– अरूपा पटङ्गिया कलिता

जापानले चीनमाथि आक्रमण ग–यो। युद्धले मानिसहरूको मानिसझैं बाँच्ने स्वतन्त्रता खोसेर लग्यो। अर्काको देश आक्रमण गर्न आएका सैन्यहरूलाई युद्धले अस्वाभाविक तुल्याएको थियो। बथानका बथान बिरामी कुखुरा मरेझैं मानिस मरेका थिए। आफ्नो घर–संसार, परिवार र खेतबारी लिएरै व्यस्त रही जीवन निर्वाह गरिरहेका आइमाईहरूले कहिल्यै नदेखेका कुराहरू देखे। सबै उलटपुलट भएको थियो। आइमाईहरू डराइडराइ एकअर्कासँग कानेखुसी गरेर भन्थे– यी विदेशी सैन्यहरूको मन भन्ने वस्तु नै छैन। सारै डराएका थिए मानिसहरू। सीधासादा, सरल जीवनमा अभ्यस्त चीन देशका आइमाईहरूले नयाँ कुराहरू केही बुझ्न सकेका थिएनन्।

कुभिन्डोझैं तलदेखि माथिसम्मै समान जीउकी थसुल्ली, छजना छोराछोरीकी आमा, १४ जना नातिनातिना, तीनजना पनातिपनातिना भएकी उलिएनकी आमालाई कसैले नराम्रो आँखाले हेर्न सक्छ भनेर कसले पो सोचेको थियो र ? उनको आधी उमेरदेखि शरीरमा केही भयो, सारै मोटी हुन थालिन्। मोटी हुँदाहुँदै हात्तीको बच्चोजस्तो भइन्। जति उमेर बढ्दै गयो उति मोटी हुँदै गइन्। थपथप गर्दै हिंडेर घुमफिर गर्छिन्, वल्लोघर पल्लोघर जान्छिन्, सकेजति काम पनि गर्छिन्। सबैले उनलाई थसुल्ली दिदी भनेर नै जान्दछन्। अस्वाभाविकरूपले मोटी ती आइमाईका कपाल, आँखीभौं, परेला सबै सेतै फूलेका थिए। ओठमा सधैं एउटा मुस्कान टाँसिइरहने थसुल्ली दिदी उलिएनकी आमालाई सबैले माया गर्थे। शरीरजस्तै उनको मन पनि फराकिलो थियो, सबैलाई मायाले अँगालेर राख्ने। मर्नलाई अब केही दिन मात्र बाँकी रहेकी उनी आफ्नो सानो संसारमा ठूलो शरीर लिएर सुखशान्तिले हिंड्डुल गरिरहेकी थिइन्।

त्यस दिन लिङ्टेन र लिङ्चाउका घरमा थसुल्ली दिदीसँगै केही आइमाई बसेर बात मारिरहेका थिए। बात मार्नु पनि के थियो र तिनै एकैखाले कुरा, युद्धका कुरा, डरका कुरा, सैन्यका कुरा। अकस्मात् केही विदेशी सैन्य घरको गौंडोसम्म आइपुगे। लिङ्टेनले तत्कालै आइमाईहरूलाई पछाडिको ढोकाबाट निकालेर भगाए। लिङ्चाउहरूको कोठेबारीको पुछारमा इनारको छेउमा एउटा सानो बाहिरी ढोका थियो, आइमाईहरू त्यतैबाट भाग्न भनेर दगुरे। तर थसुल्ली दिदीलाई लिएर समस्या भयो, त्यो सानो ढोकाबाट ऊ कसै गर्दा छिरिनन्। लिङ्टेनले हतारहतार रूखका हाँगाबिँगा, पातपतिङ्गर भेला पारेर थसुल्ली दिदीलाई छोपिदिए। उनी निश्चल भएर त्यही बसिरहिन्। लिङ्टेन आफू पनि एकातिर लुके। लुकेकै ठाउँबाट उनले अकस्मात् सुङ्गुरलाई रेटीरेटी काट्दा जस्तो शब्द हुन्छ त्यस्तै एउटा शब्द सुन्न पाए। त्यसपछि गलाको घ्याँरघ्याँर अनि एउटा गहिरो चित्कार। एकछिन पछि सबै सामसुम, चकमन्न भयो। लिङ्टेनलाई थसुल्ली दिदीलाई पक्कै केही भयो भन्ने बुझ्न बाँकी रहेन। सैन्यहरू गइसकेपछि लिङ्टेन, लिङ्चाउ र आइमाईहरू फर्केर आए। सबैले इनारको छेउको सानो ढोकानेर जुन दृश्य देखे, त्यसले सबैका शरीरको रगतलाई हिउँ बनाइदियो, आँखा चिम्ल्याइदियो। निर्वस्त्र भएर उलिएनकी आमाको थसुल्ली वृद्ध शरीर पातपतिङ्गरमाथि लडिरहेको थियो। उनको प्राणहीन शरीरको सर्वत्र चोटैचोट थियो, रगत जमेको थियो। धेरै सैन्यको निष्ठुर यौन अत्याचारले उनको शरीर थङ्थलो भएको थियो।

