-बैधनाथ श्रमजीवी

आजको ठोस विज्ञानका विविध धारा भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्रलगायत विकासको मुख्य आधार भने प्राचीन समयदेखि नै जगत्, ब्रह्माण्ड, प्रकृतिको बोधगम्यता स्विकार्दै पदार्थको प्रधानतामा विविध कालखण्डमा सङ्गठित अध्ययन प्रणाली विकास गरेको भौतिकवादी दर्शनशास्त्र हो। जसले मानवीय जिज्ञासा र प्रश्नहरूलाई निषेध गर्दैन र जगत्का हरेक वस्तुको अस्तित्वलाई स्वीकार गर्दछ र बोधगम्य मान्दछ। यही दार्शनिक प्रणाली र आधुनिक विज्ञान नै भौतिकवादी समाज निर्माणको मुख्य वैचारिक आधार हो।

भौतिकवाद के हो ?

भौतिक अर्थात् लौकिक र प्रत्येक्ष अनुभव गर्न सकिने वा कुनै पनि ठोस सबूत तथा गणितीयरूपमा सिद्ध गर्न सकिने कुरामा मात्र विश्वास गर्नु भौतिकवाद हो। भौतिकवादी सिद्धान्तले पदार्थ, प्रकृतिजस्ता भौतिक तत्वको प्रधान सत्ता स्विकार्दै प्रत्येक कुरा परिवर्तनशील रहेको स्विकार्दै जीवन र जगत्सम्बन्धी अध्ययन र विचार निर्माण (ज्ञान निर्माण) गर्ने दार्शनिक सिद्धान्त नै भौतिकवाद हो। भौतिकवादको ठीकविपरीत ध्रुवमा आदर्शवाद रहेको हुन्छ। आदर्शवादले आत्मा, परमात्मा, विचार, परम विचार, चेतनाजस्ता तत्वलाई मूल सत्ता मान्दछ र ईश्वर वा कुनै अलौकिक शक्तिको अस्तित्व स्वीकार गर्दछ। अर्थात् भौतिक तत्वलाई मूल सत्ता स्विकार्ने दार्शनिकी भौतिकवाद हो भने विचार तत्व अर्थात् आदर्शलाई मूल सत्ता स्विकार्ने दार्शनिकी आदर्शवाद हो। दर्शनशास्त्र अनुरूप सत्ताको विपरीत स्वरूप स्विकार्ने भौतिकवादी र आदर्शवादी दर्शनबीच निरन्तर सङ्घर्ष चल्दै आएको छ।

ज्ञानको सीमितताबाट नै रहस्यको उद्घाटन हुन्छ।

भौतिकवादीहरू भने रहस्यहरूलाई वैज्ञानिक पद्धतिबाट उजागर गर्दछन् अथवा सो विषयमा वैज्ञानिक पद्धतिको विकास हुन बाँकी रहेको निक्र्याेल निकाल्दछन् भने अध्यात्मवादीहरू हरेक रहस्यको पछाडि ईश्वर अथवा अलौकिक शक्तिको सत्ता स्थापित गर्दछन्।

आध्यात्मिक पद्धतिलाई सामाजिक प्रक्रियामा लागू गर्दा विज्ञानले स्थापित गरिसकेका मूल्य मान्यतासमेत ज्ञानको सीमिततामा रहस्यमय मान्दै अनेकन उत्पीडन र शोषणका व्यवहार हाम्रा वरिपरि अभ्यास भइरहेका छन्। परम्परागत वैज्ञानिक उपचार पद्धतिको विकास हुँदै आधुनिक उपचार पद्धतिसम्म मानव सभ्यता आइपुग्दा पनि झारफुक, धामी–झाँक्री सामाजिक आयतनमैं अभ्यासमा छन्। रजस्वला प्रजननका निम्ति महिलामा हुने अनिवार्य प्राकृतिक प्रक्रिया हो भन्ने वैज्ञानिक ज्ञान स्थापित हुँदा पनि शुद्धताको कसी र ईश्वर, पितृ, कुल रिसाउने डरमा महीनावारीका नाममा बार्ने प्रचलन शहरकै घरघरमा व्याप्त छ। जातको आधारमा मान्छे मान्छेबीच छुवाछूत, पानी बाराबारको स्थितिदेखि अन्तर्जातीय प्रेमका कारण दलितहरू मारिएका छन्। रूढिवाद, अन्धविश्वासले ग्रस्त चेतनाले अझै पनि महिलाहरूलाई बोक्सी करार गरेकै छ भने छोरा नजन्मिनुको दोष पनि महिलामाथि थोपरेकै छ। यस्ता थुप्रै सामाजिक अपराधलाई पाप–धर्म, स्वर्ग–नर्क तथा शुद्धताको कसीमा आदर्शवादी धाराले अझै पनि सामाजिक आयतनमैं संरक्षण र अभ्यास गरिरहेको छ।

