काठमाडौं, २७ जेठ/रासस

अस्ट्रेलियाले आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ।

बार्बाडोसमा गएराति सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको थियो।

अस्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए। उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका थिए। त्यस्तै, ट्राभिस हेडले ३४ रन बनाए। उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन्। कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए। ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए।

इङ्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए। २०२ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै १६५ रनमा समेटियो। इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा  पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए।

त्यस्तै, फिल साल्टले ३७ रन जोडे । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। मोइन अलीले २५, ह्यारी बु्रकले २०, लियाम लिभिङस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए। अस्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई/दुई विकेट लिए। यससँगै अस्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here