यस घटनापछि लिङ्चाउ आफ्नो घरमा बस्न डराइन्। एउटी श्वेताङ्गी महिलाले एउटा आश्रय शिविर खोलेकी थिइन्। त्यस शिविरमा उनीहरू महिलालाई आश्रय दिन्थे। गोरा मानिसले सञ्चालन गरेको हुनाले त्यस शिविरमा जापानी सैन्यहरू पस्न साहस गर्दैनथे। लिङ्चाउ गएर त्यही शिविरमा आश्रय लिइन्। एक दिन लिङ्चाउले शिविरमा चुचाउ शहरबाट सातवटी राम्रीराम्री कम्ती उमेरका केटी आएको देखिन्। उनीहरूको पहिरन, कुराकानी, हाउभाउ देखेर लिङ्चाउले यिनीहरू घरायसी केटी होइनन् भन्ने बुझिन्। उनीहरूमाथि लिङ्चाउलाई रिस उठेर आयो। किन आएका यिनीहरू आश्रय शिविरमा ? बाहिरै बसेका भएपनि त हुन्थ्यो, सैन्यहरू ग्राहक बनेर लाइनमा लाग्ने थिए। प्रशस्त रुपियाँ–पैसा कमाउन सक्ने थिए। बरु सैन्यहरूले घरायसी आइमाईहरूलाई छाडिदिने थिए। लिङ्चाउले खुलस्तै ती राम्राराम्रा केटीहरूप्रति आफ्नो घृणा देखाइन्। यस्ता नकचरीले किन आश्रय शिविरमा आउनुपरेको ? केटीहरूले पनि अरू आइमाईहरूको मनोभाव बुझे। शिविरको एउटा कुनामा उनीहरू एकान्तमा बस्न थाले। उनीहरू आफैं अघि सरेर कसैसँग बोल्न गएनन्, अरू पनि उनीहरूसँग बोल्न आएनन्। एक दिन लिङचाउले ती केटीहरूलाई सोधिन्, “तिमीहरू चैं यहाँ किन आएका ? लोग्नेमानिसदेखि तिमीहरूलाई केको डर ?” उत्तरमा एउटी चिटिक्क राम्री केटीले भनी, “हामीले जब गोरा मानिसले एउटा शिविर खोलेका छन्, त्यहाँ चैं विदेशी सेना पस्न पाउँदैनन रे भन्ने सुन्यौं, तब तत्कालै हाम्फालेर यहाँसम्म आइपुग्यौं।” अर्कीले भनी, “हजुरले ठीकै भन्नुभो आमै, हामी लोग्नेमान्छे चिन्छौैं। तर यी सैन्यहरू, विदेशबाट आएका युद्ध गर्ने यी लोग्नेमान्छेहरू यिनीहरूलाई हामी चिन्दैनौं। यी मान्छेहरू हामीले चिनेका पुरुषहरू होइनन्।” अर्की एउटीले भनी–“हामी पनि हाम्रो देश आक्रमण गर्ने विदेशी शत्रुलाई घृणा गर्छौं।”

