जिल्ला अस्पताल पोखरियामा गत वर्षदेखि भेन्टिलेटर मेशीन प्रयोगमा आएको छैन। प्रदेश सरकारको सहयोगमा गत वर्ष नै भेन्टिलेटर मेशीन पोखरिया अस्पताललाई प्राप्त भएको तर जनशक्ति अभावमा प्रयोगविहीन छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवले जनशक्ति अभावभन्दा पनि तालीमप्राप्त जनशक्तिको अभावमा भेन्टिलेटर मेशीन प्रयोगमा नआएको बताए। उनले अस्पतालका चिकित्सकले भेन्टिलेटर मेशीन प्रयोगबारे तालीम नलिएका कारण प्रयोगमा आउन नसकेको बताए। आपूmसहित तीनजना मात्र चिकित्सक भएको र सबैजना काममा व्यस्त हुनुपर्ने अवस्था रहेकाले भेन्टिलेटर मेशीन सञ्चालन गर्नका लागि तालीम लिन नसकिएको बताए। उनले आगामी दिनमा तालीम लिएर भेन्टिलेटर मेशीन सञ्चालन गर्ने योजना रहेको बताए।
जिल्ला अस्पताल पोखरियामा इलेक्ट्रोलाइट, एनालाइजर, कोभुलेशन एनालाइजर जस्ता उपकरण केमिकल अभावमा सञ्चालनमा आउन सकेका छैनन्।
जिल्ला अस्पताल भएपछि १५ शøयाको यो अस्पतालमा अहिले बिरामी भर्ना भइरहेका छन्। यसअघि १० शøयाको अस्पताल हुँदा बिरामी भर्ना गरिंदैन थियो। अहिले अस्पतालमा भिडियो एक्स–रे, बायोमेट्रिक एनालाइजर, हेमाटलिजी एनालाइजर, माइक्रोस्कोप र १० वटा कन्सेन्ट्रेटर मेशीन सञ्चालनमा छन्। यसका लागि आवश्यक जनशक्ति रहेको मेसु डा यादवले बताए।
अस्पतालमा तीनजना चिकित्सक, छजना स्टाफ नर्स, तीन/तीनजना अनमी/अबेह, ल्याब टेक्निशियन एकजना, रेडियोग्राफी दुईजना, खरदार चार, चालक एक/एक र कार्यालय सहयोगी चारजना गरी २५ जनाको दरबन्दीमा रहेको बताए। उनले दरबन्दीमध्ये अधिकृतसरहको एकजना स्टाफ नर्स अहिलेसम्म बहाल हुन नसकेको बताए। दरबन्दीबाहेक अस्पताल विकास समितिबाट दैनिक ज्यालादारी, करारमा ६५ जना कर्मचारी खटिरहेका छन्। यसमा प्राविधिक र प्रशासनिक कर्मचारी दुवै रहेका छन्।
जिल्ला अस्पताल पोखरियाबाट अहिले ठोरीदेखि आसपासका गापाका सेवाग्राहीहरूले प्राथमिक सेवा लिंदै आएका छन्। त्यहाँ उपचार सम्भव नभएपछि वीरगंज, जीतपुर पठाइन्छ। पछिल्लो समयमा सेवा वृद्धि भएसँगै यहाँबाट सामान्य बिरामीहरू रेफर हुने क्रम कम भएको छ। अस्पतालमा पछिल्लो समय प्रसूति पनि उपलब्धिमूलक हुँदै आएको छ। सामान्य प्रसूतिका साथै शल्यक्रियाबाट पनि प्रसूति गरिन थालिएपछि आसपासका गर्भवती महिलाहरू पोखरिया अस्पतालमा उपचार गराउन आउन थालेका छन्।