अहिले गर्मी उत्कर्षतिर छ। हरेक दिन तापक्रम ४० डिग्रीको हाराहारीमा रहन थालेको छ। कुनै दिन अझ अलिकति माथि पारा चढ्छ। कुनै दिन अलिकति तल झर्छ। कुनै दिन हावा चल्छ। कुनै दिन हावा चल्दैन। कुनै दिन तातो हावा चलेर झन् उखरमाउलो गर्मी बनाइदिन्छ। कुनै दिन अलिकति कम घाम लागेको जस्तो त देखिन्छ तर गर्मी भने कम हुँदैन। कुनै दिन घामसँगै हावा पनि चलेको हुन्छ। यसरी हरेक दिनले गर्मीसँगै आफ्नो पृथक स्वरूप देखाइरहेको छ। हुनत यो गर्मीको मौसम हो। गृष्म ऋतु पनि हो। अहिले गर्मी नभए कहिले होला ? गर्मीमा गर्मी त हुनुपर्छ पनि। गर्मी भएन भने वर्षा हुँदैन भनिन्छ तर पनि जसले गर्मी भोग्नुपर्छ, उसलाई गर्मीले कति छटपटी पारेको छ भन्ने थाहा हुन्छ।
गर्मी व्यक्तिगत अनुभूति मात्र होइन। वातावरणमा समानरूपमा रहने सबैलाई समान नै अनुभूति हुन्छ। तर भोगाइको तरीका भने पृथक हुन सक्छ। गर्मीको यो उत्कर्ष मौसममा यदि कसैको घर, कार्यालय तथा गाडीमा एसी जडान गरिएको छ भने धेरै प्रभाव पारेको जस्तो लाग्दैन। यदि काम गर्ने थलोमा पनि मौसम अनुकूल चीसो वा तातो बनाउने छ भने धेरैलाई राम्रो हुन्छ। घरमा पनि त्यही अनुकूल वातावरण हुँदा मानिसलाई खासै गर्मीको अनुभूति हुँदैन तर सामान्य शहरी नागरिक र विपन्न समुदायलाई गर्मीले पार्नुसम्म अप्ठ्यारो पारेको हुन्छ र छ पनि। सामान्य अर्थात् मध्यम वर्गको लागि गर्मी महीना निकै कष्टकर भइरहेको छ। एकाबिहानै घाम चर्केर गर्मीले कतै निस्कन नहुने बनाइदिएर जीवनलाई अत्यन्त पीडादायी बनाएको देखिन्छ। घाम यति हुन्छ कि घाममा काम गर्दा टाउकोमा गम्छाले बेरेको भए पनि फुटलाजस्तो हुन्छ। सामान्य नागरिकले काम गर्ने प्रत्येक थलोमा पानीको व्यवस्था हुन्छ नै भन्ने होइन। राम्रोसित खानेपानीको व्यवस्था नहुँदाको अवस्थामा अहिलेको गर्मी र घाममा कसैलाई काम गर्न अत्यन्त पीडाको अवस्था हुने गरेको छ र यस्तो पीडामा पर्ने समुदाय भनेकै विपन्न समुदाय हो।
अत्यधिक गर्मी भएपछि धेरै ठाउँमा विद्यालय नै बन्द गरिएको छ। कतिपय ठाउँमा समय परिवर्तन गरेर पढाइ भइरहेको छ। कतिपयले समय कटौती र विद्यालय बन्दको विरोध गरिरहेका छन्। घरमा बस्दा पनि गर्मी हुन्छ र विद्यालयमा बस्दा पनि गर्मी नै हुन्छ अर्थात् बिदा दिएपछि गर्मी कम हुँदैन भने किन बिदा दिने ? यस किसिमको प्रश्न उठाउन थालिएको छ तर यसमा विचार गर्नुपर्ने कुरा यो छ कि विद्यालयमा एउटा कोठामा ५० देखि सयौंजनासम्म बस्नुपर्ने हुन्छ। हावा चलेको हुँदैन र पङ्खाले राम्ररी काम गरेको छैन भने त्यस्तो कोठामा पढ्न बसेको बालबालिकाको अवस्था कस्तो हुन्छ ? के तिनीहरूले अक्सिजन राम्ररी पाइरहेका