– डा शिवशङ्कर यादव

पाठकवृन्द गाँजालाई शिवबुटी, भाङलाई शिवपेय र धतुरोलाई शिवफल भनिन्छ। आज यही शिवफल धतुरोको विषाक्तताको वर्णन गरिनेछ। भनिन्छ कि कालकुट विष खाएपछि सुतिरहेको शिवको छातीमा एउटा फूल फुल्यो। त्यो धतुरोको फूल थियो। त्यसैले धतुरोको फल र फूल शिवलिङ्गमा अर्पण गरिन्छ, जसको प्रकारान्तरमा अर्थ यो हो कि म आफ्ना सबै कडवाहट, ईष्र्या, द्वेष र घृणालाई तपाईंमा समर्पण गर्छु। शिवका हरेक प्रतीक बडो अद्भुत र अर्थपूर्ण छन्। पहिलेको अङ्कमा सर्पदंशको वर्णन गरेको छु, जुन शिवको घाँटीमा शोभायमान हुन्छ। त्यो सर्प केवल विषको मात्र होइन, बरु ‘हिलिङ’को पनि प्रतीक हो, जुन आज पनि चिकित्साको लोगोमा अङ्कित हुन्छ। धतुरो पनि केवल विषाक्त मात्र हुँदैन, बरु आयुर्वेदमा यसको औषधीय अनेक विवरण छन्। धतुरोको पातलाई बीचोबीच प्वाल बनाएर कुनै पिलोमा टाँसिदियो भने पिलो छिटो पाकेर बगेर निको हुन्छ। यसको अलावा यो अनिद्रा, दम, छालाका विभिन्न रोग, भोक बढाउन, घाँटीमा रहेको बलगम हटाउन र जोर्नीको दुखाइमा प्रयोग हुन्छ। धतुरोलाई अङ्ग्रेजी र विज्ञानमा दतुरा स्ट्रोमोनियम भनिन्छ। मधेसमा धतुरोलाई अकवन भनिन्छ। धतुरोको बिरुवाको उचाइ दुई मिटर वा त्यसभन्दा बढी  पनि हुन्छ। जसरी भाङ जहFँतहाँ बारीमा आफैं उम्रिन्छ, त्यसरी नै धतुरो पनि जहाँतहाँ उम्रिन्छ तर यसको औषधीय गुणले आजकाल यसको खेती पनि हुन्छ। बालपनमा बज्यैको जोर्नीको दुखाइमा पुल्टिस बाँध्नको लागि धतुरोको पात टिपेर ल्याएको अहिले पनि सम्झनामा छ। संयोगले धतुरोको हरियो र गोलो फलमा काँडा पनि हुन्छ नत्रभने बच्चाले खाइ पनि दिन्थे होला। बच्चा यसको विषसँग अनजान हुन्छन्। त्यसैले बच्चालाई ल्याउनको लागि अ–हाउनुहुँदैन। यदि भूलवश पनि उसले खाइदियो भने मृत्यु निश्चित छ। धतुरोको फल, फूल, पात, जरा सबै विषाक्त हुन्छन्। धतुरोको पत्ता ठाउँठाउँमा काटिएको जस्तो प्रजेक्सन लिएको हुन्छ र फूल बजाउने दुन्दुभिजस्तो जरामा पातलो र मुखतिर फैलिएको हुन्छ। धतुरोको फल र बीज सबैभन्दा बढी विषाक्त हुन्छ। एउटा फलमा गुजमुज अवस्थामा सयौं बीज हुन्छन्। किशोरावस्थामा मैले हेरेको छु कि होलीमा मानिसले भाङमा केही धतुरोको बीज पनि पिसेर मिलाउँथे तर हामीलाई दिंदैनथे। पिसेको बीज झन् बढी विषाक्त हुन्छ। कसैले पनि एउटा पूरै फल खाइदियो भने उसको मृत्यु निश्चित छ। धतुरोलाई जिम्सन बीड, डेभिल बीड, मून फ्लावर ,थोर्नएपल वा इन्डियन एपल पनि भनिन्छ। यसको बीजको तेल कपाल झड्न नदिनेमा पनि चमत्कारी काम गर्छ। यसले कपालको जरामा रक्तसञ्चारलाई बढाइदिन्छ। धतुरो सम्पूर्ण तराई र महाभारतको पहिलो भागमा पनि पाइन्छ। वैद्यहरूले यौन दुर्बलताको उपचारमा पनि धतुरोको बीज प्रयोग गर्छन्। पाठेघरलाई सङ्कुचित पार्न धतुरो एक बलशाली तत्व हो। यस कारण यसको अपराधीकरण पनि देखिएको छ। गाउँघरमा अवैध गर्भपतन गराउन नीमहकीमले यसको प्रयोग गरेको देखिएको छ, जुन महिलाको मृत्युको कारक बन्छ।

