पर्सा जिल्लाको बझियान क्षेत्रमा अहिले धानको बीउ रोप्ने तयारी गरिंदैछ। गण्डक सिंचाइ नहरदेखि दक्षिणतर्फ बझियान क्षेत्रका किसानहरू प्रत्येक वर्ष प्रमुखरूपमा दुई बाली धान र गहुँको खेती गर्छन्।
गहुँ भित्रियाएका किसानहरू डेढ महीनादेखि अगहनी धानबालीको तयारीमा छन्। गहुँ भिœयाएसँगै केही किसानहरूले हरियो तरकारीखेती पनि गरेका छन्। हरियो तरकारीखेती धान र गहुँ भिœयाएसँगै गरिन्छ। धानपछि गहुँखेती प्रमुखरूपमा गरिन्छ। सोही बखत केही किसानहरूले दलहन र तेलहनखेती पनि गर्छन् तर पनि प्रमुख खेती भनेको बझियानको लागि धान र गहुँ नै हो।
एक साताअघि वर्षा हुँदा यहाँका किसानहरूले माटो मलिलो भएपछि खनजोत, गोडमेलको काम शुरू गरिसकेका छन्। अब पानी परेपछि उनीहरूले धानको बीउ रोप्ने र त्यसपछि ३१ दिनमा बीउ तयार हुनासाथ पानी परेसँगै धान रोपाइँको तयारीमा जुट्छन्। बझियानमा पनि सोना मन्सुली, सोना सारो, भदई मन्सुली, मनी मन्सुली, कतर्नी, बासमती तथा हाइब्रिड जातका धानको खेती गरिन्छ तर मुख्यरूपमा किसानहरूले ठूलो क्षेत्रफलमा सोना मन्सुली, सोना सारो धान नै लगाउने गरेका छन्। ९० प्रतिशत किसानले सोना मन्सुली, सोना सारो धानको खेती गर्छन् भने १० प्रतिशतले भदई मन्सुली, मनी मन्सुली, कतर्नी, बासमती धानको खेती गर्छन्।
यहाँका किसानहरूले पनि नजीकमा रहेको भारतीय सीमा बजार इनरुवा, भङ्गहा, मैनाटाड, सिकटा बजारबाट धानको बीउ खरीद गरी ल्याउने गरेका छन्। प्रायःजसो किसानहरूले भारतीय बजारबाट धानको बीउ गङ्गा कावेरी, पानछाप, सुफ्ला, सभानाहलगायत दर्जनौं ब्रान्डका बीउ खरीद गरेर भण्डारण गरिसकेका छन्।
किसानहरू पानी पर्नासाथ धानको बीउ रोपाइँ गर्ने तयारीमा छन्। नेपाली बजारमा पाउने धानको बीउको गुणस्तर कम हुने र उत्पादन पनि बढी नहुने भएपछि बझियान क्षेत्रका किसानहरूको पनि पहिलो रोजाइ भारतीय धानको बीउ नै रहेको छ। अहिलेसम्म सीमासँग जोडिएका भारतीय बजारबाटै किसानहरूले धानको बीउ ल्याएर रोप्ने गरेका छन्।