हुन्छन् त ? हरेक सामुदायिक विद्यालयमा पङ्खाको व्यवस्था छ नै भन्ने होइन। अझ कतिपय विद्यालयको छानो टिनको रहेको छ। राम्रोसित हावा आरपार नहुने कोठामा कैयौं दर्जन कोच्चिएर बस्नुपर्दा गर्मी चर्केको दिन विद्यार्थीहरू मूर्छित हुने गरेका पनि सुनिन्छन्। यही अवस्था संस्थागत विद्यालयमा हुँदैन। यसैले कतिपय विद्यालय चाहिं अत्यधिक गर्मी भएपछि बन्द गरिदिने चलन रहेको छ। आखिरमा एक वर्षमा विद्यालयले दिनुपर्ने बिदा भनेको ४५ दिन हो। यही बिदालाई गर्मी, वर्षा वा जाडो जहाँ मिलाएर पटकपटक वा एकैपटक जसरी अनुकूल पर्छ, त्यसरी दिएको राम्रो। अहिले गर्मी निकै चर्केपछि धेरैले वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा विद्यार्थीका लागि बिदा दिइएको अवस्था रहेको छ। विद्यालयमा बिदा दिइनुको मूल कारण अत्यधिक चर्को गर्मी हुुनु हो।
अत्यधिक गर्मी भएपछि बालबालिकालाई घरमा पनि अप्ठ्यारो नै हुन्छ तर घरमा हुँदा बालबालिकालाई यत्ति थाहा हुन्छ कि कुन ठाउँमा अलिकति हावा लाग्छ। वा कुन ठाउँमा खेल्न जाँदा साथीहरू पनि हुन्छन् र शीतल पनि हुन्छ। गाउँमा बगैंचा, ठूलो बाँसघारी तथा यस्तै कुनै धेरै ठूलो रूखको मुनि बालबालिकाहरूको समूह खेलिरहेको भेटिन्छ। ठूलो रूख वा बगैंचामा तुलनात्मकरूपमा यत्तिकै अलिकति बढी शीतल हुन्छ वा अलिकति बढी शीतलताको अनुभव हुने हुन्छ। यो वास्तविकता पनि हुन सक्छ वा मनोवैज्ञानिक प्रभाव तर बगैंचातिर के साना र के ठूला सबै उमेरका मानिसहरूको आकर्षण रहेको हुन्छ। मुख्यगरी निम्न वर्गका मानिसहरू अत्यधिक गर्मीको समयमा आसपासका रूख रोज्छन्, शीतल छहारी खोज्छन्। हुनेखानेहरूले त गाउँमा पनि एसी लगाउन थालेका छन्, अझ कतिपयले त आफ्नो गाडीको एसी खोलेर बस्ने गरेका छन्, केही बेरको लागि। नभए घरमा कुलर राखेका छन्। पङ्खाहरू खोलेर आफूलाई शीतल बनाउने प्रयास गर्छन्। अनेक किसिमका पेय पदार्थहरूको सेवन गरी शीतलताको अनुभूति गर्दै गर्मीलाई कटाइरहेका हुन्छन् तर विपन्न समुदायको अगाडि भने यस किसिमको सुविधा वा छुटको अवस्था हुँदैन। यस कारण कुनै रूखको तल शीतल छहारीमा गम्छा बिछ्याएर त्यसैमा आराम गरिरहेका हुन्छन्। वास्तवमा समय पास गरेका हुन्। गर्मी छलेका हुन्। प्राकृतिक वातावरणमा गर्मी छल्ने विपन्न समुदाय गर्मीका अगाडि निरीह हुन्छ।
