– विश्वराज अधिकारी

सुनीलले महेश अङ्कलको कथा मलाई यसरी सुनाएका थिए–

“आइतवारको दिन थियो। हामी, म र महेश अङ्कल, ओक्लहोमा सिटी जाँदै थियौं। ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी। हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्री खरीद गर्न हामी एक वा दुई महीनामा एकपटक त्यहाँ जाने गथ्र्यौं। म अमेरिका आएको छ महीना मात्र भएको थियो। तर महेश अङ्कल आएको २५ वर्ष जति भइसकेको थियो। उहाँको बसाइ लामो भएकोले सबैथोकको व्यवस्था मिलाइसक्नुभएको थियो। राम्रो जागीर, आफ्नै घर अनि बैंकमा केही बचत पनि। करीब–करीब सबैथोक। म भने भरखर गृहस्थी बसाउने तरखरमा थिएँ। आउँदा–आउँदै शुरूको अवस्थामा यहाँ आउनेहरूले भोग्नुपर्ने पीडा, समस्या, चुनौती, अवसर, उमङ्ग आदि मिसिएको परिस्थितिको पोको बिस्तारै खोल्दै थिएँ। प्रवासमा बस्दा मनमा उठ्ने आशा र निराशाका ज्वारभाटाहरूको लेखाजोखा गर्ने प्रारम्भिक अवस्थामा म थिएँ।

म बस्ने शहर, नोरमेनमा आफ्नो निजी गाडी नभएमा अति नै समस्या हुने रहेछ। यहाँसम्म कि सामान्य खाद्य सामग्री खरीद गर्नसमेत आफ्नो गाडी चाहिने रहेछ। वा भनौं आफ्नो गाडी भएपछि निकै सजिलो हुने रहेछ। मसँग गाडी नभएकोले कहिले योसँग कहिले ऊसँग राइड मागेर काम चलाइरहेको थिएँ। यस्तो अवस्थामा म बसेको शहरदेखि ओक्लहोमा सिटी २०–२५ माइल टाढा भएकोले त्यहाँसम्म पुग्न महेश अङ्कलसँग मैले राइड मागेको थिएँ। उहाँ पनि सपिङ गर्न त्यतै जाँदै हुनुहुन्थ्यो र मलाई पनि केही सामान ल्याउनु थियो, खासगरी दाल, चामल, जीरा, धनिया, परबर, करैला, भुजिया, पापड, सुपारी आदि आदि। यी सामानहरू प्रायः इन्डियन स्टोरहरूमा मात्र पाइन्छन्।

सपिङ गरेर नोरमेन फर्किन हामीले ओक्लहोमा सिटीबाट बाहिर निस्केर आई–३५ हाइवेमा प्रवेश गर्नु थियो। अनि त्यसपछि आई–३५ हाइवेबाट हाइवे–७७ मा प्रवेश गरेर केही क्षण ड्राइभ गरेपछि नोरमेन प्रवेश गर्नु थियो। हामीले सोही अनुरूप ग–यौं। नोरमेन पुगेपछि भने रबिन्सन स्ट्रीट क्रस गर्दै बोएड स्ट्रीट र १२औं स्ट्रीटको क्रसिङनजीकको एउटा ठाउँमा जानु थियो। त्यहीं महेश अङ्कलको घर थियो। तर त्यता नगएर अङ्कल १२औं स्ट्रीटमैं हिंडिरहनुभयो। उहाँ अप्रत्याशितरूपमा त्यता गएको देखेर मलाई आश्चर्य लाग्यो। त्यसरी किन गएको होला भनी मैले अनुमानसमेत गर्न सकिनँ।

कारमा म महेश अङ्कलको छेउमैं बसेको थिएँ। त्यसरी अनपेक्षित दिशातिर लाग्नुभएकोले म उहाँलाई आश्चर्यचकित मुद्राले हेर्दै थिएँ। मेरो त्यो हेराइको उहाँले तत्काल अर्थ निकाल्नुभयो र भन्नुभयो– “कसैको घरतिर जान थालेको होइन। कसैलाई भेट्नुपर्ने पनि छैन। त्यसैले कता हो कता जान थालेको हो भनी आश्चर्य न मान्नुभए हुन्छ।”

मैले आफूलाई रोक्न सकिनँ र झ्वाट्ट प्रश्न गरें– “अनि, कता जान थाल्नुभएको त ? केही सामान किन्नु छ कि ? कि भ्यालु फूड (ग्रोसरी पसल)तिर पस्ने हो, हँ अङ्कल ?”

