– हरिकृष्ण बराल

(स्वामी राधामाधव)

मुर्ली बगैंचा, वीरगंज

सत्य एक छ। सत्यसम्म पुग्ने ढोकाहरू अनेक छन्। जो द्वारको मोहमा पर्छ, ऊ द्वारमा नै रोकिन्छ। उसको लागि सत्यको ढोका कहिल्यै खुल्दैन। सत्य सबै ठाउँमा छ। यहाँ जे छ, सबै सत्य छ। सत्यका अभिव्यक्ति अनन्त छन्। सत्य सौन्दर्य जस्तै छ। सौन्दर्य भिन्नभिन्न रूपमा प्रकट हुन सक्छ। तर ऊ भने एउटै छ। रात्रिमा तारामा प्रकाश बनेर झल्किन्छ भने फूलमा सुगन्ध बनेर फैलिन्छ। आँखाहरूमा प्रेम बनेर प्रकट हुन्छ। रूप अलगअलग छ, तर त्यसमा स्थापित मूल कुरो एउटै छ। जो रूपमा रोकिन्छ, उसले आत्मालाई जान्न सक्दैन। यसैगरी, जो सुन्दरमैं अड्किन्छ, ऊ सौन्दर्यसम्म पुग्न सक्दैन। जो शब्दमा बाँधिन्छ, उसले सत्य प्राप्त गर्न सक्दैन। जसले जानेको छ, उसले मार्गको अवरोधलाई सिंढी बनाएर अघि बढ्छ। शास्त्रबाट, सिद्धान्तबाट, शब्दज्ञानबाट त्यो परम सत्य प्राप्त गर्न सकिंदैन, जसलाई परमात्मा भनिन्छ। किनकि उसलाई प्राप्त गर्ने मार्ग भनेको शब्दलाई छोडेर निश्शब्दमा डुबुल्की लगाउनु हो। यो सिद्धान्तबाट प्राप्त हँुदैन, सिद्ध अवस्था प्राप्त ग–यो भने हुन्छ। सिद्धान्त बाधा हो, यो त मार्गको अवरोध हो। सिद्धान्त मार्ग बन्न सक्दैन। सबै शास्त्रबाट मुक्ति भएपछि, भित्र सन्नाटा छाएपछि, मौन घटित भएपछि, त्यसमा परमात्माको सङ्गीत अनाहत सुनिन थाल्छ, तब प्रभु मिलन हुन्छ। किताबको त्यागबाट, भाषाको त्यागबाट, मनको त्यागबाट उसलाई पाउन सकिन्छ। परमात्मा मनातीत, शब्दातीत मौनमा हामीभित्र मौजुद छ।

ध्यान एउटा छलाङ हो। यसको मतलब अचानक जागरण हुनु भन्ने बुझिन्छ। एउटा निदाएको मानिस सपनामा हराइरहेको छ, यसको मनमा एकपछि अर्काे सपना चलिरहेको छ भने ऊ जागा हुन सक्दैन। जागरण जब पनि घटित हुनेछ, अचानक सपनाबाट छलाङ लाग्नेछ। सपनाको त्यो प्रवाह अचानक टुट्छ। हाम्रो आँखा खुल्छ, हामी जागा हुन्छौं। बाहिरको सत्यसँग हामी परिचित हुन्छौं।

ठीक यसैगरी परम जागरण घटित हुन्छ, जसमा आत्माज्ञान फलित हुन्छ। यो आत्माज्ञान फलित ध्यानबाट हुन्छ। यसैले ओशो भन्नुहुन्छ कि ध्यान एउटा छलाङ हो। उहाँको भनाइको तात्पर्य जुन किसिमले हामीहरू जन्मजन्मदेखि मूर्छित जीवन जिउँदै आएका छौं, त्यो अवस्था टुट्छ र हामी अचानक बाहिर छलाङ लगाउँँछौं।