गर्मीले सबैभन्दा बढी समस्या महिलालाई हुन्छ। महिला अझ यदि सुत्केरी छन् वा साना छोराछोरी छन् भने अझ धेरै गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपरिरहेको हुन्छ। गर्मीको अत्यन्त कडा प्रकोपबाट आफूलाई जोगाउँदै आफ्ना सन्तानलाई आमाले जोगाउनुपरेको हुन्छ। यही परिवेशमा भातभान्साको काम पनि गर्नुपर्ने हुन्छ। एक त गर्मीले घरभित्र बस्न नसकिने अवस्था हुन्छ, त्यसमा पनि आगोको छेउमा बसेर सबैको लागि खाना पकाउनु, खुवाउनु र भाँडा माझ्नुपर्ने हुन्छ। वास्तवमा भान्साको काम, अहिलेको चरम गर्मीको समयमा, कुनै युद्धमा काम गर्नु सरह नै रहेको छ। गर्मीको मौसममा बिहे भएर आएकी विपन्न समुदायकी बुहारीलाई पनि त्यत्तिकै अप्ठ्यारो हुन्छ। घरबाट बाहिर निस्कन नहुने चलन र गर्मीले घरभित्रका मानिसलाई बढी सताउने हुन्छ। यसरी दोहोरो गर्मीको मारमा नयाँ बुहारीहरूको दैनिकी चलिरहेको हुन्छ। जुनसुकै अवस्थामा होओस्, जतिसुकै कठिन किन नहोओस्, हरेक मानिसले खाना त खानुपर्छ। खाना त पकाउनुपर्छ। कुनै दिन यस्तो हुन्छ, बाहिर वा भित्र कतै हावा चलिरहेको हुँदैन। अलिकति पनि पात हल्लिइरहेको हुँदैन, पूरै हप्प हुन्छ, त्यस समयमा पनि गृहिणीहरू गर्मीसित जुध्दै भातभान्साको काम गरिरहेका हुन्छन्। यस्तो अवस्थामा मुख्यगरी ग्रामीण विपन्न समुदाय भगवान्लाई गुहारिरहेका हुन्छन्। भगवान्ले किन यत्ति धेरै गर्मी गरेका हुन्, जसबाट विपन्न समुदायलाई बाँच्न कठिन भइरहेको छ।
हरेक कठिन दिन कटेर जान्छ भन्ने विश्वास छ विपन्न समुदायलाई। जब धेरै गर्मी हुन्छ, तब गरीबहरू महीना र मौसमको दिन गन्न थाल्छन्। अब यो कठिन दिन यत्ति दिन मात्र छ। यत्ति दिनपछि त पानी पर्न शुरू भइहाल्छ। यो कठिन दिनमा पनि यत्ति कटिइ नै सक्यो। यसरी मनोवैज्ञानिकरूपले आफूलाई आश्वस्त पार्दै विपन्न समुदायले गर्मीलाई काटिरहेका हुन्छन्। गर्मीको जतिसुकै बेफाइदा भएपनि एउटा कुरा के सजिलो हुन्छ भने सर्वसाधारण गरीबहरू जहाँ पनि सुत्न सक्छन्। भुइँमा गम्छा बिछ्याएर हरियो घाँसमा पल्टिंदा धनीहरूलाई लोभ लाग्छ। रातमा घरको अगाडि, बरन्डामा अथवा सडकको छेउमा एउटा सुकुल ओछ्याएर त्यसैमाथि सुतेर रात काट्न सक्छन्। दिउँसो चिरिक्क चर्केको गर्मीमा पनि कसैको बगैंचामा पुगेर भुइँमा बसेर वा पल्टेर समय काटिरहेका हुन्छन्। यस किसिमको सुविधा वा छुट कुनै पनि गाउँका धनीका लागि भने हुँदैन। शहर बजारका धनी मानिसले एसी लगाउन सक्छन् तर
यस किसिमका मानिसको मनमा पनि ग्रामीण विपन्नको प्राकृतिक जीवन राम्रो हो भन्ने परिरहेको हुन्छ। बाध्यात्मक अवस्था नै सही, तर ग्रामीण विपन्न समुदायलाई प्राकृतिक, खुल्ला वातावरणमा अक्सिजन लिंदै गर्मी कटाउने सुविधा भने हुन्छ। ग्रामीण किसानहरूले गर्मीको कठिन दिन अब बिस्तारै कम हुँदै गइरहेको बुझिरहेका छन्। ब्याडमा धानको बेर्ना उम्रिंदै र हुर्किंदै गरिरहेको देखेर अब केही दिनमा रोपाइँको कल्पना गर्दै किसानहरूले अभ्यन्तरमा शीतलताको अनुभूति गरिरहेका छन्।