महेश अङ्कलले जवाफ दिनुभयो– “छैन छैन, केही पनि किन्नु छैन, न कसैलाई भेट्नु नै छ। न कुनै ग्रोसरी स्टोरमा पसेर केही किन्नु छ। कुनै ग्याँस स्टेशनमा पसेर यो गाडीमा ग्याँस हाल्नुपर्ने पनि छैन।”

यति भनेर उहाँले हामी हिंडिरहेको १२औं स्ट्रीट छाड्नुभयो र राइट टर्न लिएर लिन्सी स्ट्रीटमा प्रवेश गर्नुभयो। लिन्सी स्ट्रीटमा केही क्षण हिंडेपछि फेरि लेफ्ट टर्न लिनुभयो, अनि ह्युस्टन एभेन्युतिर लाग्नुभयो। यो ठाउँमा आएको देखेर उहाँले मलाई ह्युस्टन एभेन्युको छेउमा रहेको स्प्रिङ फिल्ड अपार्टमेन्टमा बस्ने एक नेपाली मित्रकहाँ लगेर सरप्राइज दिन थालेको हो कि भनी मैले अनुमान गरें। मलाई एकजना नेपाली त्यहाँ बसेको पटक्कै थाहा नै नभएको र आज त्यहाँ लगी उनीसँग भेट गराएर ठूलो सरप्राइज दिने विचार महेश अङ्कलले गर्नुभएको हो कि भन्ने तर्कना पनि मेरो दिमागमा आयो। तर एउटा नेपाली परिवार त्यहाँ बस्छ भन्ने मलाई थाहा थियो, त्यो परिवारसँग मेरो भेटघाट मात्र भएको थिएन। तैपनि म चुप लागिरहें। महेश अङ्कलले भने मेरो मुहारमा एकै छिन घोरिएर हेर्नुभयो।

ह्युस्टन एभेन्युमा केही क्षण हिंडेपछि त्यसलाई छाडेर उहाँ ड्रेक ड्राइभतिर लाग्नुभयो, स्प्रिङफिल्ड अपार्टमेन्टतिर लाग्नुभएन बरु स्प्रिङफिल्ड अपार्टमेन्ट पस्ने बाटोभन्दा केही पर लाग्नुभयो। स्प्रिङफिल्ड अपार्टमेन्ट पस्ने बाटोभन्दा केही पर पुगेर गाडीलाई एकैछिन रोक्नुभयो अनि मेरो मुखतिर हेर्दै भन्नुभयो– “सुनीलजी, तपाईंलाई थाहा छ, मानिसले मानिससँग मात्र होइन भूगोलसँग पनि प्रेम गर्दो रहेछ। कुनै ठाउँ, त्यस ठाउँका छेउछाउका सडक, घर, रूख, पसलहरूसँग प्रेम गर्दो रहेछ। त्यहाँको आकाश, मौसम, वातावरणसमेतसँग प्रेम गर्दो रहेछ। एक किसिमको साइनो गाँसिंदो रहेछ, मानिस र ती कुराहरूको बीचमा। त्यो मानिस त्यो ठाउँमा पुग्दा ती कुराहरू सजीव भएर आउँदा रहेछन्, तिनले कुरा गर्न खोज्छन्। मलाई त्यस्तो लाग्छ। ती कुराहरूसँग मानिसको सम्झना गाँसिंदो रहेछ, अतीतसमेत पनि गाँसिंदो रहेछ।”

यति भनेर उहाँ केही क्षण घोरिनुभयो त्यसपछि केही सम्झेझैं गरेर मलाई प्रश्न गर्नुभयो– “तपाईं नोरमेन आउनुभएको छ महीनाभन्दा बढी भयो, होइन त सुनीलजी ?”

