आफूहरूलाई त्यस बेला पूर्वग्राही ढङ्गले जागीरबाट निकाल्नेसम्मको चेतावनी दिएको र त्यस बेला मानसिक तनाव बेर्होनुपरेको पीडालाई अहिले भडासको रूपमा पोख्दै पीडित निजगढ नगरपालिकाका कर्मचारीहरूको ‘पाप धुरीबाट कराउँछ’ भन्ने स्टाटसले सामाजिक सञ्जालमा निजगढलाई तताएको छ। यो भडास निजगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेललाई लक्षित गरी स्टाटस लेखिएको पीडित कर्मचारीहरूले बताएका छन्।
साबिक आदर्श गाउँ विकास समिति निजगढमा वर्षौंदेखि कार्यरत कार्यालय सहायक विष्णुलाल श्रेष्ठ, धर्मराज लामिछाने, भगवती रिमाल, सोमसिंह बल र कार्यालय सहयोगीहरू टेकबहादुुर घिमिरे, डम्बर न्यौपाने र शेरबहादुर कटुवालीलगायतका कर्मचारीहरूलाई कामबाट निकाल्न हरसम्भव प्रयास गरेका तत्कालीन निजगढ नपा हाल बाग्मती नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगसहित भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पीडित निजगढका कर्मचारीहरूले सामाजिक सञ्जालमा मनका भडास पोखेका हुन्।
त्यस बेला आफूहरूलाई गाविसबाट आएका कर्मचारी भन्दै विभेद गर्दै निकै मानसिक तनाव दिएको र त्यस बेला हामी सबैलाई जागीरबाट निकाल्न हरसम्भव प्रयास गरेको र अनावश्यक दुःख, मानसिक यातनालाई सम्झँदै त्यस बेला हामी पीडित सबैले एकरूपता हुनेगरी उक्त स्टाटस सामाजिक सञ्जालमा सार्वजनिक गरेको पीडित कर्मचारीहरूले बताएका छन्।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलले त्यस बेला स्थानीय विकास मन्त्रालयका केही कर्मचारीलाई व्यक्तिगत प्रभावमा पारी दशकौंदेखि काम गर्दै आइरहेका गाविसका पुराना कर्मचारीहरूलाई जागीरबाट निकाल्ने नियतका साथ पूर्वाग्राही ढङ्गले मन्त्रालयबाट पत्र बनाएर ल्याइ दुःख दिने, तर्साउने गरेसँगै पीडित कर्मचारीहरूले त्यस पत्रको त्यसै बेला विरोधसमेत गरेका थिए। यदि मन्त्रालयले लागू गर्न भनेको भए उक्त पत्र सबै स्थानीय तहलाई सार्वजनिकरूपमा परिपत्र आउनुपथ्र्यो। तर प्रमुख प्रशासकीय अधिकृत पोखरेलले पूर्वाग्रहीरूपमा ल्याएको उक्त पत्र थियो, त्यस बेलाका पीडित कर्मचारी विष्णुलाल श्रेष्ठ, धर्मराज लामिछानेलगायतले भने।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलको पूर्वाग्रही प्रतिशोधमा परेकी कर्मचारी भगवती रिमालले बढुवासम्बन्धी तत्कालीन पुनरावेदन अदालत हेंटौडामा मुद्दा दायर गरेपछि पीडित पुराना कर्मचारीहरूका हकमा समेत अदालतबाट निषेधाज्ञा जारी भएपछि प्रमुख प्रशासकीय अधिकृत पोखरेलको पूर्वाग्रही प्रतिशोधसहितको योजना विफल हुन पुगेको पीडित कर्मचारीहरू बताउँछन्।
साबिक गाविसमा कार्यरत सातजना २०७२/७३ मा प्रमुख प्रशासकीय अधिकृत पोखरेलले हामीमाथि गरेको अन्याय सहन गर्नै नसक्ने अवस्थाको रहेको सम्झँदै अरूलाई सिध्याउन खोज्नेलाई ढिलै भएपनि देखाउने रहेछ। त्यस बेला पीडित कर्मचारीहरूले भने। पोखरेल अहिले आफैं निलम्बनमा परेका छन्।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा सर्लाहीको बाग्मती नगरपालिकाका प्रमुख भरतबहादुर थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूमाथि ३० करोड २९ लाख ३४ हजार बिगो कायम गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ।
स्थानीय तहका जनप्रतिनिधिको दम्भमा कानूनविपरीत कार्य गर्दै उनीहरूमाथि माछापोखरी निर्माण अर्थात् भरत ताल निर्माणको आवरणमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी व्यापकरूपमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। नगरप्रमुख थापासहित सबै प्रतिवादीविरुद्ध गलत लिखत तयार पारेको, गैरकानूनी हानिनोक्सानी गरेको र गलत प्रतिवेदन तयार पारेकोलगायतका कसूर लगाइएको छ।