धतुरोका तीन वैज्ञानिक प्रकार हुन्छः दतुरा अल्वा, दतुरा नाइजर र दतुरा स्ट्रेमोनियम। धतुरोबाट कम्तीमा १२ प्रकारका रसायन प्राप्त गरिएको छ तर यसका मुख्य रसायन हुन्– एट्रोपिन, हायोसिनामाइन र स्कोपोलामिन जसले विषाक्तता पैदा गर्छन्। अर्को तत्व दतुरा एट्रेक्स र दतुरा मेटेल पनि हुन्। यसमा पहिलो मालावार र दोस्रो मधेसका विभिन्न भागमा पाइन्छ। यदि यसको पातको रस अलिकति आँखामा प–यो भने आँखाको नानी त्यसरी नै फैलिन्छ, जसरी एक बुंद एट्रोपिन हालेर जाँच गर्ने बेलामा आँखाको नानी फैलिन्छ। बढी भयो भने  मानिस अन्धो हुन्छ। धतुरोको विषाक्ततालाई एउटा उखानले वर्णन गर्न सकिन्छः हट एज ए हेयर, ब्लाइन्ड एज ए बैट, ड्राई एज ए बोन, रेड एज ए बीट एन्ड मैड एज ए हेन। अर्थात् खरायोजस्तो तातो, चमेरोजस्तो अन्धो, हाडजस्तो सुक्खा, चुकन्दरजस्तो रातो तथा कुखुरीजस्तो बौलाइएको हालत हुन्छ। धतुरोले विषाक्त भएको मानिसले खाना खाँदैन तर यो भोकको कमीले होइन कि चपाउन नसक्नाले हुन्छ। –याल एकदम कम भएर मुख सुक्खा हुन्छ र निल्न नसकेर सक्दैन। प्यास बढी भएपनि सन्तुष्ट नहुनुले हुन्छ। यो भयो हाडजस्तो सुक्खा। रोगीले यसको अतिरिक्त दृष्टि बाधित भएको भन्छ र नजीकको कुरा हेर्न सक्दैन तथा मानिस एक प्रकारको अस्थायी अन्धोपनले ग्रसित हुन्छ। यो भयो चमेरोजस्तो अन्धोपन। आँखाको नानी यति बढी फैलिन्छ कि त्यहाँ कुनै आँखाको नानी पनि थियो भन्ने लाग्दैन। तन्त्रिकातन्त्रको प्रभावले रोगी उत्तेजित हुन्छ र छटपटाउँछ तथा साथी आदि कसैलाई पनि चिन्न सक्दैन। रोगी कुनै काल्पनिक कुरालाई हावामा समात्ने, ओछ्यान समाउने वा कुनै काल्पनिक धागोलाई समात्नेजस्तो हर्कत गर्छ। हालिजिनेशन र डेल्युजन विकसित भएर कसैले उसलाई घाइते बनाइदिने जस्तो देख्छ। यी लक्षणहरू ‘मैड एज ए हेन’ भयो। रोगी ज्वरोले यसरी ग्रसित हुन्छ कि उसको शरीरको तापक्रम सामान्यभन्दा एक डिग्रीदेखि छ डिग्रीसम्म बढेको हुन्छ किनभने धतुरोले रोगीको ‘टेम्प्रेचर रेगुलेशन सेन्टर’लाई नै गडबड पारिदिन्छ। यो ‘हट एज ए हेयर’ भयो। रोगीको अनुहार फ्लस्ड रातो र आँखा पनि राताराता हुन्छन्। छालामा राताराता चक्टा निस्केर आउँछ। यो भयो ‘रेड एज ए बीट’ अथवा चुकन्दरजस्तो रातो।

