मुकुन्द आचार्य

हामीले तराई भेगमा रहँदा बस्दा सुनेका थियौं– चिडिया के जान जाए, लइका के खिलोना। अर्थात् बालबालिकाले कुनै चरा समाएर खेलाउन थाले भने चरा चैं मर्न सक्छ, बालबालिकाको लागि चैं त्यो फगत एक खेल मात्र हुन्छ। मनोरञ्जन हुन्छ। तर चराको ज्यान फुर्र…!
अचेल नेपालको राजनीतिक अवस्था हेर्दा बालपनको त्यो भोजपुरी उखान घरीघरी सत्य भइरहेको पाउँछौं। खासगरी राजनीतिक वृत्तमा। कमनिस्ट भनाउँदाहरू आफू आफैंमा लडिरहेका छन्, कुर्सीका लागि !
यौटा राजा थियो रे, नीरो भनिने। सिङ्गो शहर जलिरहेको अवस्थामा ऊ त बाँसुरीमा प्रेमरागको तान फुकिरहन्थ्यो भन्छन्। जनताको दुःख, सुखमा साथ नदिने शासक हो, सावधान !
हाल विश्वभरि नै कोरोना कहरको नाङ्गो नाच चलिरहेको छ। नेपालमा पनि नाङ्गो नाच हेर्न पल्केका जनतालाई नेताहरूले थरीथरीका नाच देखाइरहेका छन्। ‘कमरिया….।’ सुन्ने बित्तिकै कम्मर कर्माउनेहरूको लामो लाइन छ। नाच्न नआए पनि नाचे जस्तो गरेर नाटक देखाउने हाम्रा नेता र नेत्रीहरू धन्य छन्। तिनीहरूलाई भित्रैदेखि सलाम ठोक्न मन लाग्छ १ अर्थोकले ठोक्न मिल्दैन के गर्नु !
यो संसार यौटा रङ्गमञ्च हो। हामी त्यस रङ्गमञ्चमा नाटक देखाउने पात्र हौं। यो मैले हैन अङ्ग्रेजी साहित्यका प्रसिद्ध नाटककार शेक्सपियरले भनेका थिए रे। आफ्नो भूमिका पूरा गर्नासाथ माथि जाने टिकट पाइहालिन्छ। त्यसका लागि कोरोनाको सिफारिश चाहिन्न। भिसा पासपोर्ट पनि क्यै चाहिन्न।
जनताको लागि हैन, कुर्सीका लागि लडिमर्ने, मरिहत्ते गर्ने हाम्रा नेताहरूको शानदार ड्रामा अचेल विश्वव्यापीरूपमा हेरिंदै छ। प्रशंसा पनि पाएको छ, यो नेपाली नाटकले। महीनौंदेखि हाउसफुल चल्दैछ। एकताका खै कुन शहरमा हो शोले फिलिमले रेकर्ड बिट गरेको थियो रे १ हाम्रा नेताको कुर्सी खोसाखोस नाटकले पनि कुनै न कुनै कीर्तिमान कायम गरेरै छाड्छ। यसमा रौं बराबर शङ्का नगर्दा हुन्छ।
राजनीतिलाई फोहरी खेल भन्नेहरूको अन्तिम बसाइ र रोजाइ यै फोहरी खेल भइदिन्छ। कस्तो विडम्बना १ सुङ्गुरहरूले हिलो र मानव मललाई फोहर भन्न स्वाउँछ त !
तर अलि फराकिलो दृष्टिकोणले हे–यो भने त्यत्ति धेरै लाज मानिहाल्नुपर्ने अवस्था चैं छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेताको चरित्र कति निर्लज्ज हुन सक्छ, त्यसको राम्रो उदाहरण प्रस्तुत गरेर विश्वका नेताहरूलाई पथप्रदर्शन गरेका छन्। जाबो नेपालको के कुरा !
राष्ट्रपतिको चुनाउमा हारे पनि ट्रम्प आफ्नो हार मान्न तयार छैनन्। अमेरिका विश्वकै १ नम्बर देश। सबभन्दा धनी देश, सबभन्दा शक्तिशाली देश १ अनि नेता त्यस्ता जिद्दी (भोजपुरीमा थुथ्थुर) भएपछि बदमाशीमा पनि नम्बर वन १ यौटा लाज भन्ने छाडेपछि मान्ने सर्वत्र विजयी हुन्छ रे !
कुनै आधुनिक सन्तको वाणी यस्तो छ–
नेता ऐसो चाहिए, जैसे डोनाल्ड ट्रम्प
जीते जो ठीक, हारे तो मचादे  हडकम्प !!
यस्ता अनेक नाटक विश्व रङ्गमञ्चमा चलिरहन्छन्। एक नेताले भन्थे, नेपाली नेताहरूले जनताको ध्यान कोरोना भाइरसतिर धेरै नजाओस् भनेर यो कुर्सी नाटक थालेका हुन् रे ! होला…! हुन पनि सक्छ…! राजनीतिमा उच्च स्तरको नाटक दिनरात चलिरहन्छ भन्छन्। हो रै‘छ त गाँठे ! हामी भुइँमान्छेलाई के‘था !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here