वाइवाई यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा कैलाली विजयी भएको छ।
आइतवार सम्पन्न खेलमा कैलालीले अछामलाई आठ विकेटले हरायो। अछामले दिएको १०१ रनको लक्ष्य कैलालीले दुई विकेटको क्षतिमा पूरा ग–यो। कैलालीका लागि रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनको योगदान गरे। अछामका युवराज खत्री र निराजन गौतमले एक/एक विकेट हात पारे।
त्यसअघि परशुराम नगरपालिका–१२ स्थित जोगबुढा रङ्गमैदानमा पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव दुई ओभरमा एक सय रनमा अलआउट भयो। उसका लागि रविन भण्डारीले ४३ रन जोडे भने अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। कैलालीका दीपक रोकाया एक्लैले छ विकेट हात पारे। खेलका ‘प्लेयर अफ दी म्याच’समेत चुनिएका दीपकले आठ दशमलव दुई ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए।
प्रतियोगिता अन्तर्गत भोलि कञ्चनपुर र बझाङबीचको खेल हुनेछ। समूह ‘बी’को शीर्ष स्थानमा रहने टोली फाइनलमा बैतडीसँग भिड्नेछ। समूह ‘ए’बाट बैतडी शतप्रतिशत नतीजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ। यही जेठ २० गतेदेखि शुरू प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।