प्रस, निजगढ, २६ जेठ/

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेसँग पार्टी एकीकरणको कुरा बजारी हल्ला मात्र भएको र यसमा रतीभर सत्यता नभएको बताएका छन्।

शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा नेता खनालले अहिले पार्टी एकता कसैसँग नहुुने बताए। उनले हाम्रो पार्टी कुनै पार्टीसँग अहिले एकीकरण हँुदैन भन्दै अहिले पार्टी सम्पूर्णरूपमा महाधिवेशनमा होमिएको र महाधिवेशनले नयाँ कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्ने बताए।

नेता खनालले पार्टीको महाधिवेशनपछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएमा एकीकरण हुने सम्भावना रहने बताए। उनले महाधिवेशनले पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिकरूपले नयाँ उचाइमा पु–याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने बताए। नेकपा (एकीकृत समाजवादी)को आगामी असार १६ देखि २० गतेसम्म हुने १०औं महाधिवेशनमा चारवटा एजेन्डामाथि छलफल हुने बताए। वरिष्ठ नेता खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधानलगायत चारवटा ऐतिहासिक दस्तावेज पारित गरिने जानकारी गराए।

पत्रकारहरूले सोधेका प्रश्नका उत्तर दिने क्रममा उनले सरकारले सार्वजनिक गरेको बजेट हतारमा ल्याएको भएपनि विगतको तुलनामा राम्रो भएको दाबी गरे। अहिलेको सरकारको समीकरणमा मिलाउनुपर्ने धेरै कुरा बाँकी रहेकाले यसलाई मिलाउँदै गए यो सरकारको आयु अर्को निर्वाचनसम्म पुग्ने र यदि मिलाउन सकिएन भने अनेकौं सम्भावना रहने बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेर प्रतिपक्षको भूमिका देखाउँदै आएकाले सत्तामा रहेका अरूलाई आरोप लगाउने हैसियत नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here