उहाँको त्यो प्रश्नको मैले केवल हो मात्र भनेर उत्तर दिएँ। बोल्ने क्रम जारी राख्दै उहाँले पुनः भन्नुभयो– “तपाईं कुनै खास ठाउँमा बस्नुहुन्छ, त्यो ठाउँमा तपाईंको घर होस् वा डेरा, प्रत्येक दिन तपाईं त्यस घरमा पस्दा–निस्कँदा, त्यहाँका छेउछाउका दृश्य–परिदृश्यलाई घरीघरी हेर्दा वा नियाल्दा वा आँखाअगाडि ती दृश्य–परिदृश्यहरू पर्दा तपाईंको अचेत मस्तिष्कले ती कुराहरूसँग सम्बन्ध गाँस्दो रहेछ, तपाईंको सचेत मस्तिष्कले थाहा नै नपाउनेगरी। पछि ती दृश्य–परिदृश्यहरूको सम्बन्ध तपाईंको जीवनका घटनाहरूसँग गाँसिन गई तिनले अनेक कालखण्डका विभिन्न घटनाहरूको स्मरण गराउँदा रहेछन्। यसैगरी, कुनै खास भूगोलमाथि मान्छेको प्रेम बस्दो रहेछ पनि।”

यति भनेर उहाँले मलाई प्रश्न गर्नुभयो– “तपाईंलाई कस्तो लाग्छ नि १ अनि, तपाईंको के सोचाइ छ, कुनै खास भूगोलमाथि मान्छेको प्रेम बस्नेबारे, हँ, सुनीलजी ?”

मैले छोटो उत्तर दिएँ– “खोइ अङ्कल, म त परें साइन्सको स्टुडेन्ट। यहाँको युनिभर्सिटी अफ ओक्लहोमाबाट कम्प्युटर साइन्समा इन्जिनीयरिङ गर्दैछु। यस्ता कुरा सोच्ने त मलाई कहिले फुर्सत नै भएन। काठमाडौं हुँदा १७ ठाउँमा डेरा सरियो। कहाँ बसिएन ? भैंसेपाटीदेखि जोरपाटीसम्म बस्न भ्याएँ। शायद ती ठाउँहरू छोडेको लामो काल बितेपछि मलाई पनि त्यस्तो बोध हुने हो कि ? अब काठमाडौं फर्केर म ती ठाउँहरूमा पुग्दा मलाई अङ्कलले भनेझैं बोध हुने हो कि ? हेरौं त्यस्तो हुन्छ कि ?”

