-अनन्तकुमार लाल दास

विद्यालय वर्तमान समाजको अभिन्न अङ्गको रूपमा स्थापित भइसकेको छ। कुनै पनि समाजको उत्थान र पतन त्यहाँ सञ्चालित विद्यालयको काँधमा निर्भर रहन्छ। यसबारे मैले आप्mना शिक्षक साथीहरूसँग धेरै पटक छलफल गरेको छु किनभने विद्यालय समाजको ऐना हो। जस्तै ऐनामा आप्mनो अनुहार जस्ताको त्यस्तै हेर्न सकिन्छ त्यस्तै कुनै पनि समाजमा सञ्चालित विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई हेरेर, उनीहरूको क्रियाकलापको अवलोकन गरेर त्यस समाजबारे धेरै कुरा जान्न र बुझ्न सकिन्छ। यहाँ के प्रश्न उठ्छ भने के विद्यालय समाजको अभिन्न अङ्ग हो त ?

यसभन्दा पहिलेका धेरै आलेखहरूमा मैले विद्यालयको खस्कँदो अवस्थाबारे चर्चा गरेको छुँ र जवाफमा मेरा धेरै शिक्षक साथीहरूले भने हामीले जतिसुकै गरे पनि अभिभावकहरूले ध्यान दिएनन् भने उनीहरूको सन्तान सप्रने छैनन्। हामी पनि त त्यसै समाजका अङ्ग हौं। सही भन्ने हो भने जुनसुकै संस्थामा काम गर्ने मानिस कुनै न कुनै समाजबाट नै त्यहाँ पुगेका हुन्छन्। यदि समाजमा नै गिरावट आइरहेको छ भने कुनै पनि संस्था त्यसबाट अछूतो रहन सक्दैन। यति मात्र हैन राजनीतिबारे के भन्न थालिएको छ भने जस्तो समाज हुन्छ त्यस्तै राजनीति पनि हुन्छ। मलाई लाग्दछ मैले उठान गरेको सवाल केही हदसम्म स्पष्ट भइसकेको होला। यस कारण के भन्न सकिन्छ भने विद्यालय समाजको अङ्ग भएकोले यसले समाजको संस्कृति पनि प्रतिविम्बित गर्दछ।

यसबारे चर्चापरिचर्चा गर्दा धेरै प्रतिक्रियाहरू पाएँ। कसैले भने विद्यालय पनि समाजजस्तै हुन्छ किनभने त्यहाँ पनि राम्रो र नराम्रो दुवै कुरा हुन्छ। कसैले भने होइन विद्यालय र समाज फरक–फरक हुन्छ किनभने विद्यालयमा शिक्षकहरूले विद्यार्थीहरूलाई राम्रो कुरा मात्र सिकाउँछन्। केही शिक्षकले समाजको नराम्रो कुराको प्रभाव विद्यालयमा पनि देखापरिरहेको स्वीकार गरे र छलफलमा उनीहरूले विस्तारै के स्वीकार गरे भने विद्यालय सैद्धान्तिक रूपमा समाजको ऐना होइन, किनभने विद्यालयको केही दायित्व हुन्छ, जसका लागि विद्यालयले काम गरिरहेको हुन्छ।

यहाँनिर आधुनिक शिक्षाको सन्दर्भमा आधुनिक विद्यालयको कुरो गरिरहेको छु। पारम्परिक विद्यालय प्रणाली यस भन्दा धेरै भिन्न थियो। आधुनिक विद्यालयको शुरूआत यूरोपमा औद्योगिक क्रान्तिपछि अस्तित्वमा आयो, जुन बेला कलकारखानाको छेउमा कोलोनीको रूपमा स्थायी बसोवास हुन थाल्यो। यो ज्ञानविज्ञानको तीव्र विकासको युग थियो। औद्योगिक क्रान्तिपछि लोकतान्त्रिक राज्य व्यवस्थाको बीउ अनेकौं राष्ट्रमा रोपिन थालेको थियो। परिणामस्वरूप विकसित भइरहेको नयाँ दुनियाँका लागि नयाँ मानिसको परिकल्पना गर्न थालिएको थियो। यस बेला औद्योगिक क्रान्तिले एउटा नयाँ समाज जन्माइसकेको थियो। त्यस बेला विद्यालयको प्रमुख काम विद्यार्थीहरूको समाजीकरण तथा संस्कृतीकरण थियो, जसमा पछि ज्ञान हस्तान्तरण गर्ने काम जोडियो। पाश्चात्य जगत्मा फ्रान्सिसी क्रान्तिको तीन सन्देश–स्वतन्त्रता, समानता र बन्धुत्व लोकप्रिय हुन थालेको थियो।