धतरोको कति खुराकले मानिस मर्छ, यो निश्चित छैन। धतुरोका चारवटा  फल पीठोमा मिलाएर खाएपछि एकै परिवारका चारजना सदस्य मरेका थिए। १२५ वटा बीज खाएपछि एक वयस्कको मृत्यु हुन्छ। तर एक बच्चाले दुई वा तीनवटा मात्र बीज खाए पनि मर्छ। एउटा फलको औसत वजन ७.५ ग्राम, उसमा भएका सबै बीजको वजन ५.६ ग्राम र एक सय बीजको वजन औसत १.२ देखि १.२३ ग्राम हुन्छ। बीजलाई पिसेपछि उसको विषाक्तता झन् बढेर जान्छ। आत्महत्याको लागि धतुरोको प्रयोग एकदम कम हुन्छ। यो बितिसकेको कुरा हो। आजभोलि त सजिलै मर्ने विषादी घरमा नै पाइन्छ। कसले धतुरोको फल टिपोस् र पिसेर खाओस् ? तर कसैको हत्या गर्न भने यसको बीज पिसेर पीठोमा मिसाइ खुवाएर मार्ने कुरा आजभोलि पनि देखिन्छ। बच्चाले अनजानमा खाए दुर्घटना हुन्छ। मरेपछि शल्यपरीक्षणमा आमाशयमा धतुरोको बीज प्राप्त गर्नु यसको निश्चित पहिचान हो। बाँकी सबै अङ्ग राता र खुम्चिएका हुन्छन्।

उपचारको क्रममा रोगीलाई अस्पतालमा ल्याउने बित्तिकै शøयामा सुताएर सबैभन्दा पहिले लाइफलाइन स्लाइन दिनुपर्छ किनभने त्यसैमार्फत अन्य औषधि पनि दिइन्छ। त्यसपछि केवल टेपवाटर वा दुई प्रतिशत एसिटिक एसिडले आमाशयको सफाइ गरिन्छ र त्यसमा धतुरोको बीजको खोजबीन गरिन्छ। आमाशयबाट प्राप्त जुसलाई प्रयोगशालामा जाँचको लागि पठाइन्छ। त्यसपछि चार चम्चा म्याग्नेशियम सल्फेट दिइन्छ ताकि पखाला होस् र विषाक्तता त्यसबाट पनि बाहिर निस्कोस्। त्यसपछि ०.५ मिलीग्राम फाइसोस्टिग्मिन मासुमा वा नसाबाट दिइन्छ ताकि ब्रेनको लक्षण कम होस्। फाइसोस्टिग्मिन एक वा दुई घण्टापछि पुनः पुनः दोहो–याइन्छ र सुधारको प्रतीक्षा गरिन्छ। तर सामान्यतः एउटा इन्जेक्सनले नै धतुरोको असरलाई बेअसर गरेको देखिएको छ। १५ मिलीग्राम पाइलोकार्पिन र मेथाकोलिन पनि छालामुनि दिइयो भने रोगीलाई आराम दिन्छ तर ब्रेनको असरलाई उल्ट्याउन सक्दैनन। मर्फिनले धतुरोको प्रभावलाई उल्ट्याउँछ तर यसले श्वासप्रश्वासमा बाधा पु–याउने हुनाले नदिनु नै बेस हुन्छ। ब्रोमाइड वा अर्को सर्ट एक्टिङ बार्बिचुरेटले डेलिरियमलाई ठीक पार्छ तर इथर सुँघाएमा त्यसभन्दा राम्रो हुन्छ। बढी उत्तेजना र छटपटाहटको लागि क्लोरलहाइड्रेट वा पारल्डिहाइडले पनि उचित मात्रामा काम गर्छ। यसमा क्लोरप्रोमाजिन कदापि दिनुहुँदैन किनभने त्यसले रोगीको हालत झन बिगार्छ। रोगीको तापक्रम ४१ वा ४२ डिग्री र बढी पनि हुन सक्छ तर यसको लागि औषधिको साटो कोल्डस्पोन्जिङ नै राम्रो हुन्छ। कृत्रिम श्वासप्रश्वास र अक्सिजन तयारी अवस्थामा राखी जरुरी भए दिनुपर्छ। रोगीको कोठा अँध्यारो राख्नुपर्छ ताकि फोटोफोबिया नहोस्। मनतातो पानीको एनिमाले पनि रोगीलाई आराम दिन्छ। अस्तु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here