साथै आम श्रमजीवी, मजदूर, किसान, महिलाहरूको तप्कालाई कर्मफलवाद, भाग्यवादबाट प्रशिक्षित गर्दै शासक वर्गको अन्यायविरुद्ध आप्mना हक अधिकार स्थापित गर्ने सङ्गठित विद्रोह गर्नबाट वञ्चित गर्दछ। तमाम रुढिवाद, अन्धविश्वास र धर्मको आडमा ज्ञानको सीमितताबाट संरक्षित यस्ता थुप्रै आपराधिक अभ्यासविरुद्ध सङ्घर्षका निम्ति पनि विज्ञानसम्मत भौतिकवादी दर्शन आवश्यक छ।

भौतिकवादी समाज किन ?

भौतिकवादी दर्शन अनुरूप जीवन व्यवहार चलाउनेहरूको समाज नै भौतिकवादी समाज हो। कुनै पनि समाज तीनवटा अङ्गले बनेको हुन्छ। अर्थतन्त्र, राजनीति र संस्कृति।

दर्शनशास्त्र विकासक्रमको इतिहास हेर्ने हो भने आदर्शवादी दर्शन र भौतिकवादी दर्शन परस्पर विरोधी धारामा विकास भएको पाइन्छ। पूर्वमा चार्वाक दर्शन, प्रकृति प्रधानवादी सांख्यमत र परमाणुवाद भौतिकवादी दर्शन हुन् भने प्राचीन युनानमा क्रमशः पानी, आगो र परमाणुलाई प्रधान मान्ने थेल्स, हेरेक्टाइस र डेमोक्राइट्स स्वतःस्फूर्त भौतिकवादी दार्शनिक हुन्।

पूँजीवादको विकाससँगै पश्चिम युरोपेली देशहरू बेलायत, फ्रान्स, जर्मनीलगायत देशमा यान्त्रिक भौतिकवादको विकास भयो। बेलायतका फ्रान्सिस बेकन, फ्रान्सका लामेत्री यान्त्रिक भौतिकवादी दार्शनिक हुन्। यान्त्रिक भौतिकवादीहरू पदार्थको प्रधानतासँगै जगत्को विकास र सञ्चालनमा ईश्वरीय शक्तिले गति पैदा गर्ने मत राख्दथे। जर्मन दार्शनिक फायरबायखले यान्त्रिक भौतिकवादलाई उत्कर्षमा पु–याउने काम गरे। सोही अवधिमा यान्त्रिक भौतिकवादकाविरुद्ध अङ्ग्रेज दार्शनिक बर्कले र जर्मन दार्शनिक हेगेलले आदर्शवादी दर्शनको सङ्गठित प्रणाली विकास गरे। यसै प्रकियामा माक्र्स र एंगेल्सले यान्त्रिक भौतिकवाद र आदर्शवादविरुद्ध सङ्घर्ष चलाउँदै द्वन्द्वात्मक भौतिकवादको प्रादुर्भाव गरे।

भौतिकवादी दर्शनको उत्कर्षमा रहेको द्वन्द्वात्मक भौतिकवादी दर्शनको आलोकमा राजनीतिक क्रान्तिद्वारा विश्वभर समाजवादी सत्ता स्थापित भए। आज विश्वभर ईश्वरको अस्तित्व अस्वीकार गर्ने नास्तिकहरूको सङ्ख्या १५.६ प्रतिशत रहेको छ। आदर्शवादीधाराभित्र अनेकन धार्मिक पन्थ, सम्प्रदाय अनुसारका समाज विश्वभरिका सबै सभ्यतामा बन्दै आएका छन्। यस्ता समाजहरूको जग, खÞास प्रकारको चलायमान आर्थिक ढाँचा, राजनीतिको विशेष योजना अनि संस्कृतिको खास वैचारिकी एवं सङ्गठनभित्र विकसित हुँदै आएको छ। यद्यपि भौतिकवादीहरूको आफ्नो अर्थतन्त्र, राजनीति र संस्कृति भएको समाज छैन।

