ठोरी गाउँपालिकाका जनप्रतिनिधिहरूले राष्ट्रिय निकुञ्जको मौजुदा ऐन नियम जनमैत्री हुन नसक्दा विकास निर्माणमा समस्या भएको बताएका छन्। ठोरीका स्थानीयले अहोरात्र खटेर वन संरक्षण गरे पनि निकुञ्जको अव्यावहारिक ऐनका कारण जनतालाई नै निकुञ्जले सास्ती दिएको आरोप लगाएका छन्। ठोरी गापा–२ निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले बुधवार आयोजना गरेको जैविक विविधता संरक्षणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले संरक्षणमा नेपाली सेना र कर्मचारीभन्दा स्थानीय जनता बढी सक्रिय हुँदासमेत निकुञ्ज प्रशासनले कडाइ गर्दा जनतामा निकुञ्जप्रति नकारात्मक धारणा बन्दै गइरहेको बताए। उनले निकुञ्जको अव्यावहारिक नीति नियम र शैलीका कारण स्थानीय सरकारलाई मध्यवर्ती क्षेत्रका गाउँँमा विकास गर्न नै कठिनाइ भएको दाबी गरे। कतै न कतै निकुञ्ज प्रशासनको कारण स्थानीयलाई समस्या भइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले निकुञ्जसँग मिलेर काम गर्न पालिका तत्पर भएपनि निकुञ्जकै कारण करोडौंको पर्यटन विकासका बजेट फ्रिज भएको आरोप लगाए।
अध्यक्ष श्रेष्ठले पर्सा र चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको भएपनि पालिकाको विकासमा निकुञ्ज नै बाधक बन्ने गरेकोमा दुःख व्यक्त गर्दै उनले आफ्नो स्वामित्वमा रहेको खेतबाट माटो झिक्नसमेत निकुञ्जलाई सोध्नुपर्ने अवस्था अत्यन्त दुःखद भएको बताए। उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले ठोरीका स्थानीयले लामो समयदेखि संरक्षणमा प्रतिबद्ध भएर काम गर्दा पनि स्थानीयले वन पैदावार र गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको प्रयोग सहज ढङ्गले गर्न नपाउनु दुःखद भएको बताइन्। कतिपय अवस्थामा स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गर्न खोज्दासमेत निकुञ्ज बाधक बन्ने गरेको उनको भनाइ थियो।
ठोरी गापा–२ का अध्यक्ष अमृतकृष्ण सापकोटाले मध्यवर्ती क्षेत्र संरक्षणमा लागेको लामो समय भएपनि निकुञ्जको वनपैदावर र नदीजन्य पदार्थको उपभोगमा जनताले सास्ती भोग्नुपरेको गुनासो गरे। करोडौंको सम्पत्ति बगेर भारत जाँदासमेत निकुञ्जको अव्यावहारिक नीतिनियमकै कारण अब निकुञ्जविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति आइपरेको उनको भनाइ थियो।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली, रेन्जरलगायतले मन्तव्य राखेका थिए। ताल कार्यक्रमको सहयोगमा निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, निर्मल–ठोरी उपभोक्ता समितिका सदस्यहरू, सामुदायिक वनका प्रतिनिधिहरू, नेपाली सेनालगायत संरक्षणकर्मीहरूको सहभागिता थियो।