ध्यानको लागि सुरुआतमा कोशिश गर्नुपर्छ। यो यस्तो हो कि हामीलाई सूर्यको दर्शन गर्नुछ भने हामीले झ्यालढोका खुला राख्नुपर्छ र सूर्य उदयलाई कुर्नुपर्छ। सूर्य त आफ्नै मोजमा उदाउनेछ। ऊ आफ्नै नियममा चल्छ। यदि हामी झ्यालढोका बन्द गरेर बस्यौं भने सूर्यको दर्शनबाट चुक्नेछौं। यसको मतलब हामी यो भन्न सक्दैनौं कि हामीले झ्यालढोका खोलेको कारणले सूर्य उदायो। यसमा कार्यको र कारणसँग कुनै नाता छैन। यसैले यो कुरा अलिकति जटिल छ। साधनाद्वारा परम सत्य हासिल गर्न सकिंदैन। साधनाद्वारा हामी संवेदनशील हुन्छौं, ताकि हामी सत्यलाई ग्रहण गर्न सक्ने हुन्छौं।

प्रायः मानिसहरू यस्तो ठान्छन् कि साधना गरेर हामी यसलाई प्राप्त गर्न सक्छौं। उनीहरू यसलाई विज्ञानको कार्य कारणको सिद्धान्तजस्तै ठान्छन्। जस्तो पानीलाई ततायो भने सय डिग्री पुगेपछि उम्लन्छ र पानी वाफ बनेर उड्छ। यसमा जस्तो नियम छ त्यस्तै हुन्छ। पानी बेस्सरी तताएपछि वाफ बन्छ, यही विज्ञानको नियम हो। यसमा नियमविपरीत हुँदैन।

तर ध्यान, साधना र उपलब्धिबीचमा यस्तो सम्बन्ध हँुदैन। यसैले जसले पनि प्रभुलाई प्राप्त गरेका छन्, उनीहरूले भनेका छन् कि प्रभुलाई हामीले प्रभुको कृपाबाट पाएका हौं। यो हामीले गरेर हैन, उसको कृपाबाट प्राप्त भएको हो। यसबाट ठूलो भ्रान्ति खडा हुन सक्छ। यस्तो लाग्छ कि के हाम्रो साधना व्यर्थै हो त ? हाम्रा कर्महरूले केही अर्थै राख्दैनन् ? यसमा हामी यति भन्न सक्छौं कि हाम्रा कर्महरूले हामीले सूर्यको दर्शन गर्नको लागि झ्यालढोका खोले जति अर्थ राख्छन्।

जस्तो वर्षा मासको दिनमा झमझम वर्षा भइरहेको छ। यो वर्षा हुनु बादलको कृपा हो। हामीले केही गरेको कारणले बादलले वर्षा गरेको हैन। यो मनसुन हामीले बोलाएर आएको होइन। यो त प्रकृतिको खेल हो। तर यो वर्षामा पनि हामीले हाम्रो पानीको भाँडो घोप्ट्याएर राखिदियौं भने हाम्रो घडामा एक थोपा पनि पानी पर्नेछैन। हाम्रो भाँडो खाली नै हुनेछ। यदि हाम्रो भाँडो त सुल्टै छ तर त्यसमा हामीले फोहर सामानहरू राखेका छौं भने त्यसमा अमृतजस्तो पानी त पर्नेछ तर त्यसमा जम्मा भएको पानी फोहरसँग मिसिएर विषाक्त हुनेछ। यदि हाम्रो पानीको भाँडो सुल्टो पनि छ, सफा पनि छ, तर त्यसमा प्वाल परेको छ भने त्यसमा पानी त पर्नेछ तर त्यहाँ एक थोपा पनि अडिनेछैन र भाँडो रित्तै हुनेछ। यी तीनवटै परिस्थितिमा हामी अमृतस्वरूप पानी सङ्ग्रह गर्न सक्नेछैनौं। यसैले पानीको भाँडो सुल्टो राख्नुछ, सफा राख्नुछ, दुलो नभएको भाँडो राख्नुछ, दुलो छ भने त्यसलाई टालेर पानी नचुहिने बनाएर राख्नुछ र मनसुनको प्रतीक्षा गर्नुछ। मनसुन आएपछि वर्षा हुनेछ, अनि हाम्रो भाँडो भरिनेछ। त्यो पानीले हाम्रो प्यास पनि मेटाउनेछ।

