यसैले हामीले भगवान्लाई व्यक्तित्वको रूपमा हैन गुणवत्ताको रूपमा लिनुपर्छ। यो बीजरूपमा हामीभित्र विद्यमान छ, त्यसलाई हामीले विकसित गर्नुपर्छ। थोरै ध्यानको मलजल दियो भने यसको बिरुवा अङ्कुरित हुन थाल्छ। त्यो आनन्दको सानो रूप हामीभित्रै छ। त्यो सौन्दर्यको भावना हामीभित्र छ। तिनलाई विकसित गर्न सकिन्छ। जुन शान्तिको केही क्षण हामीले जानेका छौं, त्यही केही क्षणलाई हामी घण्टा बनाउन सक्छौं। फेरि हामी त्यसैलाई दिन, सप्ताह, महीना र पूरै वर्ष बनाउन सक्छौं। बिस्तारैबिस्तारै यसलाई पूरै उमेर बनाउन सक्छौं। ओशो भन्छन्– हामी भगवान् होइनौं, भगवत्व प्राप्त गरौं। हामी व्यक्तित्व होइनौं गुणवत्ता प्राप्त गरौं। यो गुणवत्ता सबैभित्र छ, हामीले केवल यसको विकास गर्नुछ।
परमात्मालाई परिभाषित गर्न सकिंदैन, त्यसै कारण परमात्माको नामकरण पनि गर्न सकिंदैन। किनकि परमात्मा सबै ठाउँमा व्याप्त छ, परमात्माबाहेक कहीं केही छैन। यसैले उसको आकृति बनाउन सकिंदैन। ऊ कहाँ छ भनेर बताउन पनि सकिंदैन। परमात्मा सर्वव्यापी छ, उसको नाम तथा स्थिति पनि छैन।
यदि हामीलाई प्रेम कहाँ छ भनेर कसैले सोध्यो भने हामी कहाँ छ भनेर बताउँछौं ? किनकि प्रेम एउटा भावना हो, प्रेम कुनै व्यक्ति होइन। प्रेम त एउटा गुण हो। कसैले सोध्यो– जीवन के हो ? जीवन कहाँ छ ? जीवनको परिभाषा के हो ? भने हाम्रोअगाडि मुश्किल उपस्थित हुन्छ। किनकि जीवन सबैमा छ। पशुपक्षी, रूख, कीरा–फट्याङ्ग्रा, मानिस सबैमा जीवन छ। यसलाई हामी नामरूपमा भन्दा क्रियारूपमा हेर्न सक्छौं। यो भइसकेको छैन, भइरहेको छ। जस्तो हामी भन्छौं, नदी छ। नदी शब्द सुन्दा लाग्न सक्छ, यो कुनै नाम हो। तर नदी त गङ्गा हो, जमुना हो। हामीले यिनको नामकरण त गरिदियौं तर वास्तवमा नदी भनेको जलप्रवाह हो। यो एउटा क्रिया हो, जुन अनवरत घटिरहेको छ। यदि यो बग्न छोड्यो भने यसलाई कसैले पनि नदी भन्दैन। यो सडेगलेको पोखरी बन्नेछ।
हाम्रो व्याकरणमा थोरै भुलचूक छ। यसमा धेरै क्रियालाई संज्ञाको रूपमा उपयोग गरिन्छ। गौतम बुद्धले सबै संज्ञा हटाइदिए। यसैले जुनजुन देशमा बौद्ध धर्मबाट प्रभावित भाषाको विकास भएको छ, त्यस भाषामा संज्ञा नै छैन। हामी रूख छ भन्न सक्दैनौं, किनकि त्यहाँ छ भन्ने शब्द नै छैन। त्यहाँ हामीले भन्नुपर्नेछ– रूख भइरहेको छ। हुन पनि हो। एक घण्टा पहिले पात निस्कँदै थियो। अब त्यो अलि ठूलो भइसक्यो। दुई घण्टा अगाडिको हरियो बूढो पात अहिले पहेंलो भइसक्यो। एक घण्टा पहिले जुन पात पहेंलो थियो, अहिले झरिसक्यो। जुन कोपिला थियो, त्यो फूल भइसक्यो। जुन फूल थियो, त्यो ओइलाएर झर्न लागेको छ। यसैले रूख भइरहेको छ, भन्नु ठीकैजस्तो लाग्छ। रूखजस्तै मानिस पनि भइरहेको छ। जून तथा तारा पनि भइरहेका छन्। छ भन्नेजस्तो त केही छैन।
हामीलाई सबैभन्दा पहिले भगवत्ता आफैंभित्र महसूस हुन्छ। जस्तो हामीले हामीभित्र जीवनको अनुभव गर्न सक्यौं भने सबैभित्र जीवन छ भनेर जान्न गा–हो हुँदैन। कोही पनि विशेष छैन, सबैभित्र उहीं चीज छ। जब सद्गुरुले आफूलाई “अहम् ब्रह्मास्मी” भन्छन्, हामीले याद राख्नुपर्छ कि उनी म विशिष्ट हुँ भनेर आफ्नो विशेषता घोषणा गरिरहेका छैनन्, अपितु हामीलाई पनि उनले ‘तत्वमसी’ भनिरहेका छन्। यसको मतलब सबैतिर परमात्मा व्याप्त छ।
सबै धर्म तथा धार्मिक सम्प्रदायले भन्छन् कि ईश्वर एउटै छ। तर हामी ईश्वरकै सम्बन्धमा वादविवाद भइरहेको सुन्छौं। यो वादविवाद ईश्वरबारे नभएर ईश्वरसम्म जाने मार्गबारे हो। कहाँबाट हामी यात्रा शुरू गरिरहेका छौं, त्यसमा यो निर्भर गर्छ। काठमाडौं जानुछ भने वीरगंजबाट उत्तरतिर लाग्छौं तर नेपालगंजबाट पूर्वतिर जान्छौं। काठमाडौं त एउटै छ, तर काठमाडौंसम्म पुग्ने मार्ग धेरै छन्। भिन्नभिन्न ठाउँबाट हिंड्दा मार्ग पनि भिन्नै हुन्छ। मार्गमा देखिने दृश्य पनि अलग हुन्छ। मार्गमा पर्ने कठिनाइहरू पनि अलग हुन्छन्। ती कठिनाइहरू पार गर्ने तरीका पनि अलग हुन्छन्। तर काठमाडौं पुगेर पाउने अनुभव भने सबैको एउटै हुन्छ।
ठीक यस्तै प्रकारले परमतत्वसम्म पुग्ने मार्गहरू अलगअलग छन्। मार्ग विभिन्न भएपनि लक्ष्य भने अभिन्न छ। सम्प्रदाय भनेको मार्ग हो। सम्प्रदायमा लक्ष्यको कुरा छैन। लक्ष्य त एउटै छ। त्यो आत्मज्ञान हो, ब्रह्मज्ञान हो। जे नाम दिए पनि उसको अनुभव भने एउटै छ। तर ऊसम्म पुग्ने मार्ग भने धेरै हुन सक्छ। ध्यानका अनेक विधि हुन सक्छन्। योगको मार्ग हुन सक्छ। भक्तिको मार्ग हुन सक्छ। तन्त्र साधनाको मार्ग हुन सक्छ। यस्ता अनेकौं–हजारौं मार्ग संसारमा खोजिएका छन्। हामीलाई कुनै ठाउँ जानुछ भने हामी साइकल, मोटरसाइकल, गाडी अथवा हवाईजहाज जेबाट पनि जान सक्छौं। तर हाम्रो गन्तव्य भने एउटै हुन्छ। क्रमशः