नारायणी अस्पताल वीरगंजमा विगत एक महीनादेखि सर्पदंशका बिरामीहरूको चाप बढेको छ।
अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले एक महीनादेखि दैनिक १० जनाभन्दा बढी सर्पदंशका बिरामीहरू आउने गरेको बताए। उनले गर्मीयाममा सर्पदंशका घटना बढ्ने र अहिले अधिकांश गोमन र करेत सर्पदंशका बिरामीहरू आउने गरेको बताए। डा सिंहले दैनिक १० जना बिरामीमध्ये तीनजना गम्भीर र सातजना सामान्य खालका हुने गरेको बताए।
अस्पतालका अर्का चिकित्सक डा दिलीप चौरसियाले अस्पतालमा आउने बिरामीहरू सर्पदंश लगत्तै नआउँदा उपचारमा समस्या हुने गरेको बताए। सर्पदंश भएको पाँच/छ घण्टापछि बिरामीहरू अस्पतालमा आउँदा उपचारमा जटिलता उत्पन्न हुने गरेको बताउँदै डा चौरसिया सर्पदंश लगत्तै जतिसक्दो चाँडो अस्पताल आउन सुझाए।