समाजशास्त्रीहरूका अनुसार विद्यार्थीहरूको समाजीकरणको प्रक्रिया उसको जन्मदेखि नै परिवारबाट प्रारम्भ हुन्छ। मानिस सामाजिक प्राणी हो। वयस्क हुने प्रक्रियामा उसलाई समाजको रीतिरिवाज, रहन–सहन, संस्कृति आदि पनि सिक्नुपर्छ। यस कारण परिवारलाई विद्यार्थीहरूको प्राथमिक पाठशाला पनि भन्ने गरिन्छ र आमाबुवालाई पहिलो शिक्षक। विद्यालय यस प्रकारको समाजीकरणको दोस्रो कडी हो र व्यवसाय वा जागीर यसको अन्तिम कडी। संस्कृति भन्नाले सामाजिक मूल्य र मान्यता, रीतिरिवाज, दृष्टिकोण र गरिने व्यवहार हो। समाज भनेको मानिसहरूको समूह हो। यस कारण शिक्षाको सम्बन्ध सामाजिक र सांस्कृतिक व्यवहारसँग जोडिन्छ। हाम्रो देशमा पनि प्रजातन्त्र प्राप्तिपछि विद्यालयहरू खुल्न थाले। धर्म, जाति र लैङ्गिक आधारमा विद्यालय प्रवेशमा कुनै पनि प्रकारको रोक आज छैन। यसको साथै आधुनिक विज्ञान र गणितलाई पनि शिक्षामा सामेल गरिएको छ।

विद्यालय शिक्षाको मूल एकाइ हो। त्यहाँ सिक्ने, सिकाउने प्रक्रिया अनवरत सञ्चालन भइरहन्छ। यो परिवारपछि परिवार जस्तै एउटा एकाइ हो। सिक्ने र सिकाउने प्रक्रिया शिक्षक र विद्यार्थीबीच चलिरहन्छ। यस कारण शिक्षक र विद्यार्थीबीचको सम्बन्धले पनि विद्यालय संस्कृतिको निर्माणमा अहम् भूमिका निर्वाह गर्दछ। यसलाई विद्यालय र समाज जोड्ने कडीको रूपमा पनि लिन सकिन्छ। यदि विद्यालयलाई एउटा आदर्शको रूपमा स्थापित गर्नुछ भने पनि यो कार्य एक्लै सम्भव छैन। यो सतत् प्रयास हुन्छ, जो समाज सापेक्ष छ।

कुनै संस्थागत वा समुदाय विशेषद्वारा सञ्चालित विद्यालय समुदाय विशेषको आदर्शमाथि सञ्चालित हुन सक्छ तर सरकारी विद्यालयलाई यसो गर्ने छुट छैन। सरकारी विद्यालयले त पूर्णतया लोकतान्त्रिक मूल्य अँगाल्नुपर्छ। यहाँनिर सोच्नुपर्ने कुरो के हो भने यदि विद्यालयको आदर्श स्थानीय समुदायको मूल्य र मान्यता विपरीत छ भने तनावको स्थिति उत्पन्न हुन सक्छ। उदाहरणका लागि स्थानीय समुदायले केटीहरूलाई केटाभन्दा भिन्न राख्छ भने उसको चाहना कक्षामा केटा र केटी बेग्लाबेग्लै बेंचमा बसून् भन्ने हुन सक्छ। यदि विद्यालयले यसलाई ग्रहण गर्छ भने यो लैङ्गिक समानताको विपरीत हुन्छ। शिक्षण विज्ञानको मान्यता के हो भने विद्यार्थीहरूले रटेर होइन बुझेर सिक्ने प्रयास गर्नुपर्छ। यसको लागि उनीहरूभित्र उत्सुकता र प्रश्न सोध्ने बानी विकास गर्नुपर्छ। यसका लागि शिक्षकहरूले बढी उपक्रम गर्नुपर्ने हुन्छ। यस अवस्थामा विद्यालय र समुदायबीचको सम्बन्ध महत्वपूर्ण हुन जान्छ। यस कारण विद्यालयले आप्mनो भूमिका निर्वाह गर्दै समाजको विश्वास हासिल गर्ने प्रयत्न पनि गर्नुपर्छ।

हाम्रोजस्तो विकासशील देशमा वञ्चित समूहलाई अगाडि ल्याउन जुन प्रकारको सशत्तीmकरण कार्यक्रम चलिरहेको छ त्यसको सफलता तीन सङ्केत–प्रतिनिधित्व, सहभागिता र अभिव्यक्तिको माध्यमले मापन गर्न सकिन्छ। आधुनिक शिक्षा प्रणाली विद्यार्थीहरूको स्वतन्त्र ज्ञानोपार्जनमा विश्वास गर्दछ। आज सरकारी विद्यालयहरूमा गरीब तथा लक्षित समुदायका बालबालिकाहरू मात्र पढ्ने गर्छन्। विद्यार्थीहरू प्रायः निर्बल श्रेणीमा पर्छन् र त्यसमा पनि गरीब परिवारका हुन्छन्। त्यस्ता धेरै परिवार मौन संस्कृतिमा जीवनयापन गर्छन्। यस कारण त्यस्ता विद्यार्थीहरूप्रति शिक्षकहरूले बढी ध्यान दिनुपर्ने हुन्छ।