हाम्रो साधना भनेको प्वाल नभएको सफा पानीको भाँडोलाई सीधा पारेर, सुल्टो पारेर राख्ने जस्तै हो। यसमा ‘कज एन्ड इफेक्ट’सँग सम्बन्ध छैन। बादल उसको मजाले बर्सनेछ, यो उसको अनुकम्पा हो। हाम्रो कर्मसँग यसको केही सम्बन्ध छैन।

कुनै साधकले दिनभरि नै आफ्नो सजगता साध्यो भने त्यसको प्रभाव उसको निद्रामाथि पनि पर्छ। किनकि निद्रामा हामी विश्राम लिनको लागि जान्छौं। जुन मानिसले दिनभरि ध्यान साध्ने प्रयास गरिराखेको छ, ऊ दिनभरि नै सजग भएर साक्षी भावमा बसेको छ। ऊ दिनभरि नै शान्त बस्न थालेको छ। अब उसलाई निद्राको जरुरत अरू दिनको तुलनामा कम भएपनि हुन्छ। प्रकृतिले हामी विश्रामपूर्ण हुन सकौं भनेर निद्राको व्यवस्था गरेको हो। यदि हामी दिनभरि नै शान्त, सजग, विश्रामपूर्ण जीवन बिताइ रहेका छौं भने हामीलाई आठ घण्टाको निद्राको जरुरत छैन। अब हामीलाई पाँचदेखि छ घण्टा निद्रा भए पुग्छ।

शरीरलाई सम्यक निद्रा चाहिन्छ। तर यसमा हाम्रो मनको पनि निकै ठूलो भूमिका हुन्छ। हामी जति धेरै तनावपूर्ण हुन्छौं, त्यति नै धेरै निद्राको जरुरत पर्छ, ताकि हामी तनावमुक्त हुन सकौं र हाम्रो तन–मन स्वस्थ हुन सकोस्। यसैले ध्यान, साधनाको निद्रामाथि प्रभाव पर्छ। बहुत सुन्दर प्रभाव पर्छ। ध्यानको कारणले निद्रा अत्यन्त शान्तिपूर्ण विश्राम बन्न पुग्छ।

विज्ञान तथा अध्यात्ममा आकाश–जमीनको फरक छ। विज्ञानको क्षेत्र बाहिरी जगत् हो। ध्यानको क्षेत्र स्वयंको भित्र छ। विज्ञानको खोज विचारसँग, तर्कसँग, सन्देहसँग सम्बन्धित हुन्छ। स्वयम् आफ्नो आत्माको खोज श्रद्धाले, प्रेमले, निर्विचार भएर, तर्कविहीन भएर हुने गर्छ। यदि हामी तर्क गर्दै गयौं, विचार गर्दै गयौं भने हामीभित्र ज्ञान घटित हँुदैन। मनले विचार विश्लेषणको काम गर्न थाल्छ। विज्ञान ठूलो चीजबाट क्रमशः सानो चीजतिर बढ्छ। तत्वमा आउँछ, फेरि अणुमा आउँछ, फेरि परमाणुमा आउँछ, फेरि इलेक्ट्रोनमा आउँछ, फेरि प्रोटोनमा आउँछ, फेरि एटोमिक पार्टिकलमा आउँछ, फेरि इनर्जीमा आउँछ। विज्ञानले काट्छ, फुटाँउदै जान्छ। फुटाउनु नै यसको प्रकृया हो। क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here