मेरो त्यस्तो उत्तर सुनेपछि उहाँ निकै बेर हाँस्नुभयो। मतिर केही बेरसम्म हेरेको हे–यै गर्नुभयो। एकै छिनपछि केही सम्झेझैं गरेर भन्नुभयो– “सुनीलजी, म यहाँ आएको कारण भने ऊ त्यो घर हो, देख्नुभयो। ऊ त्यो घर, ऊ त्यो रातो घर। ऊ त्यो क्या, त्यो अगाडिको, घर अघिल्तिर सानो चौर अनि पछाडि ठूलो बारी भएको घर। हो, त्यो घरमा म पाँच वर्ष डेरा गरेर बसें। त्यो घरको मलाई अति याद आउँछ। त्यो घरको मात्र होइन, त्यसवरिपरिका दृश्यहरू पनि अति याद आउँछन्। यहाँको समग्र वातावरणको नै याद आउँछ। यिनको माया पनि उत्तिकै लाग्छ। अहिले म यहाँ नबसे तापनि यो ठाउँ बिर्सिन सकेको छैन। लिन्सी स्ट्रीट वा १२औं स्ट्रीटबाट कतै जाँदा वा कतैबाट यी स्ट्रीटहरूमा आउँदा यो ड्रेक ड्राइभमा आएर, यो ठाउँलाई एकचोटि हेरिहालौं लाग्छ। यो ठाउँको नजीकबाट जाँदा यो ठाउँले मेरो कारसहित मलाई जहिले पनि आफूतिर तानेझैं लाग्छ। जब म पहिलोचोटि अमेरिका आएँ, यै नोरमेन शहर आएँ। शुरूमैं, यो स्ट्रीटको यो घरमा बसें। त्यति बेला मेरो छोरा जुनियर हाईस्कूलमा पढ्थ्यो। अहिले हाम्रो कार जहाँ रोकिएको छ, हो यै ठाउँमा मेरो छोराको स्कूल बस उसलाई लिन आउँथ्यो। बिहान छोरा स्कूल जाने बेलामा उसलाई यहाँसम्म पु–याउन आउँथें। उसको स्कूल बस यो ड्रेक ड्राइभ हुँदै यहीं आइपुग्थ्यो। त्यतिखेर म एउटा ग्रोसरी स्टोरमा काम गर्थें। मेरो बिहानको ड्युटी हुन्थ्यो। मैले अहिले नाम बिर्सें त्यो देशको, पूर्व युगोस्लाभियाबाट छुट्टिएको कुनै देश थियो क्यारे, हो, त्यहाँका एक व्यक्ति मेरो अपार्टमेन्ट (घर)को छेउमा बस्थे। पछि उनीसँग परिचय भएर राम्रो मित्रता पनि भयो। ती मित्रका छोरा र मेरो छोरा एउटै स्कूलको एउटै ग्रेडमा पढ्थे। दुवैजना साथी थिए। उनी पनि आफ्नो छोरालाई स्कूल बस चढाउन यहीं आउने गर्थे। वाल मार्टमा ग्रोसरी किन्न उनले मलाई धेरैपटक त्यहाँ पु–याएका थिए। त्यतिखेर मसँग आफ्नो गाडी थिएन। नोरमेन आएको लगभग एक वर्षपछि मात्र मैले गाडी किनें। अहिले यो ठाउँलाई हेर्दा ती दिनहरू, ती घटनाहरू झलझली मेरो आँखाका अगाडि आउँछन्। यो ठाउँलाई हेर्दा सिनेमाको रिलझैं ती दिनहरू चल्न थाल्छन्। कस्तो अचम्म, हगि !”

यति भनेर महेश अङ्कल एक छिन चुप लाग्नुभयो। उहाँ सम्झनाको संसारमा हराउनुभएझैं लाग्यो। उहाँको भनाइबाट प्रेरित र सम्मोहित भएर म पनि सम्झनाको घोडा चढेर विभिन्न स्थानमा पुगें। वायुको गतिमा ती स्थानहरूमा पुगेर तिनलाई स्पर्श गरें। तर मैले लामो समयसम्म कल्पनाको यात्रा गर्न सकिनँ। महेश अङ्कल भने चुपचाप हुनुहुन्थ्यो। उहाँ चुप लागेको देखेर कुराको सिलसिला अगाडि बढाउन मैले नै पहल गरें। मैले उहाँको मुहारतिर हेर्दै भनें– “होइन अङ्कल, केही वर्ष मात्र बस्नुभएको यो ठाउँको तपाईंलाई यति धेरै र पटकपटक याद आउँछ। आफू जन्मे, हुर्के, खेलेकुदेको ठाउँको याद त झन् कति बढी आउँदो हो, हैन त ?”

उहाँले तत्काल उत्तर दिनुभयो– “ओहो, नसोध्नुस्, कति आउँछ, कति। कति भनौं, कति कति, अति, अति नै। दिनको १०औंचोटि पुग्छु म त्यहाँ मनको हवाईजहाज चढेर। कहिले भानुचोक पुग्छु, कहिले पिडारीचोक। कहिले रामानन्दचोक त कहिले राममन्दिर। कहिले ब्रह्मपुरी त कहिले बारबिघा। कहिले जनकचोक त कहिले जानकी मन्दिर। कहिले सङ्कटमोचन त कहिले रेलवे स्टेशन। कहिले परिक्रमा रोड। कहिले …। कहाँ कहाँ भनौं …?”

उहाँको बोल्ने क्रम रोकिएन। बोलि नै रहनुभयो। त्यो क्रमलाई तोड्दै

मैले प्रश्न गरें– “अङ्कलको घर नेपालमा कहाँ नि …?” अङ्कलले भन्नुभयो– जनकपुर। जनकपुरधाम। मेरो प्यारो जनकपुर।”          –साभारः समकालीन साहित्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here