त्यसै दिन राति आश्रय शिविरमा एउटा ठूलो आपद् आइलाग्यो। मध्यराति सबै आइमाई ब्यूँझिएर उठे। बाहिरको गेटमा ढ्यामढ्याम आवाज आइरहेको थियो, सँगसँगै बन्दुक पड्किएको पनि। शिविरकी श्वेताङ्गी महिला हातमा लालटिन बोकेर गेटसम्म जाने भइन्। सबै आइमाई एकै ठाउँमा थुप्रिएर डरले थरथर काम्न थाले। आश्रय शिविरको गेटमा सयजना जति सशस्त्र सैन्य खडा थिए। नारी शरीरको गन्ध पाएर तिनीहरू यहाँ आएका थिए। शिविर सञ्चालन गर्ने ती श्वेताङ्गी महिला बाहिरका सैन्यहरूलाई भेटेर आएर शिविरका आइमाईहरूका अगाडि मुन्टो निहुराएर उभिइरहिन्। सैन्यहरूले भनेका रहेछन्, उनीहरूलाई पाँच/छ वटी आइमाई दिनुपर्ने, नत्र उनीहरू भित्र पस्नेछन्। गोरी महिलाको कुरा सुनेर शिविरका आइमाईहरू थरथरी भए। बाहिर गेटमा ढ्यामढ्याम कुटेको आवाज बढ्दै गयो। शत्रु सैन्यहरू पसिहाल्ने पो हुन् कि भन्ने त्रास भयो। सबैले देखे, श्वेताङ्गी महिलाका हातको लालटिन हल्लिइरहेको थियो, उनी थरथरी कामिरहेकी थिइन्। कामेको बोलीले भन्न थालिन्, “म कसलाई, कसरी भनूँ ? तिमीहरू शिविरबाट जाओ भनेर, त्यो पनि यस्तो कामको लागि। तैपनि भन्छु, त्यस्तो कोही छ भने, यदि कसैलाई

उनले त्यो काम गर्न सक्छिन् भन्ने लाग्छ भने, यी घरायसी आइमाईहरूलाई

रक्षा गर्न सक्छिन् भन्ने लाग्छ भने, यदि कोही …।” उनको बोली घुँक्क घुँक्क हुन थाल्यो।

बाहिरको गेटमा ढ्यामढ्याम कुटेको आवाज क्रमशः बढिरहेको थियो। अकस्मात् चुचाउबाट आएका सुन्दरी केटीहरू उठे। एउटीले अरूलाई सबैले सुन्ने गरी भनी, “तिमीहरू तयार होऊ, कपाल सम्याओ, मुहारमा मुस्कान ल्याओ, अब हामीले हाम्रो काम शुरू गर्नुपर्छ।” त्यसपछि तिनीहरू शिविरबाट निस्किन भनी तयार भए। गोरी महिलाले छातीमा क्रसचिह्न बनाइन्, शिर झुकाएर ती केटीहरूतर्फ हेरिन् र भनिन्, “प्रभुले तिमीहरूलाई यस महान् काम गरेबापत आशीर्वाद दिनेछन्।” एउटीले ओठ लेब्रयाएर भनी, “तिमीहरूका प्रभुले हामीलाई चिन्दैनन्।” त्यसपछि उनीहरू सबै शिविरबाट निस्केर गए। गेटको ढ्यामढ्याम बन्द भयो, बन्दुकको आवाज पनि हरायो। शिविरका आइमाईहरू

सुत्ने तर्खरमा लागे। केही निदाइ पनि सके।

लिङ्चाउ घुँडामा टाउको राखेर बसिरहिन्। उनको छेउको ठाउँ खाली थियो। यहीनिर यतिञ्जेल ती राम्रा केटीहरू थिए। त्यस ठाउँतिर हेरेर लिङ्चाउका आँखा रसाए। जति पुछ्छिन् उति आँसु बग्न थाले। उनको छातीभित्र दुख्न थाल्यो, ती केटीहरूलाई ऊ घृणा गर्थिन्, खुलस्तै त्यो घृणा प्रकट पनि गरेकी थिइन्। उनका कानमा मायालाग्दो मुहारकी त्यो कलिली केटीले बोलेको आवाज गुञ्जिरह्यो, “हामी लोग्नेमान्छेलाई चिन्छौं, तर यी युद्ध गर्ने विदेशी लोग्नेमान्छे– यिनीहरूलाई हामी चिन्दैनौं।” जतिजति यी कुराहरू मनमा आइरहे उतिउति लिङ्चाउका आँखाबाट बरबरी आँसु झरिरहे। एकपटक पुछ्छिन, फेरि झर्छ, पुछ्छिन, झर्छ, झर्छ, पुछ्छिन्, पुछ्छिन्, झर्छ।

(अनुवादः गदाधर शर्मा, गुवाहाटी, असम, भारत।) साभारः समकालीन साहित्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here