काठमाडौं, ३१ जेठ/रासस

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँँदै भारत विजयी भएको छ।

अमेरिकाको न्यूयोर्कमा गएराति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो। लगातार तेस्रो जीत हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो। सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ। पाकिस्तान र क्यानडाको समान दुई अङ्क छ। आयरल्यान्डले अङ्क खाता खोल्न सकेको छैन।

खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा भारतले १८ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए। त्यस्तै, ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए।

अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहाँगीरलाई अर्शदीप सिंहले पहिलो बलमैं आउट गर्दै दबाब दिएका थिए। त्यसपछि नीतीश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए।

भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here