आधुनिक शिक्षा प्रणालीले गतिविधिमा आधारित शिक्षण बढी उपयुक्त हुने कुरामा जोड दिएको छ। यस कारण विद्यालयहरूले आन्तरिक शिक्षण पद्धतिमा सुधार ल्याउनु र गतिविधिमा आधारित शिक्षण पद्धति अँगाल्नु वर्तमानको खाँचो हो। विद्यालयहरूले आआप्mना गतिविधिको क्षेत्र बढाउनुपर्ने खाँचो छ। विभिन्न प्रकारका गतिविधिहरूमा विद्यार्थीहरूको सहभागिता र सक्रियता बढाउनुपर्छ। विद्यार्थीहरूलाई खुलेर बोल्ने, आप्mनो अभिव्यक्ति व्यक्त गर्ने समुचित अवसर प्रदान गर्नुपर्छ। यसरी पारम्परिक तवरले सञ्चालित हुने सङ्क्रमित विद्यालयहरूलाई आधुनिक विद्यालयमा परिवर्तित गर्नुपर्छ।

आज यस्ता विद्यालयहरूलाई बढी समावेशी र गुणात्मक बनाउनुपर्छ। यसका लागि हाम्रो पाठ्यक्रममा पनि केही सुधार ल्याउनुपर्छ। विद्यार्थीहरूलाई आफैं गरेर सिक्ने र सिकेको कुरा अभिव्यक्त गर्ने अधिकाधिक अवसर प्रदान गर्नुपर्छ। विद्यार्थीहरूबीच हुने प्रतिस्पर्धाको ठाउँमा एक अर्काबाट सिक्ने र पारस्परिक सहकार्यको प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्छ। उनीहरूमा आत्मविश्वास उत्पन्न गर्नुपर्छ। केटाकेटीहरूको क्षमता उजागर गर्न प्रश्न गर्ने बानी विकसित गर्नुपर्छ।

विद्यार्थीहरूले सामूहिक गतिविधि गर्ने खालको वातावरण विद्यालयमा निर्माण गर्नुपर्छ। आज विद्यालयलाई आदर्श बनाउने मार्गको सबैभन्दा ठूलो चुनौती विद्यालय समुदायबीच अवस्थित छ। विद्यार्थीहरू आप्mनो दुईतिहाई समय जुन परिवेशमा व्यतीत गर्छन्, त्यहाँ भएको मूल्य र मान्यताबाट बढी प्रभावित हुन्छन्। आज शिक्षक समूहले स्थानीय समुदायसँग निरन्तर अन्तक्रिया गर्नुपर्ने खाँचो छ। विद्यालयहरूले शैक्षिक विमर्शलाई निरन्तरता दिनुपर्छ। शिक्षा वास्तवमा बन्धन मुक्त हुनुपर्छ। पठ्यपुस्तकको बढ्दो भीड र गृहकार्यको बोझले गर्दा आज विद्यार्थीहरूभित्र रहेको रचनात्मकता समाप्त भइरहेको छ। आज कहीं न कर्हीं शिक्षकहरू पनि दोषी छन् जस्तो लाग्न थालेको छ किनभने आज दिइने शिक्षालाई ‘भारी’ भनेर पनि परिभाषित गरिएको छ। यस कारण आधुनिक शिक्षण प्रणाली अनुसार विद्यालयलाई आनन्दालय बनाउनु पनि आजको प्रमुख आवश्यकता हो।

अन्त्यमा केही प्रश्न, जसबाट हामीले स्वयं आआप्mनो विद्यालयको समीक्षा गर्न सक्छौं त्यो के हो भने हाम्रो लागि विद्यार्थीहरू को हुन् ? विद्यालयमा उनीहरू के र कसरी अगागि बढिरहेका छन् ? के हामीले विद्यार्थीले चाहेजस्तो ज्ञान दिइरहेका छौं ? उसमा भएको सृजनशीलता विकसित गर्न विद्यालयले के–के प्रयास गरिरहेको छ ? बाह्य यथार्थसँग विद्यार्थीहरूको सम्बन्ध कस्तो छ ? यस्ता केही प्रश्नको सही जवाफ खोज्न सकियो भने विद्यालयलाई स्वस्थ र लोकतान्त्रिक संस्कृतिको प्रवद्र्धनमा सहयोगी बनाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here