आधुनिक विज्ञानको विकाससँगै वैज्ञानिक अनुसन्धानले प्रकृतिका रहस्यहरूको बोधगम्यतामा गुणात्मक फडको मारेको छ। विविध वैज्ञानिक पद्धतिको विकास भौतिकवादीहरूका निम्ति चाँदीको घेरा साबित भएको छ। आधुनिक उपकरणहरूको विकासले प्रकृतिको वैज्ञानिक अध्ययनले तीव्रता पाएको छ। मानव दृष्टिको क्षमता भनेको मध्यम वस्तुहरूको अवलोकन र अनुभूति गर्ने क्षमता हो। ब्रह्माण्डका विशाल पिण्ड हुन् या परमाणुभित्र रहेका अति सूक्ष्म कण (Particle), आजसम्म विकास भइसकेका न्युटोनियन यान्त्रिक विज्ञानदेखि क्वान्टम सिद्धान्तले पदार्थको भौतिकीको अध्ययन, अनुसन्धान र सिद्धान्तीकरण गरिरहेका छन्। निरन्तर सङ्घर्षबाट प्राचीनकालदेखि स्वतःस्पूmर्त भौतिकवाद, यान्त्रिक भौतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादको उत्कर्षसम्मको विकास र आधुनिक विज्ञानको विकासले पदार्थको प्रधानता पुष्टि गर्दा पनि भौतिकवादीहरूको समाज भने किन बन्न सकेन ? तसर्थ, आजसम्मको भौतिक विज्ञानको विकास, भौतिकवादी विचार र व्यवहारको प्रचारात्मक वकालतले मात्र समाज बदलिन सम्भव छैन। राजनीति, अर्थतन्त्र र संस्कृति यी तीनै अङ्गमा भौतिकवादीहरूको ठोस पहल, हस्तक्षेप, संयोजन र योजनाबद्ध सङ्गठित क्रियाशीलताले मात्र भौतिकवादी समाज निर्माण सम्भव छ।

आजको नेपाली समाज संविधानतः धर्मनिरपेक्ष राज्य हो। तर, धर्मनिरपेक्षताको अर्थ बङ्ग्याएर सनातनी हिन्दू धर्मको रक्षा गर्दै धर्मनिरपेक्ष रहने व्याख्यामा आम जनतालाई झुक्याइएको छ। आर्थिक कोणबाट हेर्ने हो भने स्थानीय निकायदेखि प्रदेश र केन्द्र सरकारले समेत धार्मिक मठ, मन्दिरजस्ता भौतिक संरचना निर्माण गर्न लगानी बढाएको स्पष्टै छ। राजनीतिक कोणबाट हेर्ने हो भने संसदीय व्यवस्थाभित्र रहेका सबै दलहरू भोटको राजनीतिका निम्ति समाजमा व्याप्त धार्मिक अन्धता, रुढिवाद, पितृसत्ता, जात व्यवस्थाविरुद्ध कार्यक्रम बनाएर सङ्घर्षरत छैनन्। बरु धार्मिक आस्थाहरूलाई अतिवादी मलजल गर्दै दलगत प्रभुत्व कायम गर्ने दौडमा देखिन्छन्।

सांस्कृतिक कोणबाट हेर्ने हो भने आजको समाजको राजनीति र अर्थतन्त्र चलाउने मूल हिस्सा धार्मिक विचारधाराकै आधारमा सामाजिक तहमा सङ्गठित छ। व्यवहारतः पितृसत्ता, जात व्यवस्था, धार्मिक अन्धता समाजको आधुनिकीकरणसँगै रूपमा कम असरदार देखिए पनि सारमा नेपाली समाजको चिन्तन प्रणाली आदर्शवादी विचारधारामैं जकडिएको छ। यस कारण पनि  भौतिकवादीहरूले भौतिकवादी समाज निर्माणको आवश्यकता बोध गर्दै वैज्ञानिक आधारमा चल्ने समाज निर्माण अत्यावश्यक भएको छ।

भौतिकवादी समाज कसरी ?

