि शिवनगरमा दर्शन गरी गौरतिर हानिंदा दिउँसोको पौने १२ बज्न लागेको थियो । हामी सबैले यात्राको सफलताको शुभकामना व्यक्त ग¥यौं ।
सधैंको उही त हो । गौर भन्सार भएर भारतको सिमाना प्रवेश गर्दछौं । बैरगनिया, सीतामढी, मुजप्mफरपुर हुँदै पूर्वतिर हानिन्छौँ । झन्डै साँझ पर्न थालेपछि एक ठाउँमा खाजा खान्छौँ । विगत केही वर्षदेखि यही ठाउँमा खाजा खाँदै आएका छौं । मन्दिरजस्तो फराकिलो ठाउँ छ, अलिकति पनि नगन्हाउने कलधाराको पानी, शीतल छहारी र सडक छेउमा बस्ने सुविधा पनि भएकोले हामी यसै ठाउँलाई बीस–पचीस किलोमिटर पहिलेदेखि नै खोज्दै आएका हुन्छौं । ठाउँ भेटिएपछि एक छिन आरामले बस्दै, हातगोडा तन्काउँदै, आङ बटार्दै ओर्लिएपछि चीसो पानीले मुख धोएर हरियो घाँसमाथि त्रिपाल बिछ्याउँदै आरामले बसेर घरबाटै लगेको रोटी, भुजिया, अचार आदि खाजा खान्छौं । सबैजनाको घरबाटै बनाएर पठाइएको हुन्छ । अघाउन्जेल खाजा हो, साँच्चीकै यही नै रातिको लागि भोजन पनि हो । अब कतै खाना खाने झन्झट हुँदैन । साँझतिर खाएपछि राति फेरि भोक लाग्दैन पनि । अनि यात्रा केवल अगाडि बढ्छ आजको गन्तव्यतिर । सबैको एकमत छ, गङ्गा कटेपछि त्यहीं ठाउँमा गएर सुत्ने जहाँ विगत केही वर्षदेखि सुत्दै आएका छौं । निरन्तर हुइँकिरहेको छ – बिआर ०५ एस ०११८ नम्बरको सेतो स्कारपिओ । सबैभन्दा पछाडिको सिटमा बसेको छु म । म हरेक वर्ष पछाडिकै सिटमा बसेर यात्रा गर्दछु । यस वर्ष देवेन्द्र हेड सरले धेरै प्रयास गरेका छन् पछाडि बस्न । म त मेरो फिक्स ठाउँमा बस्छु । बीचको सिटमा मोटामोटा चारजना बस्दा निकै अप्ठ्यारो हुन्छ । पछाडि कोही दुई जना मात्रै हुन्छन् । खट्टा तन्काएर बस्न पाइन्छ । उस्तै परे ढल्केर सुत्न पनि पाइन्छ । भारतमा, लामो यात्रामा जाँदा प्रायः सडकहरू खराब हुँदैनन् । सडक खराब नहुँदा पछाडि बस्न कुनै अप्ठ्यारो हुँदैन । हो, अलिकति गर्मी भने हुन्छ तर प्रायः एसी गाडी लगेका हुन्छौं । एसी नचलाउँदा सबै झ्याल खोलेपछि हावा आउँछ मज्जाले । दृश्यहरू साइडबाट र पछाडिबाट हेर्न पाइने सुविधा हुन्छ ।
चालकलाई अल्छी लाग्ने पनि हुन्छ । एकोहोरो गाडी चलाइरहँदा थकाइ लाग्ने पनि हुन्छ होला । गौरा भन्ने ठाउँमा पुगेर गाडी साइड गर्छन् । कोही पान खान्छन्, कोही पानी पिउँछन् । कोही गुटखा, पराग वा यस्तै अन्य चीज खान्छन् । मेरो मनमा पनि पान खाने इच्छा जाग्छ तर तुरुन्त दबाउँछु । कोही चिया खान्छन् । गर्मी नै भए पनि चिया खानबाट म आफूलाई रोक्न सक्दिनँ । केही बेरको अलमलपछि हुइँकिन्छौं । अँध्यारोले बिस्तारै पछ्याउन थालेको छ अब ।
अगाडिको सिटमा बसेका प्रेमलाल सरले मन्दिर देखेपछि साइड लगाउँँछन् । रातको दश नाघिसकेको छ । अहिलेसम्म मन्दिरमा खासै भीड छैन । पंखाको हावा लाग्ने ठाउँ देखेर प्लास्टिक बिछाउँछौँ । प्लास्टिकमा आफ्नो सिरानी राखेर सबै सुत्ने तर्खर गर्छौं । पक्की भुइँमा प्लास्टिकमाथि एउटा गमछा ओछ्याएर लामखुट्टे्को सङ्गीत सुन्दै निदाउन सक्ने बहादुर नै हुन्छन् । म त यात्रामा पहिलो रात प्रायः अल्पनिद्रा नै लिन्छु । कतिखेर निदाउने र कतिखेर आँखा तन्काउने भन्ने नै हुँदैन । मज्जाले निदाउन पाउने कुनै कुरै हुँदैन । गाडीहरू लहरै हिंडिरहेका हुन्छन् । सडकले रातभर फुर्सद पाउँदैन ।
कहाँ कहाँको समूह आएर बिस्तारै मन्दिरमा प्रवेश गर्दछन् । हनुमानजीको ठूलो मूर्ति छ । एकपटक शिर झुकाउँछन् र सुत्ने ठाउँ खोज्न थाल्छन् । बत्ती बलिरहेको छ, पंखा दौडिरहेको छ । दौडेर कहाँ पुग्नु छ, गन्तव्यको पत्तो छैन । पंखामुनि लामखुट्टे कमै जान्छ । कोही कसरी सुतेका छन् त कोही कसरी पल्टेका छन् । कोही घुरिरहेका छन् त कोही निदाएको अभिनय गरिरहेका छन् । वास्तवमा सुतेर वा पल्टेर शरीरलाई आराम दिन खोजेका छन् सबैले । आराम दिनुको पछाडि एउटै कारण छ, समय व्यतीत गर्नु । रात छिचोल्नु छ सुतेर । यस्तो परिवेशमा निदाउन सक्नेहरू भाग्यमानी हुन् ।
कतिपयको अचम्मको बानी हुन्छ । जसै निद्रा खुल्यो, शौचालय गइहाल्नुपर्ने । प्रेम सरको त्यही बानी छ । जहाँसुकै होस्, सुतेर उठेपछि शौचालय गइहाल्नुपर्ने । अनि फराकिलो फाँटतिर जान कोही साथी चाहिन्छ । यसरी एकले अर्कोलाई साथी बनाउन खोज्दा सबै एकै छिनमा बिउँझFछन् । फ्रेस हुन्छन् । अगाडि एउटा चिया पसल छ । सबैजना चिया पिउँछौं । अँध्यारोले अझै धरणीलाई छोपेकै छ । हामी अगाडि बढ्दैछौं सुल्तानगंजतिर । (क्रमशः)