प्रस, पोखरिया, २६ जेठ/

पोखरिया अस्पतालको सहयोगमा मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा पोखरिया अस्पतालमा पाठेघर झर्ने समस्यासम्बन्धी निश्शुल्क शल्यक्रिया शिविर शनिवार सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहानले उद्घाटन गरेका थिए। उनले पोखरिया नगरपालिकामा गरीब, दलित, जनजाति, अल्पसङ्ख्यक मुस्लिम समुदायको बसोबास रहेको र यी समुदायका महिलाहरूका पाठेघर झर्ने समस्या विकराल देखिएको बताए। उनले आर्थिक अवस्था कमजोर रहेका महिलाहरूका लागि रोग निदान गर्न आयोजित निश्शुल्क शिविर निकै प्रभावकारी हुने दाबी गरे।

नगरप्रमुख चौहानले यस्तो काममा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य निरीक्षक विनोद यादवले बालविवाहका साथै बढी बच्चा जन्म दिने महिलाहरूमा पाठेघर झर्ने समस्या बढी हुने गरेको बताए।

उनले पोखरियालगायतका पालिकाहरूमा यस प्रकारको निश्शुल्क शिविर सञ्चालन गरिने बताए। कार्यक्रममा वडाध्यक्ष लक्ष्मण साह कानू, निमित्त मेसु डा अनिल यादव, नेता नेजामुद्दीन समानी, डा सञ्जय गुप्ता, फोकल पर्सन अनिल मिश्रलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्वागत स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले गरेका थिए। शनिवार आयोजित शिविरमा १४ जना पाठेघर झर्ने समस्या भएका महिला

फेला परेका र त्यसमध्ये तीनजनाले शल्यक्रिया गराइसकेका, चारजना भरतपुरमा शल्यक्रियाका लागि गएका र बाँकी सातजनाको शल्यक्रिया गरिने स्त्रीरोग विशेषज्ञ डा तेजशङ्कर यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here