भौतिकवादी समाजको जग भौतिकवादी विचारधारामा सङ्गठित हँुदै भौतिकवादीहरूको साझा/साझेदारीमा अर्थतन्त्र, राजनीति र भौतिकवादी संस्कृतिको निर्माण र विकास गर्नु हो। मानव सभ्यताको विकास संस्कृतिविना सम्भव हुँदैन। तसर्थ भौतिकवादी समाजले जन्मदेखि मृत्युसम्मका भौतिकवादी संस्कार निर्माण गरी क्रमशः लागू गर्दै जानुपर्दछ। धार्मिक अन्धता, रुढिवादमा आधारित संस्कार र चाडपर्वहरूलाई त्याग्दै वैज्ञानिक सांस्कृतिक पर्वको टुङ्गो गरी सांस्कृतिकरूपमा मनाउन थाल्नुपर्दछ। साथै गीत, सङ्गीत, चलचित्र नाटकजस्ता मनोरञ्जनका आयामहरू पनि भौतिकवादी ढङ्गले निर्माण गर्नुपर्दछ। पर्यावरणको आवश्यकता बोधका निम्ति सामूहिक वृक्षारोपण, सरसफाइजस्ता संस्कारहरू पनि भौतिकवादी समाजले अङ्गीकार गर्नुपर्दछ।

अर्थतन्त्र नै समाज निर्माण र विकासको मूल भौतिक तत्व हो। तसर्थ भौतिकवादी समाज निर्माणार्थ पहिलो चरणमा भौतिकवादीहरूद्वारा सञ्चालनमा रहेका वस्तु उत्पादन वा सेवा वितरणको सञ्जाल जोड्नुपर्दछ। यसरी जोडिएका सञ्जालमार्फत भौतिकवादी समाजका सदस्यहरूलाई व्यवसाय, सेवा वृद्धि साथै आर्थिक राहतका नीति तथा प्रणाली विकसित गर्नुपर्दछ। दोस्रो चरणमा भौतिकवादी समाजका सदस्यहरूले साझा अथवा साझेदारी अवधारणामा वस्तु वा सेवा उत्पादन तथा वितरणको अभ्यास पनि गर्दै जानुपर्दछ। साथै भौतिकवादी समाजका निम्ति आवश्यक सामाजिक संरचना निर्माण हेतु पनि आर्थिक कार्यक्रम तय गर्नुपर्दछ। भौतिकवादी समाजको विद्यालय, भौतिकवादी मृत्यु संस्कारका निम्ति घाट, भौतिकवादी समाजको भेला तथा कार्यक्रम हुने सामाजिक भवनजस्ता संरचना आवश्यक हुन्छ।

राजनीति सम्पूर्ण नीतिको केन्द्र हो। आजको समयमा चलिरहेको राजनीतिले आदर्शवादी धाराको मलजल गरिरहेको स्पष्टै छ। तसर्थ रुढिवाद र अन्धताजस्ता विषयमा राज्यको लगानी बन्द गराउन सङ्घर्ष गर्नुपर्दछ।  विज्ञानको विकास र प्रवद्र्धनमा राज्यको लगानी बढाउन दबाब दिनुपर्दछ। जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थमा लगानी बढाई मठ–मन्दिर, चर्च र गुम्बाहरूमा हुने राज्यको लगानीलाई प्रश्नको घेरामा उभ्याउनुपर्दछ। भौतिकवादी मतको सही पहिचान गर्न जनगणना गर्दा भौतिकवादीहरूको गणना अनिवार्य गर्न राज्यसँग माग गर्नुपर्दछ। साथै धार्मिक अन्धता, रुढिवाद, पितृसत्ता, जात व्यवस्था आदिबाट पीडितहरूलाई आर्थिक, कानूनीलगायत सहयोग गर्न भौतिकवादी समाज तत्पर रहनुपर्दछ। साथै किसान, मजदूर, निम्न वर्गका जनजीविकाका सवाल, राज्यसँग अधिकार प्राप्ति र स्रोत साधनमाथि पहुँचका सवालमा हुने सङ्घर्षहरूमा पनि आप्mनो वैज्ञानिक पक्षधरता स्पष्ट राख्नुपर्दछ। समग्रमा पाप र धर्म जस्ता अन्धविश्वासी अवधारणाबाट नभई सापेक्षिक न्याय र अन्यायको भौतिक कसीबाट भौतिकवादी समाजले आप्mनो राजनीतिक पक्षधरता स्वतःस्फूर्त तय गर्नुपर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here